प्रदेशसभाको बैठक स्थगित

सुर्खेत: बिहीवारका लागि बोलाइएको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक नबसेरै स्थगित गरिएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार बिहीवार दिउँसो ३ बजे बैठक बोलाइएको थियो । तर सभामुख नन्दा गुरुङले विशेष कारण देखाउँदै बिहीवार बस्न नसकेको बताइन् ।

स्थगित गरिएको बैठक साउन ९ गते शनिवार दिउँसो ३ बजेका लागि बोलाइएको छ । कर्णाली प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा शनिवारका लागि बैठक आह्वान गरिएको उल्लेख छ ।

मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कँडेलविरुद्ध गत बिहीवार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेस र नेकपा अबको प्रदेशसभा बैठकबाटै अविश्वासको प्रस्ताव निर्णयार्थ पेस गरेर टुँग्याउनुपर्ने पक्षमा छन् । मुख्यमन्त्री कँडेल र नेकपा (एमाले) सहमत भएको छैन ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बिहीवार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए । कर्णालीमा कांग्रेस–नेकपा मिलेर गत बिहीवार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । केन्द्रमा एमाले र नेकपाबिच समीकरण बनाउन छलफल भइरहे पनि कर्णालीमा भने नेकपाले यसअघिकैै अडानमा कायम रहने बताएको छ ।

कांग्रेस–नेकपा मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुका साथै अबको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरेका छन् । अविश्वासको प्रस्ताव ल्याउनुअघि कांग्रेसबाट सरकारमा सहभागि मन्त्रीहरूले सामुहिक राजीनामा दिएका थिए ।

प्रकाशित मितिः   ८ श्रावण २०८३, शुक्रबार ०९:१३