चर्चामै सीमित कर्णालीका विमानस्थल

सुर्खेत: निर्माण कार्य सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ सालमा निर्माण गरिएको विमानस्थल २०७२ सालमा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन । त्रिपुरासुन्दरी नगरपालिकामा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो ।

डोल्पामा हवाई यातायातका लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पका रूपमा मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा बेवास्ता गरिएको त्रिपुरा सुन्दरी नगरपालिकाले जनाएको छ । निर्माण सम्पन्न भएको वर्षौंसम्म विमानस्थल सञ्चालनमा नआउँदा स्थानीय नागरिक निराश बनेका छन् । स्थानीय रामबहादुर रोकायले विमानस्थल बने पनि हवाई सेवाबाट वञ्चित हुनु परेको बताए ।

जुफाल विमानस्थल मर्मत गर्दा मात्र एक वर्ष काम चलाउको रूपमा विमानस्थल सञ्चालनमा ल्याइएको थियो । अहिले विमानस्थलका लागि बनेका संरचना जीर्ण बनेका छन् । घरआँगनमै विमानस्थल बने पनि कष्टपूर्ण यात्रा गर्नु परिरहेको स्थानीयको दुःखेसो छ । मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गर्दासमेत सम्बन्धित निकायले चासो नदिएको स्थानीय नागरिकले गुनासो गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–२ का स्थानीय रामबहादुर न्यौपानेले विमानस्थल नियमित सञ्चालन गर्न माग गरिएको बताए । सडक मार्गको सहज पहुँच नभएकाले विमानस्थल अपरिहार्य भएको उनको भनाइ छ । पटक–पटक विमानस्थल सञ्चालन गर्ने भनिए पनि उक्त योजना अलपत्र पर्ने गरेको छ । यद्यपि, सञ्चालनका लागि पहल भइरहेको त्रिपुरा सुन्दरी नगरपालिकाका उपप्रमुख देवि घर्तीले बताइन् ।

मसिनेचौरजस्तै करोडाँैका पूर्वाधार निर्माण भएपनि कर्णालीका धेरैजसो विमानस्थल सञ्चालनमा छैनन् । सल्यानमा विमानस्थल निर्माणका लागि विभिन्न क्षेत्रमा पटक–पटक चर्चा र अध्ययन हुने गरेको छ । २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सल्यानका चार ठाउँमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेको थियो । शारदा नगरपालिका–२ को चन्द्रपाला, वडा नं. ५ को पिपलनेटा र कालीमाटी गाउँपालिका–१ को कोटबयालेमा सम्भाव्यता अध्ययन गरिएको थियो । त्यति बेला गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छैन । सल्यानमा विभिन्न चरणमा धेरै पटक अध्ययन भएपनि कुन स्थानमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर प्रतिवेदन सार्वजनिक नभएपछि नागरिकसमेत निराश बनेका छन् ।

१४ फागुन २०८० मा कालीकोटको नरहरिनाथ गाउँपालिका–१, कोटबाडास्थित सुनथराली विमानस्थलमा ३८ वर्षपछि जहाज पुग्यो । दोस्रो पटक परीक्षण उडान भयो । तर अहिले विमानस्थल ठप्प छ । यो विमानस्थलको २०७३ साल माघमा पहिलो पटक जहाज परीक्षण गरिएको थियो । त्यो बेला कालोपत्रे भएको थिएन । २०७८÷०७९ मा कालोपत्रे भएसँगै ३८ वर्षपछि उद्घाटन भएको हो । यद्यपि, हवाई जहाज नियमित नहुँदा नागरिकहरूले निराश छन् ।

दैलेखमा विमानस्थल निर्माणको चर्चा हुन थालेको निकै अघिदेखि हो । महाबु गाउँपालिका–२, मानन्चौरमा विमानस्थल निर्माणका लागि २०४८ सालमा नै पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो तर त्यति बेला गरिएको अध्ययनको प्रतिवेदन हालसम्म पनि सार्वजनिक हुन सकेको छैन । महाबुसहित जिल्लाका तीन स्थानीय तहका विभिन्न स्थानमा विमानस्थल निर्माणका लागि पहल थालिए पनि काम अघि बढेको छैन । नारायण नगरपालिकाको धिताहा, महाबु गाउँपालिकाको मानन्चौर र दुल्लू नगरपालिकाको ठाडोलेखमा विमानस्थल निर्माण प्रारम्भिक अध्ययन र छलफल भएको थियो । यो विषय अहिले भने ओझेलमा परेको छ । पछिल्ला वर्षमा पनि दैलेखमा विमानस्थल बनाउनुपर्ने माग र चर्चा चलिरहन्छ । २०७३ सालमा दुल्लू नगरपालिका–५ को ठाडोलेखमा विमानस्थल बन्ने कुरा चर्चामा थियो । त्यति बेला त्यहाँका नागरिक उत्साहित बने । अहिले उक्त कुरा चर्चा हुनसमेत छोडेको छ । त्यति बेला नगरपालिकाका दुई÷तीन स्थानमा विमानस्थल निर्माणका लागि भनेर सम्भाव्यता अध्ययन गर्ने कुरा गरिए पनि काम अघि बढ्न सकेन ।

कर्णाली प्रदेशको अर्को जिल्ला जाजरकोटमा पनि विमानस्थल निर्माणको योजना चर्चामै सीमित हुँदै आएको छ । भेरी नगरपालिका–१, वडालेखमा विमानस्थल निर्माण कुरा चलेको हो । अहिले उक्त विषय ओझेलमा परेको छ । विमानस्थल बनाउनुपर्ने चर्चा र छलफल भए पनि थप प्रव्रिmया भने अघि बढ्न सकेन । नगरपालिकामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनको कामसमेत सुरु नभएको उपप्रमुख सीता जैसीले बताइन् । जाजरकोटलाई समेत लक्षित गरेर रूकुमपश्चिममा विमानस्थल सञ्चालन गरिएको छ ।

प्रकाशित मितिः   १४ श्रावण २०८३, बिहीबार ०९:२२