हरियाली प्रवर्द्धन कार्यक्रम

सुर्खेत: कर्णाली प्रदेश सरकारले हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । पर्यटन प्रवद्र्धन गर्न उक्त योजना कार्यान्वयन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । अघिल्ला वर्षहरूमा पनि उक्त कार्यक्रम कार्यान्वयन हुने गरेका थिए । यो वर्ष आवश्यक बजेट विनियोजन गरेर योजना कार्यान्वयन गर्न लागिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

यो वर्ष हरियाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्नका लागि ३९ करोड ९६ लाख बजेट विनियोजन गरिएको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले बताए । सहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरित वातावरणको संरक्षण तथा पर्यापर्यटनको दिगो विकासमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने योजना राखिएको प्रदेश सरकारले जनाएको छ । उक्त योजनाअन्तर्गत सहरी क्षेत्रका सडक छेउछाउमा बिरुवा रोपिने, पार्क उद्यान, खुला स्थान, पदमार्ग, दुश्यावलोकन स्थल तथा अन्य प्राकृतिक, धार्मीक तथा सांस्कृतिक, पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षमा कुन–कुन स्थानमा निर्माण गर्न सकिन्छ भनेर अध्ययनको काम गरिएको छ । सोही आधारमा पर्यटन प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरिनेछ । अघिल्ला वर्षहरूमा पनि प्रदेश सरकारले केही स्थानमा यो कार्यक्रम लागू गरेको थियो ।

स्थानीय तहहरूले पनि पर्यटन प्रवद्र्धन गर्न भन्दै हरियाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले विभिन्न समयमा वृक्षारोपण गर्ने गरेको छ । बाटोको मापदण्ड पुगेका सडकखण्डको किनारामा करिब एक हजार पाँच सय बढी बोटबिरुवा रोपिएको नगरपालिकाले जनाएको छ । सहरी हरियाली प्रवद्र्धनका लागि नगरपालिकाले वीरेन्द्रनगर उपत्यकाभर बोटबिरुवा रोपेको हो । यो वर्षपनि हरियाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गरिने नगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख प्रकाश पौडेलले बताए । नगरपालिकाले मुख्य सडक छेउछाउमा सजावटका लागि बिरुवा रोप्ने गरेको छ । सुर्खेत उपत्यकाभर हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको नगरपालिकाले जनाएको छ । पौडेलले भने, ‘अघिल्ला वर्षहरूमा रोपेका बिरुवाहरू मरेका छन् । ती बिरुवाहरूको ठाउँमा पुनः वृक्षारोपण गरिने छ । विभिन्न पार्कहरूमा समेत बिरुवा रोप्ने योजना नगरपालिकाको छ ।’

कर्णाली प्रदेश पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको क्षेत्र हो । तर छिटफुटबाहेक ठूलो संख्यामा पर्यटक भिœयाएर कर्णालीले लाभ उठाउन सकिरहेको छैन । आवश्यक पूर्वाधारको अभावदेखि प्रचार–प्रसारको कमीका कारण पर्यटन प्रवद्र्धन योजनाले सफलता पाएको छैन । पछिल्लो समय भने त्यसका लागि केही प्रयास भइरहेका छन् । जसअन्तर्गत ‘गन्तव्य कर्णाली’ एप पनि एक हो । कर्णालीका पर्यटकीय स्थलहरूको प्रचारका लागि सरकारले नै एप सञ्चालनमा ल्याएको हो । तर त्यसको व्यवस्थित उपयोग हुन सकिरहेको छैन । अब भने थप व्यवस्थित र परिमार्जनसहित सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । जसले कर्णालीका नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानका साथसाथै भएका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रवद्र्धनमा ठूलो मद्दत हुने अपेक्षा गरिएको छ । कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यको प्रचार तथा गन्तव्य पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले एप परिवर्तित गर्नेदेखि पर्यटक गाइड पुस्तक निर्माण गरिएको हो ।

कर्णालीको पहिचान दिलाउने थुप्रै सम्पदा छन् । पर्यटकीय सम्भावना बोकेको प्रकृतिको ‘भर्जिन गन्तव्य’ का रूपमा कर्णालीलाई लिने गरिएको छ । कर्णालीको भौगोलिक विकटता, सडक यातायातको पहुँच अभाव र पर्यटकीय स्थलहरूको प्रचार तथा प्रसार नहुँदा ती थुप्रै सम्पदा ओझेलमा परेका छन् । कर्णालीमा देशको सबैभन्दा ठूलो रारा ताल, ऐतिहासिक काँक्रेविहार मन्दिर, पञ्चकोशी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिंजा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरू छन् । पछिल्लो समय कर्णालीका पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि पर्यटकहरू आउन थालेका छन् । कर्णालीबाटै तिब्बतमा रहेको धार्मिक महŒवको मानसरोवर दर्शन गर्न सकिने भएकाले पर्यटकहरू आउने गरेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका दशवटै जिल्लाका पर्यटकीय क्षेत्र पहिचान गरेर पर्यटकीय गन्तव्यका रूपमा ‘गन्तव्य कर्णाली एप’ निर्माण गरेर कार्यानवयन गर्न लागेको हो । प्रदेशभित्र भएका प्राकृतिक सम्पादनहरूका साथसाथै साहसिक पर्यटनलाई पनि प्रवद्र्धन गर्न सक्ने हो भने कर्णालीले पर्यटन क्षेत्रबाटै ठूलो आर्थिक लाभ लिन सक्नेछ ।

प्रकाशित मितिः   २८ श्रावण २०८३, बिहीबार ११:२०