मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

 

सुर्खेत: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिवार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

गत असार ३२ गते नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का १६ जना सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए । शनिवार दिउँसो तीन बजे प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो । सोही बैठकमार्फत कँडेलले राजीनामा घोषणा गरेका हुन् ।

राजीनामा घोषणाको क्रममा कँडेलले आफ्नो कार्यकालमा थुप्रै सुधारका काम भएको पनि स्मरण गरे । उनले नयाँ बन्न लागेको सरकार कति टिक्छ वा टिक्दैन त्यो भन्न नसकिने जनाए । कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यति बेला तत्कालीन माओवादीले समर्थन गरेको थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए ।

कँडेलको राजीनामासँगै कर्णालीमा नयाँ सरकार गठन हुने भएको छ । यसअघि कांग्रेस र नेकपा मिलेर कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए । तर शनिवार नै नेकपा र एमालेबीच देशभर सत्ता सहकार्यका लागि सहमति भएको छ । यो सहमतिले कांग्रेस–नेकपा गठबन्धन टुट्ने देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको तीन बुँदे सहमतिअनुसार कर्णालीमा नेकपाले सरकारको नेतृत्व गर्ने भएको छ । यो सहमतिअनुसार अब कर्णालीमा नेकपा र एमाले मिलेर सरकार बन्नेछ । दुई दलबीच भएको सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।

प्रकाशित मितिः   १० श्रावण २०८३, आईतवार ०५:०१