कथा

जन्मदिवस

म चार वर्षकी छँदा आमासँग अमेरिका पुगेँ । बुबा त्यहीँ काम गर्नुहुन्थ्यो । म बिस्तारै ठुली हुँदै गएँ । म ६ वर्षकी हुँदा बुबाआमाले त्यहीँको विद्यालयमा भर्ना गरिदिनुभयो । म विद्यालयमा पढ्न थालेँ । एक दिनको कुरा हो; विद्यालय सुरु हुनासाथ कक्षामा एउटा कार्यक्रम आयोजना गरियो । त्यस दिन मेरी साथी अन्नाको जन्म दिन परेको रहेछ ।

शिक्षकले कोठाको अघिल्तिर कुर्ची ल्याएर राख्नुभयो । त्यही कुर्चीमा अन्नालाई बसाल्नुभयो । उनको शिरमा सोली आकारको ‘बर्थ डे क्याप’ लगाइदिनुभयो । साथीहरूले कोठाको भित्तामा केही गुबारा झुन्ड्याए । शिक्षकले अन्नाका अगाडि एउटा टेबलमा केक राखिदिनुभयो । केकमाथि ममबत्ती बल्दै थिए । अन्नाले बलेका ममबत्ती फुकेर निभाइन् । उनी केक काट्न तयार भइन् । हामी सबै उत्साहित थियौँ । जब अन्नाले केक काटिन् तब सबैले ‘ह्याप्पी बर्थ डे टु यु’ भन्दै गायौँ । गायन र तालीको लयात्मक ध्वनि ‘ह्याप्पी बर्थ डे टु यु’ केही बेर कोठामा गुञ्जायमान भइरह्यो ।

अन्नाले केक काटेर पालैपालो साथीहरूलाई खान दिइन् । अन्तिममा फेरि सबैले पालैपालो अन्नालाई केक खुवायौँ । यो दृश्यले मलाई अचम्म तुल्यायो किनकि त्यसभन्दा पहिला बुबाआमाले मलाई टीका लगाई दक्षिणा र आशीर्वाद दिएर मेरो जन्मदिन मनाइदिनुहुन्थ्यो ।

कोठाको अघिल्तिर भित्ताको एक छेउमा हाम्रो कक्षाका सबै विद्यार्थीको जन्मतारिख टाँसिएको रहेछ । कसको जन्मदिन कहिले पर्छ भन्ने पहिले नै थाहा हुने रहेछ । अर्को जन्मदिन मनाउने २३ तारिख मेरै पालो परेछ । साथीहरूले ‘अब तिम्रो पालो हुन्छ’ भनेर मलाई सुनाए । मेरो अनुहार रातोपिरो भयो । रबिन्सले मेरो मुखतिर हेरेर ‘तिमी नआत्तिऊ’ भन्यो ।

विद्यालय छुट्टी भएपछि म घर आएँ । साँझको खानापछि बुबाआमालाई विद्यालयको घटना सुनाएँ । मेरो जन्म २३ तारिख अब आउनै लाग्यो । उहाँहरूलाई मेरो जन्मदिन मनाउने विषयले पिरोलेछ । भोलिपल्ट बिहान बुबाले विद्यालयका शिक्षकलाई मेरो जन्मदिन मनाउने विषयमा सोध्नुभयो । अभिभावकले केही गर्नुनपर्ने; सबै विद्यालयबाटै जन्मदिन मनाइने कुरा शिक्षकले जानकारी दिनुभयो ।

बुबालाई भने मेरो जन्मदिन मनाउने तरिकाले चिन्ता थपेछ । उहाँले सोच्नुभयो, ‘हामी वैदिक सनातनीका सन्तानले पश्चिमा संस्कृतिमा जन्मदिन कसरी मनाउनु ? छोरीले यहाँ ज्ञान आर्जन गरेपनि संस्कृति त आफ्नै अपनाउनुपर्छ’ भन्ने उहाँलाई लागेछ । कमाइका लागि सात समुद्रपारि पुगे पनि पराय संस्कृतिमा रमाएर आफ्नो संस्कार भुल्यौँ भने हाम्रो भन्नु नै के रहला र ? हाम्रो मौलिक सनातनी संस्कार कसरी बच्ला ? यी सन्तानले के सिक्लान् ? म पेटको ज्वाला निभाउन विदेश आउँदा आफ्नो संस्कृति भुलेर फर्किएँ भने स्वत्व रहँदैन ।’ यस्तै कुरा सोचेर उहाँ गम्भीर हुनुभएछ ।

त्यसदिन दिउँसोको तीन बजेको हुँदो हो । मेरो बुबा विद्यालय पुग्नुभयो । उहाँले मेरो कक्षाशिक्षकसँग भेट गर्नुभयो । बुबाले उहाँसँग सोध्नुभयो, ‘के म मेरी छोरीको जन्मदिन मनाउन विद्यालय आउन सक्छु ?’ शिक्षकले खुसी हुँदै भन्नुभयो, ‘अवश्य ।’

‘त्यसो भए म आफ्नै तरिकाले जन्मदिन मनाउन सक्छु ?’
शिक्षकले भन्नुभयो, ‘सक्नुहुन्छ ।’
‘म जन्मदिन मनाउने सबै सामग्री आफै ल्याउँछु, कुनै चिज नकिन्नुहोला ।’
शिक्षकले ‘हुन्छ’ भन्नुभयो । बुबा खुसीले गदगद, मेरो शिक्षकलाई धन्यावद दिएर घर फर्कनुभयो ।

भोलिपल्ट बिहान ९ बजे विद्यालय सुरु भयो । बुबा, आमा र म विद्यालय पुग्यौँ । शिक्षकसँग भेट गरेर कक्षाकोठामा पस्यौँ । शिक्षक एउटा मेचमा बस्नुभयो । बुबाले मलाई कक्षा कोठाको अघिल्तिर कुर्चीमा बसाल्नुभयो । मेरो अघि टेबुलमा शिव, पार्वती र गणेशका फोटा, एकातिर दियो र अर्कोतिर कलश राख्नुभयो । फोटा, कलश र बत्तीलाई सुन्दर फूल र मालाले शोभायमान बनाउनुभयो । पूजास्थलमा सुन्दर फूल र धुपको सुगन्ध फैलिरहेको थियो । पूजाथालीमा चन्दन, अबिर केशरी, अक्षता राखिएको थियो । एउटा किस्तीमा फलफूल र अर्को थालीमा ताजा मिठाई सजाइएको थियो । तामाको थालीमा चन्दनले स्वस्तिक लेखेर त्यसमाथि फल राखिएको थियो । बुबाले मन्त्र पढ्दै जानुभयो; मैले क्रमशः त्यसै थालीमा गणेश, कलश, दीपक लगायत पाञ्चायन देवता, अष्टचिरञ्जीवीलाई चन्दन, अबिर, केशरी र अक्षता, फूल चढाई पूजा गरेँ । त्यसपछि बुबाले मलाई सपथ लिन भन्नुभयो; ‘म अब श्रेष्ठ मार्गमा लाग्ने छु । आफ्नो बुद्धि, विवेकलाई अरूको सेवामा पनि लगाउने छु । आफ्नो लक्ष्यमा दृढ भएर अनुशासित हुँदै अघि बढ्नेछु ।’ उहाँले यी तीन सपथ मलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा लिन लगाउनुभयो । यसपछि बुबाले स्वस्ति वाचन गरी पूजा समाप्त गर्नुभयो । बुबाआमाले मलाई टीका र माला लगाइदिनुभयो र आशिर्वाद दिनुभयो । पूजा विसर्जनपछि मैले सबैलाई नमस्कार गरेँ । त्यतिबेलासम्म आमाले प्रसादका भाग तयार गरिसक्नु भएको रहेछ । प्रसाद वितरण गरिसक्दा लगभग २५ मिनेट भएछ । यसरी मेरो सनातनी परम्पराअनुसार जन्म संस्कार सम्पन्न भयो ।

मेरा गुरुका मनमा पूजामा राखिएका फोटा, बत्ती र कलशका बारेमा जिज्ञासा जागेछ । उहाँले बुबासँग सबै कुरा सोध्नुभयो । बुबाले ती पञ्चतत्त्वका प्रतीक जल, पृथ्वी, अग्नि, वायु र आकाश हुन् । तिनै तत्त्व हाम्रो जीवन सञ्चालनका आधारभूत अंश हुन् भन्ने कुरा बुझाउनुभयो । तिनै तत्त्वको सन्तुलन र स्थिरताका लागि विशेषगरी जन्मदिनमा प्रार्थना गर्नुपर्ने कारण खोल्नुभयो । बुबाका कुरा सुनेर मेरो गुरु प्रभावित हुनुभएछ र भन्नुभयो, ‘जन्मदिन मनाउने तरिका त तपाईंहरूको संस्कृतिमा बडो राम्रो रहेछ ।’

म विद्यालयमा हुँदासम्म बुबाले प्रत्येक वर्ष विद्यालय गएर जन्मदिवस संस्कार गराइदिनुहुन्थ्यो । कलेज तहमा पुगेपछि यो क्रम घरमै सीमित भयो । अनि म परिपक्व भएपछि त मैले नै बुबा आमाको जन्मदिवस मनाउँदा वैदिक मन्त्र पढेर संस्कार सम्पन्न गर्न थालेँ ।

पोहोर वसन्त छुट्टीमा नेपाल घर गएकी थिएँ । साँझ बित्नै लागेको थियो; छिमेकी सानोबाको घरमा बाजा डिजे सुनेँ । के रहेछ भनेर त्यहाँ गएँ । सानो भाइको जन्मदिन रहेछ । एउटा ठूलो केक, बर्थ डे क्याप, गुबारा, रङ्गिन झिलझिले कागज टाँगेर कोठा सजाइएका रहेछन् । ममबत्ती बालेर निभाउने समयमा म पुगेँ । मलाई देखेपछि सबैको ध्यान मतिर तानियो । मैले उनीहरूलाई आफ्नै परम्पराअनुसार पनि जन्मदिन मनाउन सकिन्छ भनेर सम्झाएँ । उनीहरूले कसरी गर्ने भन्ने थाहा छैन भने । मैले घरमै भएका सामान र केही नपुग सामान आफ्नो घरबाट लगेर छोटो समयमा यज्ञस्थल बनाएँ । छोटै समयमा विधिपूर्वक सनातनी जन्म दिवस संस्कार सम्पन्न गराइदिएँ । उनीहरूलाई शिव, राम, र कृष्णका भजनमा नाच्न–गाउन लगाएँ । उनीहरू धुमधामले भजनमा झुमी झुमी नाचे र जन्मदिन मनाए । हामीले प्रयोग गर्ने केक स्वास्थ्यका लागि हानिकारक हुन्छ भनी सम्झाएँ । त्यसपछि उनीहरूले नै बाहिर लगेर केक नष्ट गरे । टीका, फूलमाला र आशीर्वाद अनि घरमा नै तयार बनाएको हलुवाको प्रसाद पाएपछि सानो भाइ र उसका पाहुनाहरू पनि खुसीले प्रफुल्ल भए । हाम्रो समाजमा पराई संस्कृति अँगाल्ने चलन कसरी भित्रियो ? एक छिन आफैँलाई प्रश्न गरेँ । हाम्रो विधि सरल बनाउनुपर्ने सुझ आयो ।

म अहिले हवाई इन्जिनियरिङ पढाइ पूरा गरी फ्रान्सको डोमेस्टिक एयरलाइन्समा काम गरिरहेकी छु । मेरी छोरी यहीँ पढ्दै छिन् । अगस्त १ तारिख उनको जन्मदिन हो । अब उनको जन्मदिन मनाउन एक हप्ताअघि नै मैले छुट्टी मिलाइसकेकी छु ।

प्रकाशित मितिः   १६ श्रावण २०८३, शनिबार ०८:१०