सहरी सुरक्षा

पूर्वाधार विकासका हिसाबले वीरेन्द्रनगर कर्णाली प्रदेशकै सबैभन्दा विकसित सहर हो । उपमहानगर बन्ने योजनामा रहेको वीरेन्द्रनगरले सहरी सुरक्षा र सुन्दरतालाई ध्यानमा राखेर पूर्वाधार विकास गरिरहेको छ । सडक बत्ति, ट्राफिक लाइट, आकाशे पुललगायतका पूर्वाधार निर्माण त्यसैका उदाहरण हुन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सडकमा रातको समयमा झिलिमिली देखिन्छ । नगरपालिकाको लगानीमा सौर्य प्रणालीमार्फत बत्ती जडान गरिएसँगै उज्यालो देखिएको हो । वीरेन्द्रनगरमा सुरक्षित सडक अभियान अन्तर्गत मुख्य बजार क्षेत्र तथा राजमार्गमा सौर्य (सोलार) बत्ती जडान गर्ने काम धमाधम भइरहेको छ । जसमा करिब पाँच सयभन्दा बढी साना सोलार बत्ती र हाइमार्स लाइटहरू प्रयोगमा ल्याइएका छन् । विशेष गरेर धुलियाबिटदेखि बाङ्गेसिमलसम्म र भित्री गल्लीहरूमा बत्ती जडान गरिएको हो ।

रातिको समयमा आवातजावत सहज बनाउन र सहरलाई सुरक्षित तथा वातावरणमैत्री बनाउने उद्देश्यले सौर्य प्रणालीमार्फत उज्यालो वीरेन्द्रनगरको अवधारणा ल्याएको हो । नगरपालिकाले वातावरणमैत्री ऊर्जा र सुरक्षित सहर निर्माण गर्ने अभियानअन्तर्गत नै रत्न राजमार्ग तथा बजार क्षेत्रमा अत्याधुनिक प्रविधिमा आधारित सोलार बत्ती जडानको कार्य थालेको छ । पहिलो चरणमा धुलियाबिटदेखि बसपार्कसम्म ९५ लाख ७६ हजार लागतमा एक सय ४३ सोलार बत्ती जडानको कार्य सकिएको छ भने दोस्रो चरण अन्तर्गत बसपार्कदेखि मंगलगढी, यरीचोक, मुलपानी चोक, हिलेखाली चोक हुँदै रेडियो नेपालसम्म ९८ पोलमा सोलार बत्ती जडान गरिएको छ । कुल ८४ लाख लागतमा सौर्य बत्ती जडान गरिएको हो । त्यस्तै, तेस्रो चरण अन्तर्गत धुलियाबिटदेखि सुब्बाकुना र रेडियो नेपालदेखि बाङ्गेसिमलसम्म एक सय २० वटा सोलार प्रणाली जडान गरिएको छ । जडान गरिएका सोलार प्रणाली अध्याँरोमा आफै बल्ने र उज्यालोमा आफै निभ्ने अटो स्वीच प्रविधिमा आधारित छ । सोलार प्रणालीमा आधारित सडक बत्ती जडान पश्चात् विद्युत खपत कम हुँदा यसले दीर्घकालीन रूपमा लागत घटाउने समेत जनाइएको छ ।

नगरपालिकाले यसअघि वीरेन्द्रनगरका मुख्य चोकहरूमा हाइमार्स लाइट जडान गरिसकेको छ । सडक बत्ती जडान भएसँगै सडक दुर्घटना न्यूनिकरण, पैदल यात्रुहरूको सुरक्षा र बजार क्षेत्रको निगरानीमा सहयोग पुगेको छ । त्यस्तै मंगलगढी चोकदेखि लाटिकोइली शिवमन्दिरसम्म ८५ वटा सडक बत्ती जडान गरिएको छ । वीरेन्द्रचोकमा जोडिएको ट्राफिक बत्तीलाई सञ्चालनमा ल्याइएको छ । सवारी चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जडान गरिएको हो । वीरेन्द्रचोकबाट सुरुवात गरिएको ट्राफिक बत्ती अन्य क्षेत्रमा पनि विस्तार गर्न आवश्यक छ । ट्राफिक लाइट सञ्चालनमा आएसँगैमुख्य सडकहरू व्यवस्थित भएको छ भने पैदलयात्रीहरूलाई पनि सहज भएको छ ।

प्रकाशित मितिः   २१ श्रावण २०८३, बिहीबार १२:५३