निरन्तर निगरानी

केही दिनयता सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । एक सिलिण्डर ग्यासका लागि उपभोक्ताहरू घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । कतिसम्म भने ग्यास बिक्री केन्द्रहरूमा एक÷दुई दिन अघिदेखि नै सिलिण्डरको लामो लाइन देखिने गरेको छ । नेपाल आयल निगम सुर्खेतले भने ग्यासको आपूर्तिमा कुनै समस्या नभएको जनाएको छ । तर ग्यासका लागि दैनिक उपभोक्ताहरू लाइन लागेको देखिन्छ । घण्टौं लाइन लाग्दा पनि केहीले पाउँछन्, केहीले पाउँदैनन् । आयल निगमले पर्याप्त मात्रामा आपूर्ति भइरहेको दाबी गर्ने तर उपभोक्ताले सहज रूपमा नपाउने अवस्था बनेपछि सुर्खेतमा खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको आशंका गरिएको छ । कतिपय उपभोक्ताहरूले समेत निर्धारित मूल्यभन्दा बढी मूल्य तिरेर ग्यास खरिद गरेको समेत बताएका छन् ।

१४.२ केजीको ग्यासको तोकिएको खुद्रा मूल्य दुई हजार ६० रूपैयाँ छ । तर दुई हजार चार सय वा दुई हजार पाँच सय रूपैयाँ तिर्नु परेको गुनासो उपभोक्ताहरूले गरेका छन् । एकातर्फ ग्यासका लागि रातिदेखि लाइन लाग्नुपर्ने अवस्था छ । अर्कोतर्फ बढी मूल्य तिरेर ग्यास उपलब्ध भइरहेको छ । तर सम्बन्धित निकायले यसको उचित अनुगमन, निरिक्षण र नियन्त्रण गर्न सकेका छैनन् । नागरिक दबाबपछि केही दिनअघि ग्यास बिक्रेता पसलहरूमा अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र नेपाल आयल निगम सुर्खेतको संयुक्त टोलीले सुर्खेतका एलपीजी ग्यासका डिलर, डिपो तथा वितरक पसलहरूमा अनुगमन गरेको हो । बजारमा एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भन्ने गुनासो आएपछि आपूर्ति, मौज्दात र वितरण अवस्थाको स्थलगत निरिक्षण गरिएको छ । सम्बन्धित निकायलाई बजार अनुगमनमा निस्कनका लागि नागरिक दबाब परेको थियो । आयल निगमको सुर्खेत कार्यालयले भने ग्यास आपुर्तिमा कुनै अभाव नरहेको जनाएको छ । भारतबाट एलपी ग्यास आवश्यक परिमाणमा निरन्तर आयात भइरहेको र कुनै अभाव नरहेको भन्दै निगमले बजारको मागलाई सहज बनाउन दैनिक आयात परिमाणमा वृद्धि गरिएको समेत दावी गरेको छ ।

अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासका कारण पनि उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सञ्चित गर्ने प्रवृत्ति बढेको देखिन्छ । सञ्चित गर्नेहरूका कारण पनि आम उपभोक्ताहरूले सहजै ग्यास पाउन सकेका छैनन् । जसले ठूलो समस्या निम्त्याइरहेको छ । उपभोक्ताहरूले तोकिएका अधिकृत बिक्रेताहरूबाट मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा ग्यास सञ्चय नगर्ने हो भने सहज हुन सक्दछ । ग्यासको आपूर्ति, त्यसको वितरण र बजार अनुगमनमा सम्बन्धित निकायहरूले निरन्तर चासो दिनुपर्ने देखिन्छ ।

प्रकाशित मितिः   १३ श्रावण २०८३, बुधबार १३:४५