प्राथमिकतामा जलाधार संरक्षण

पछिल्ला वर्षहरूमा जलाधार क्षेत्र संकटमा पर्दै आएका छन् । अव्यवस्थित रूपमा गरिएका विकास निर्माण गतिविधिले पनि जलाधार क्षेत्रलाई जोखिममा पारेका छन् । जसले गर्दा पानीका स्रोत सुक्नेदेखि भू–क्षयलगायतको जोखिम बढ्दो छ । यही जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले जलाधार संरक्षण योजनालाई प्राथमिकतामा राखेको छ । जल संरक्षण गर्ने प्रदेश सरकारको नीति अनुरूप उक्त योजना अघि बढाइएको हो । प्रदेशका विभिन्न जिल्लामा सम्भावित स्थान छनोट गरेर जलाधार संरक्षणको योजना बनाइएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर जलाधार संरक्षणको योजना ल्याएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यो वर्ष सम्भावित क्षेत्रहरूको पहिचान गरी गुरुयोजना निर्माणको योजना बनाइएको छ ।

अहिले गुरुयोजना निर्माणको काम अघि बढेको छ । यो वर्ष योजना कार्यान्वयन गर्नका लागि २७ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । मन्त्रालय मातहतका कार्यालयहरूबाट कार्यान्वयन गर्नेगरी उक्त योजना बनाइएको छ । जलाधार दिगो विकासका लागि एकीकृत जलाधार व्यवस्थापन पद्धतिलाई अंगिकार गर्दै तल्लो तथा माथिल्लो तटीय क्षेत्रको सम्बन्ध स्थापित गर्नेगरी भू–क्षय नियन्त्रण, जमिनको उत्पादकत्व वृद्धि र पानीका स्रोतहरूको दिगो व्यवस्थापनका लागि प्राकृतिक जल पुनर्भरण पोखरीमार्फत बहुआयमिक उपयोग, वातावरण संरक्षण पारिस्थिकीय प्रणाली तथा जैविक विविधतालाई बढावा दिनेगरी कायक्रम कार्यान्वयन गर्न लागिएको हो । पछिल्लो समय धमाधम निर्माण भइरहेका सडक पूर्वाधारले पानीका मुहान सुक्ने तथा वातावरण प्रदुषण भइरहेको छ । सरकारले बढ्दो चुनौतीको सामना गर्न जलाधार व्यवस्थापनको नीति अबलम्वन गरेको हो । सोही अनुरूप बजेट विनियोजन गरेर काम अघि बढाइएको छ । कतिपय जिल्लाहरूमा गुरुयोजना निर्माणको कामसमेत अघि बढाइएको हो ।

वीरेन्द्रनगरमा दिगोरूपमा पानीको सुरक्षा र भू–जोखिम न्यूनीकरणका लागि उत्तरी जलाधार क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न गुरुयोजना निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा समेटेर गुरुयोजना निर्माणको योजना ल्याएको थियो । सोहीअनुसार गुरुयोजना निर्माणको काम अघि बढेको हो । वीरेन्द्रनगरको माथिल्लो तटिय क्षेत्रमा रहेका पानीको स्रोत संरक्षण गर्दै तल्लो क्षेत्रमा पानीको उपलब्धता सुनिश्चित गर्ने जनाइएको छ । वीरेन्द्रनगर उपत्यकाका आउने पानीको मुख्य स्रोत उत्तरी क्षेत्रमा रहेका नेवारे खोला, खोर्के खोला, झुप्रा खोला, खरी खोला, बोरी खोला र इत्राम खोला, आँपडाँडी खोला, सोलीघोप्टेलगायत छन् । यिनै खोलाहरूको मुहान क्षेत्रको एकीकृत योजना तयार पारिएको छ । पानीका स्रोतको संरक्षण, परिचान र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर योजना निर्माण गरिएको हो ।

प्रकाशित मितिः   २० श्रावण २०८३, बुधबार ०५:०३