कथा

ग्यासको हाहाकार

उज्यालो भविष्यको सपना बोकेर कमला कठायत सुर्खेत वीरेन्द्रनगर आएकी थिइन् । साथी चन्द्रा ओलीसँग मिलेर इत्रामतिर भाडाको कोठामा बस्थिन् । बिहान पानी भर्नु खाना पकाउनु दिउँसो कलेज पढ्नु र साँझतिर तिहुन तरकारी किन्नु तिनीहरूको दैनिकी थियो । खाना पकाउने एलपी ग्यासको सिलिन्डरले बिदा दिएपछि अर्को ग्यासको खोजीमा उनीहरू ठाउँ ठाउँमा निकै भौंतारिए । बजारमा जताततै ग्यासको हाहाकार भएको चालपाएपछि कायल परे । चामल पिठो किन्ने र कलेजमा शुल्क बुझाउने पैसा होटलमा दुई चार छाक खाना खाएर तिरे । अब होटलमा खाएर साध्य नलाग्ने भएपछि काँचो चाउचाउ र बिस्कुट पानीमा भिजाएर खाए । बिस्कुट र चाउचाउको भरमा छाक टार्न मुश्किल भएपछि कलेज छोडेर चन्द्रा ओली घर गइन् । प्राक्टिकल चलिरहेको हुँदा क्लास छोडेर घर जान कमलालाई ठूलो संकट प¥यो । चन्द्रा गएपछि उनको मन साह्रै आत्तियो । भोकसँग लडिरहन नसक्ने भएपछि उनको आत्मबल कमजोर हुँदै गयो । चाउचाउ र बिस्कुट कति खानु ! नाक लागेर हेर्नै मन नलाग्ने भैसक्यो । कमला एक्लै कोठामा थिइन् आँखा किताबमा थिए, ध्यान कतै उडिरहेको थियो । उनको नजिकै मोबाइल फोनमा मधुरो रिङटोन बज्यो । स्क्रिनमा आफ्नो बुवा देखिएपछि कमलालाई डाँको छोडी रुन मन लाग्यो । मनको बाँध भत्काइ साउने झरि भएर आँखामा बगे छचल्किदै बलिन्द्र धारा ।

‘नानी !’
‘हजुर !’
‘खाना खायौ छोरी ?’

‘……… ।’ शब्द घाँटीमा अड्किएपछि प्रतिक्रिया बिहिन भएर गालामा आँसु लिपिरहिन् ।
‘के भयो छोरी ? किन रोयौ भन त ?’

‘बुवा ! ग्यास कतै पनि पाइएन….।’ एकछिन बाबु छोरी दुवैजना स्तब्ध भए । बाबुको मनमा के बित्यो थाहा छैन ।
‘चिन्ता नगर कान्छु पैसा हाल्दिन्छु होटलमा खाउ है । म भोलि आइहाल्छु है ? पीर नलेउ छोरी ।’

‘हुन्छ…. ।’ ग्यासको लागि धेरै सास्ती पाएको र भोकसँग निकै जुधेको बारे बुवासँग मन पोख्ने विचार थियो कमलाको । तर त्यसो गर्नु बुवाको मनमा पनि पीर हुलेर बेचैन बनाउनु हो भन्ने बुझेपछि मौन भइन् र बदलामा आँसु निथारिरहिन् । स्वाभिमान भन्ने एउटा यस्तो चिज छ, जो हात पसार्न जान्दैन जो निहुरिन झुक्न पनि मान्दैन । ज्यान गलाउने यस्तो स्वाभिमानले आँत दरिलो बनाउँछ कि के गर्छ कुन्नि तर भोकले कसैको आदर्श र नैतिकता केही बुझ्दैन । पराही ठाउँमा छोरी भोकै रहेको थाहा पाउँदा घरमा बाबु–आमालाई गाँस टिप्न कति मुस्किल हुँदोहो !

कर्णबहादुर कठायत निर्धारित समयभन्दा अलि अगाडि नै पुगे । त्यसो त धर्मराज किराना पसलमा अघिल्लो दिन पनि नगएका होइनन् । त्यतिखेर पसलेसँग निकै खुसामद भएको थियो उनको ।

‘कोले भनेको नाम टिपिन्छ भनेर तपाईंलाई ?’
‘गोपाल भन्ने मेरै भतिजा हो सर । उ गाउँ गएकोले म आएको हुँ । केही शंका मान्नु पर्दैन हजुरले ।’

‘मेरो पसलबाट सामान लैजाने ग्राहकलाई मैले चाँजो मिलाइदिनु मेरो कर्तव्य हुन्छ के कठायतजी…. ।’
‘मैले बुझें हजुर । चाहिने सामान यहीँबाट लैजाउँला । कृपा गरेर एउटा सिलिन्डर… ।’

‘त्यो चिज मसँग छैननी । मोटरसाइकलमा दूध बेच्ने एउटा भाइ छ उसले व्यवस्था गर्छ त्यसको । एक क्यान दूध मेरो पसलमा पनि दिन्छ के ।’
‘ए ! ठिकै छ सर हजुरको माध्यमबाट मैले ग्यास पाएँभने तपाईंको ऋणी हुनेछु ।’

‘आज हुँदैननी कठायतजी भोलि साँझ मात्रै हुन्छ ।’
‘म ढुक्क भएँ सर ! हुन्छ भोलि साँझ आउँला ।’

‘अर्को कुरा सुरुमै बताइदिउँ तपाईंलाई । उसले पैंतीस सय भन्छनी ।’
‘हुन्छ सर ठीक छ । काँचै अन्न खान सकिन्न नपकाई भएन, के गर्ने त ।’

कर्ण कठायतको स्मृतिमा अघिल्लो दिनका तिनै संवाद खेलिरहेका थिए । धर्म किराना पसलमा पुग्दा घाम डुब्दै थियो । ग्राहकको पनि थोरै भिडभाड थियो । कठायतको नमस्कारलाई पसलेले टाउको हल्लाउँदै स्वीकारे । ग्राहक निप्टाएर उनी कठायतमा आकर्षित भए ।

‘पसल निकै फापेको रहेछ हजुरलाई, हैन सर ?’

‘बिहान बेलुका दाल चामल किन्ने ग्राहकको घुइँचो हुन्छ क्यारे । सबेरै भयो कि हँ, तपाईं अलि साँझ आउनुपर्ने । कसैले देखिहाले आरिस गर्छन् । फेरि थामी नसक्नु भिड लाग्छ । के गर्ने कठायतजी गाह्रो छनी ।’ उनले भाउ खोजेको कुरा कठायतले बुझ्न नसकेका होइनन् ।

‘म अटोमा लुकाएर लैजान्छुनी सर । हजुरको क्युआर कोर्ड ?’

‘पैसा त क्यास् गर्दिए हुन्थ्यो कठायतजी । उसको पैसा मेरो एकाउन्ट किन लठारो पार्नु बेकार ।’ उनले बहाना बनाएको कुरा पनि कठायतले बुझिरहेका थिए ।

‘क्यास् त चार÷पाँच सय मात्रै होला सर । केही परक पर्दैन आखिर हिसाब आइहाल्छ ।’
‘ठिकै छ । अटो बोलाउनुस अनि त्यो कुनाको उठाएर लैजानु होला ।’

‘कुनाको ? के ? मैले देखिन त सर ।’
‘सिमेन्टको कट्टा देख्नु भएन ? त्यहाँभित्र छके चिज । ग्यासको सिलिन्डर पनि कसैले नाङ्गै देखाएर राख्छ त आजभोलि ?’

‘हा हा हा….. ।’ कठायतले हाँसेर समर्थन गरे ।
बिहानदेखि बेलुका तीन दिनसम्म डटेर खोजिरहेका

बुवाले ग्यासको सिलिन्डर काँधमा बोकि ल्याएको देख्दा कमला कसरी खुसी भइन् भने बच्चा बेलामा उनकी आमाले भाइ पाउँदा जसरी खुसी भएकी थिइन् । सुरुमा बुवाले मोबाइल किनिदिँदा जसरी खुसी भएकी थिइन् ।
कष्टले संघर्ष सिकाउँछ भने खुसीले आशा फूल फुलाउँछ । सुख दुःख डोरी झैं बाटिँदै जाने यही त रहेछ जिन्दगानी । कमलाले ग्यास चुलामा बुवाको लागि चियासँग खुसी उमालिरहेकी थिइन् । कठायत फोन वार्तामा व्यस्त थिए ।

‘…. ग्यास प्राप्त भयो कर्ण सर ?’
‘भयो सर दुई हजारको ग्यासलाई पैंतीस सय तिरियो ।’
‘अडियो भिडियो सबै छ हैन सर ?’

‘भिडियो बनाउन मिलेन । अडियो रेकर्ड र क्युआर कोर्ड मा पेमेन्ट गरेको स्टेटमेन्ट छ ।’
‘मेरो ईमेलमा तुरुन्त पठाइदिनुस न कर्ण सर… ।’
‘बुवा चिया लिनुस् । कसको फोन हो ? कस्तो भिडियो कहाँ पठाउने ?’

‘हस् पठाउँला हजुर ।’ कमलाले चासो राखेपछि कुरा टुङ्गाउँदै कठायतले फोन संवाद विच्छेद गरे ।
‘हँ बुवा कसको भिडियो कसलाई पठाउने ?’

‘स्कुलतिर पनि प्रोजेक्टर राखेर भिडियो बनाउँदै पढाउने कि भन्ने छलफल भएको थियो त्यही कुरा हो ।’ छोरीले जिज्ञासा राखेपछि विषय वस्तुलाई उनले पूरै विषयान्तर गरिदिए । भित्री र रणनीतिका केही कुरा छोराछोरीले कतै चाल पाउन हुँदैन भन्ने उनको मान्यता रहेको थियो ।

गाडीबाट वीरेन्द्रनगरमा झरेपछि छोरीलाई भेट्नुभन्दा पहिला प्रशासन कार्यालयमा पुगी शाखा प्रमुख जनक भट्टराईलाई भेटेर दुखेसो पोखेका थिए उनले ।

‘म पढाउने शिक्षक हुँ सर । छोरी यहाँ भोकभोकै पर्न थालेपछि स्कुलमा बिदा लिइ टाउकाले टेकेर आएको छु । सन्तानको मायाले बाबु आमाको मन कति विदिर्ण बनाइ दिन्छ, त्यो हजुरलाई पनि थाहा होला ! मेरी छोरीजस्तै पढ्न बसेकाले कैयन छोराछोरी चुलामा आगो नबलेर भोकले तड्पिरहेका छन । प्रशासनले नबुझे अरु कसले बुझिदिन्छ सर यो पीडा ?’

त्यतिबेला भट्टराईले आश्वासन मात्रै दिएनन् सरकारको निर्देशन बमोजिम कालोबजारीलाई नछाड्ने कुरा पनि बताए । छोरीको पीडाले व्याकुल बनेका कठायत पनि भट्टराईको सल्लाहमा चल्न मञ्जुर भए । पैसाका लागि मान्छेलाई भोकभोकै मार्ने मानवताका अपराधीहरुलाई घिसार्न राजी भए । कालाबजारीलाई बल्छी हान्न ग्राहक को रूपमा केही पसलमा धाए र धर्मराज किराना पसल मा सफलता पाए । यस बारेमा पनि कठायतले आफ्नी छोरीलाई सुइँको सम्म दिएनन् ।

‘… आमा के गर्दै हुनुहुन्छ ?’
‘खानपिनको तरखर । ग्यास पाइयो छोरी ?’
‘बुवा आएपछि पनि नपाइने हुन्छ त ? पाइयो नी ।’

‘कसै कसैका बुवा त कति चलाख हुन्छन् के ! दुई दिनमै ग्यास भेटाइदिने । अब खाना पकाउन परेन त ग्यासमा ?’
‘आज त अघाए जस्तो पो भैरहेको छ । हामी त तरकारी किन्न जान लागेको आमा ।’
‘यतिखेर ? अनि कहिले पठाउँछ्यौ त बुवालाई घर ?’

‘अब बुवा र म यतै बस्ने होनी । ग्यास सकिने बुवा पनि नहुने भयो भने फेरि बिजोग हुन्नर ? हि हि हि… ।’ आमा छोरी फोनमा हाँसेको सुनेर कठायत मुग्ध भैरहेका थिए ।
‘हरे राम राम ग्यासको लाइन ! यो संकट कहिले हट्ने होला देशमा ?’

‘ग्यास त दिनदिनै आइरहेको छ त आखिर कहाँ जान्छ ? कसले खान्छ त्यो सबै ?’ मोबाइलमा आँखा गाढिरहेका नवराजले ग्यासको प्रसंग निकालेपछि सुरेशले पनि शंका जताउँदै प्रश्न उठाए ।

‘डिपोवाला र होटेलवालाले लुकाइराखेका छन । सरकार निकम्मा भयो । अब नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट बालेनले तुरुन्त राजीनामा दिनुपर्छ ।’ धर्मराजले आक्रोश पोखे ।

‘धर्म दाइले कस्तो कुरा गर्नुभएको ! सबै पार्टी मिलाए पनि सय सिट पुग्दैन अनि कसले कसरी बनाउन सक्छ अर्को सरकार ?’

‘बालेन मात्रै हो त देशको नागरिक ? अरु कोही छैनन् ? उही पार्टीबाट विकल्पमा अर्को सक्षम व्यक्ति आउँछनी यार ।’

‘सुरुमा त कामको छनक राम्रै ल्याएकै थियोे है… ।’
‘यत्रो ल्याएको थियो राम्रो ! सबै स्टन्टबाजी थियो…. ।’

गिटी बालुवाको खेलो गर्ने नवराज र घर जग्गा किनबेच गर्ने सुरेश धर्मराजका दौंतरी थिए । कहिलेकाहीँ साँझमा पसलको आगन छेउमा बियर तान्दै गफगाफ लडाइ रहन्थे । त्यतिखेर धर्मराजको छोराले पसलमा दिनभरको कमाइ हिसाबमा दुरुस्त पार्नेगर्थे । उता बियरसँग निमग्न उनीहरू देश विदेशका राजनीतिको पक्ष विपक्षमा चर्काचर्की बहस गर्ने गर्थे ।

सेतो रङ्गको जीप र निलो रङ्गको भ्यान पसल अगाडि सडक छेउमा रोकिए । सुकिलामुकिला मान्छे र बर्दीधारी प्रहरीहरु गाडीबाट झरेर पसलमा पुगे । ‘खोइ पसलको साउजी कहाँ हुनुहुन्छ ?’
‘भन्नुस् के सेवा गर्नुप¥यो ?’ उठेर नजिक पुगे ।

‘धर्मराज तपाईंको नाम हो ?’ एक्कासि नाम बोलेर सोधे पछि धर्मको मनमा चिसो पस्यो । प्रहरीको बर्दीमा कस्तो शक्ति हुन्छ कुन्नि दोषीको मनमा हाउँगुजी चढ्छ ।
‘हजुर हो । अनि तपाईंहरु कति कामले होला ?’

‘म जनक भट्टराई हुँ । हामीहरु प्रशासन कार्यालयबाट अनुगमनमा हिँडेका छौँ । के तपाईंको पसलबाट ग्यास बिक्रीवितरण भैरहेको छ र ?’
‘कहाँ पाएर बिक्रीवितरण गर्नु सर । मेरो गोदाम चेक गर्नुभए हुन्छ । २/४ वटा रित्ता सिलिन्डर मात्रै छन सर ।’

‘कोही दूधवाला भाइले सप्लाई गरिदिन्छरे भन्ने कुरा पनि सुन्नमा आएको छ ?’ यस्तो प्रश्नले हात खुट्टामा कम्पन आएर मुख सुक्न थाल्यो तथापि उनी पूर्ववत् सामान्य बन्ने कोशिस गरिरहे ।
‘दूधवला ? को दूधवाला सर ? मेरोमा त कसैले पनि दूध ल्याउँदैन त ।’

‘आजै बेलुकी ६ बजे पैंतीस सय रूपैयाँमा एक सिलिन्डर ग्यास बेच्नु भएको होकि होइन त ?’ अब पानी घाँटीसम्म आउन थालेपछि उनी पनि आत्तिन थाले ।

‘होइन सर हुँदै होइन । मेरोमा ग्यास छँदैछैन कसलाई कहाँ बेच्नु ?’ गतिविधि शंकास्पद देखिएपछि नवराज र सुरेश मात्र होइन बटुवाहरु पनि वरिपरि झुम्मिन थाले ।

‘तपाईंहरु हामीलाई काम गर्न दिनुस् यहाँ धेरै भिड्भाड नगर्नुहोस् । आआफ्नो घर जानुस् गैहाल्नुस् ।’ प्रहरीले भिड पन्छाउन थालेपछि मान्छेहरू पर–परबाट समेत आकर्षित भए ।

‘दुई हजार पचास पर्ने ग्यासलाई पैंतीस सयमा बेच्ने ? तपाईंलाई पैंतीस सय तिरेको स्टेटमेन्ट ल हेर्नुस् ।’ भन्दै भट्टराईले मोबाइलको स्क्रिन देखाए ।’

‘त्यो त दाल चामल चिनी तेल घिउ किनेको पैसाको पेमेन्ट होला सर । आजभोलि सबैले त क्युआर कोर्डमा पेमेन्ट गर्छन् ।’
‘हामीलाई मूर्ख नबनाउनुस् । दुई दिनसम्म बार्गेनिङ गरेको कुराकानीको रेकर्ड छ हामीसँग । त्यो सुनाउँ ?’

‘मेरो त कसैसँग केही कुराकानी भएको छैन क्यारे । तपाईंले सुनाउने भए सुनाउनुस् के भयो र !’
‘अघिल्लो दिनको सुन्नुस पहिला ।’ मोबाइलमा अडियो रेकर्ड प्ले गरियो । कौतुहलता बढेपछि मान्छेका आँखा कान तेजिला र चनाखा भए ।

‘… दूध बेच्ने एउटा भाइ छ उसले व्यवस्था गर्छ त्यसको । एक क्यान दूध मेरो पसलमा पनि दिन्छ के ।’
‘ठिकै छ सर हजुरको माध्यमबाट मैले ग्यास पाएँ भने म तपाईंको ऋणी हुनेछु ।’

‘आज हुँदैननी कठायतजी भोलि साँझ मात्रै हुन्छ ।’
‘म ढुक्क भएँ सर ! हुन्छ भोलि साँझ आउँला ।’

‘अर्को कुरा शुरुमै बताइदिउँ तपाईंलाई । उसले पैंतीस सय भन्छनी ।’
‘हुन्छ सर ठिक छ । काँचै अन्न खान सकिन्न नपकाइ भएन, के गर्ने त ।’

‘धर्मराजजी यो तपाईं बोलेको आवाज होकि होइन ?’ अर्का कर्मचारीले प्रश्न गरेपछि चुपचाप धर्मराज पेटिमा थचक्क बसे । पानी शिरमाथि चढिसकेको आभास भएपछि छातीमा धड्कन बढ्न थाल्यो ।

‘सर ! यता घरमा बाह्रवटा भरिएको ग्यास सिलिन्डर फेला पर्‍यो ।’ प्रहरी जवानले बोले । पसलमा गलफती पर्न थालेपछि पसलेका छोरा ग्यास सिलिन्डर अन्यत्र कतै लुकाउन घरतिर दौडिएका थिए । छापा मार्न आएको प्रहरी पनि पछि लाग्दै गयो र सिंढीमुनि कार्पेटले ढाकेको सिलिन्डर फेला पार्‍यो ।

‘हामीले कसैको लुटेको चोरेको होर ? हाम्रो जेठाजुको होटल छ, चोकमा देवरको चिया पसल छ । ग्यास सबैले यहीँ राख्छन् । यहीँबाट लैजान्छन । त्यत्ति बुझ्न पर्दैन त प्रशासनले ? कति अखानो गरेको….. ।’ धर्मराजकी धर्मपत्नी जतिसुकै फत्फताए पनि प्रशासन आफ्नो काम गर्न हिच्किचाएन । पसल र गोदाममा नयाँ ताला लगाएर मुचुल्का उठायो ।

‘नेता भनाउँदाहरुले सरकारी जग्गा बाँडेर घिचेका छन्, प्रधानमन्त्री र मन्त्री भनाउँदाका छोराछोरी र पिएले कत्रा कत्रा भ्रष्टाचार गरेका छन् । यिनका आँखा गिद्धले तानेर त्यो देख्दैनन् । एउटा सिलिन्डर कोले बेच्यो भन्दै पछि लागेका छन दुश्मनहरु ।’ धर्मराजकि छोरी पनि कराउन चिच्याउन माहिर रहेछिन् । धर्मराजको गिरफ्तारीमा भने आमाछोरीले निकै अवरोध गर्न खोजेका थिए प्रहरीको अगाडि केही जोर चल्न सकेन । कालाबजारीको आरोप मा श्रीमान्लाई गाडीमा हालेर लगेपछि आक्रोशित भएर भीडतिर कराउन थालिन श्रीमती, ‘के यहाँ भोज भतेर छर रमाइलो मान्छौ राणाराणी हो ? आ–आफ्नो घर मर्न सक्दैनौ ?’

‘आ, धर्मुराज भन्नाछिया पापराज रहेछ, पुलिसले समाइ लैगो हामीकन डाँको लगाई क्या हुन्या हो त ।’ कोहि प्रौढ पुरुषले यसो भनेपछि माहोलै उचालिने गरि भीड हाँस्यो ।

‘हा हा हा…. ।’

मानौँ कालाबजारी पक्राउ परेपछि त्यो भीड हर्षबढाइँमा जुटेको हो ।

-उमालाल आचार्य

प्रकाशित मितिः   ३० श्रावण २०८३, शनिबार ११:४६