‘स्वस्पर्श’लाई पारिजात कृतिसम्मान

सुर्खेत: डा. नवराज केसीद्वारा लिखित ‘स्वस्पर्श’ पुस्तक पुरस्कृत हुने भएको छ । पारिजात स्मृति केन्द्रले यस वर्षको ‘पारिजात कृतिसम्मान २०८२’ स्वस्पर्शलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सम्मानका लागि योग्य कृतिको छनोट गर्न गठित ‘पारिजात कृतिसम्मान छनोट समिति’ ले पहिलो चरणमा आठ कृतिलाई छनोट गरेको थियो । छनोटमा आख्यान विधातर्फ अर्चना थापाको ‘अग्निगर्भ’, केशवराज ज्ञवालीको ‘अज्ञात’, दीपा दाहालको ‘विजयिनी’, श्रवण मुकारुङको ‘सलह’ र नवीन अभिलाषीको ‘दहाड’ परेका थिए । त्यसैगरी निबन्ध विधातर्फ डा. केसीको ‘स्वस्पर्श’ र भूपिनको ‘मध्यको उज्यालो’ समावेश भएका थिए भने कविता विधातर्फ रिमा केसीको ‘बगायतनामा’ छनोट भएका थिए ।

यसरी छनोट भएका आठ कृतिको गहन अध्ययन, मूल्याङ्कन तथा छलफलपछि छनोट समितिले डा. नवराज केसीको ‘स्वस्पर्श’ लाई ‘पारिजात कृतिसम्मान २०८२’ प्रदान गर्न सिफारिस गरेको हो । सोही सिफारिसका आधारमा पारिजात स्मृति केन्द्रले उक्त कृतिलाई यस वर्षको सम्मान प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठद्वारा बुधवार जारी विज्ञप्तिअनुसार वि.सं. २०८३ साउन १० गते आयोजित विशेष कार्यक्रममा पारिजात कृतिसम्मान २०८२ औपचारिक रूपमा प्रदान गरिनेछ । ‘स्वस्पर्श’ डा.केसीको यो दोस्रो कृति हो । यसअघि उनको अर्को बहुचर्चित ‘शून्यको मूल्य’ प्रकाशित छ ।

प्रकाशित मितिः   ७ श्रावण २०८३, बिहीबार १३:४३