घरदैलोमै सेवा
कर्णाली प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था कार्यालय छैन । सवारी लाइसेन्सका लागि सुर्खेत, जुम्ला वा रुकुमपश्चिम पुग्नुपर्ने बाध्यता छ । तर अब यो बाध्यता अन्त्य भएको छ । कर्णाली प्रदेशका नागरिकले सवारी चालक अनुमतिपत्र अब घरदैलोमै प्राप्त गर्ने भएका छन् । यातायात व्यवस्था कार्यालयको लिखित र प्रयोगात्मक परीक्षालगायतका मापदण्ड पूरा गरेपछि सवारी चालक अनुमति पत्र प्राप्त गर्न यातायात कार्यालय धाउन नपर्ने भएको हो । लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरिसकेपछि लाइसेन्स प्राप्त गर्नका लागि पनि सम्बन्धित कार्यालय धाउनुपर्ने हुन्थ्यो । तर अब हुलाकमार्फत सम्बन्धित व्यक्तिको घरदैलोमै पु¥याइने भएको हो । त्यसका लागि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय सुर्खेतबीच समझदारी भएको छ ।
नेपाल सरकारको गत चैत्र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा सरकारी सेवा नागरिकको घरमा नै उपलब्ध गराउने उल्लेख छ । उक्त कार्यसूचिको बुँदा नं. २७ लाई कार्यान्वयनमा ल्याइएको छ । जसअनुसार शुक्रवार मन्त्रालयका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालयका निर्देशक गोविन्दप्रसाद पाण्डेबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षरसँगै अबदेखि सवारी चालक अनुमति पत्र नागरिकको घरदैलोमा पु¥याउने कार्यको औपचारिक आरम्भ गरिएको हो । कर्णाली प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र यातायात व्यवस्था कार्यालय जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र नागरिकको घरदैलोमा वितरण गरिने छ । कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले लाइसेन्स लिन ठुलो रकम खर्च गरेर सुर्खेत, जुम्ला र रुकुम पश्चिम जानुपर्ने झन्झट थियो । अब भने यातायात व्यवस्था कार्यालयको लिखित र प्रयोगात्मक परीक्षालगायतका मापदण्ड पूरा गरी सवारी चालक अनुमति पत्र प्राप्त योग्यता पुगेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न यातायात कार्यालयमा पुग्नुपर्ने छैन । हुलाकमार्फत यो सेवा लिनका लागि ४० रूपैयाँ मात्रै शुल्क लाग्नेछ । न्यूनतम् हुलाक महसुलमा नागरिकको घरघरमा लाइसेन्स पुग्ने छ ।
यसअघि हुलाक सेवाले नागरिकको राहदानी, दूरसञ्चार संस्थाका सिमकार्ड र अन्य सामग्री नागरिकको घरघरमा पु¥याउने काम गर्दै आएको छ । त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन नसकेका रगत, दिसा, पिसाब, छाला लगायतका नमुना परिक्षणका लागि हवाइ सेवाद्वारा छिटोछरितो काठमाडौं पठाउने, स्वास्थ्य बिमाबोर्ड, खुला विश्विवद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयलगायतका संस्थाका सामग्रीहरूसमेत हुलाकमार्फत आदान–प्रदान हुने कामको सुरुवात पनि भएको छ । यसले नागरिक सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा गर्न सकिन्छ ।
प्रकाशित मितिः १७ श्रावण २०८३, आईतवार १०:१६
सम्पादकीय ।