२३ प्रतिशत खेत बाँझै

आकाशे पानीको भर पर्दा रोपाइँमा ढिलाइ

सुर्खेत: आधा वर्षात् बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाइँ हुन सकेको छैन । आकाशे पानीको भर पर्नुपर्ने भएकाले र ढिलो गरि वर्षात् सुरु भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन् । पर्याप्त वर्षा नहुँदा र सिँचाइ सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाइँ अपेक्षाभन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

प्रदेशभर हालसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको ७७.०५ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले बताए । कर्णालीमा धान खेतीका लागि कुल क्षेत्रफल ४३ हजार दुई सय ९० हेक्टरमध्ये ३३ हजार तीन सय ५३ हेक्टरमा मात्र धान रोपाइँ भएको छ । कर्णालीमा अझै २३.०५ प्रतिशत खेत अझै बाँझै छ । गत वर्ष कर्णालीमा यही अवधिसम्म ८३.२३ प्रतिशत रोपाइँ भएको थियो । निर्देशनालयका अनुसार प्रदेशमा यो वर्ष ४३ हजार दुई सय ९० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहेकामा हालसम्म ३३ हजार तीन सय ५३ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका निमित्त निर्देशक रोकायका अनुसार समयमै मनसुन सक्रिय नहुँदा आकासे पानीमा निर्भर किसानले रोपाइँ सार्न बाध्य भएका छन् । उनले सिँचाइ सुविधा उपलब्ध भएका तथा पर्याप्त वर्षा भएका हिमाली क्षेत्रमा भने रोपाइँ उल्लेख्य रूपमा अघि बढेको बताए । उनले भने, ‘कर्णालीका हिमाली जिल्लाहरूमा रोपाइँ अन्तिम चरणमा पुगेको छ, जहाँ कुलो र सिँचाइ प्रणाली प्रभावकारी छन्, त्यहाँ रोपाइँ लगभग सम्पन्न भइसकेको छ ।’

वर्षामा निर्भर क्षेत्रमा पानीको अभावले कर्णालीका अधिकांश स्थानमा रोपाइँ ढिलो भएको हो । अघिल्लो वर्ष यो समयमा कर्णालीका धेरै स्थानमा रोपाइँ सकिएको थियो । जिल्लागत तथ्यांकले पनि सिँचाइको उपलब्धताले रोपाइँको गतिमा प्रत्यक्ष प्रभाव पारेको देखाएको छ । कर्णालीका दशवटा जिल्लामध्ये जुम्लामा मात्र रोपाइँ सकिएको छ अर्थात् शतप्रतिशत रोपाइँ भएको छ । जुम्लामा सतप्रतिशत प्रतिशत, डोल्पामा ९८ प्रतिशत, हुम्ला र मुगुमा ९५÷९५ प्रतिशत, रुकुमपश्चिम र सल्यानमा ९२÷९२ प्रतिशत, जाजरकोटमा ९० प्रतिशत, कालीकोटमा ८५ प्रतिशत र दैलेखमा ७९ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम सुर्खेतमा ५५ प्रतिशत मात्र रोपाइँ भएको छ ।

क्षेत्रफलका आधारमा जुम्लामा दुई हजार आठ सय ८८ हेक्टरमध्ये दुई हजार आठ सय ८८ हेक्टरमा नै धान रोपिएको छ । सल्यानमा ६ हजार एक सय ३४ हेक्टरमध्ये पाँच हजार ६ सय ४३ हेक्टर, मुगुमा एक हजार ६ सय ४० हेक्टरमध्ये एक हजार पाँच सय ५८ हेक्टर, दैलेखमा सात हजार ६ सय २० हेक्टरमध्ये ६ हजार २० हेक्टर, जाजरकोटमा तीन हजार ५८ हेक्टरमध्ये दुई हजार सात सय ५२ हेक्टर, हुम्लामा ६ सय १५ हेक्टरमध्ये पाँच सय ८४ हेक्टर, डोल्पामा दुई सय ७९ हेक्टरमध्ये दुई सय ७३ हेक्टर, रुकुमपश्चिममा तीन हजार ४३ हेक्टरमध्ये दुई हजार ६ सय ५८ हेक्टर, कालिकोटमा तीन हजार ९२ हेक्टरमध्ये दुई हजार ६ सय ५८ हेक्टर र सबैभन्दा धेरै धान खेती हुने सुर्खेतमा १४ हजार नौ सय २१ हेक्टरमध्ये आठ हजार दुई सय सात हेक्टरमा मात्र धान रोपिएको छ ।

धान रोपाइँ ढिलो हुँदा बिरुवा परिपक्व हुन लाग्ने समय छोटिने, बोटको वृद्धि कमजोर हुने तथा अन्ततः उत्पादन घट्ने जोखिम रहने कृषि विज्ञहरू बताउँछन् । विशेषगरी वर्षामा आधारित खेती प्रणाली भएका क्षेत्रमा समयमै रोपाइँ हुन नसके प्रतिहेक्टर उत्पादन घट्ने सम्भावना बढ्छ । ढिलो रोपाइँले बालीमा रोग–किराको जोखिम बढ्नुका साथै कटानी पनि ढिलो हुने भएकाले समग्र कृषि चक्र प्रभावित हुने कृषि विज्ञ पोषण घिमिरेले बताए । उनका अनुसार नेपाल अझै धान तथा चामलमा आत्मनिर्भर हुन सकेको छैन । सिँचाइको अभाव, समयमा रासायनिक मल उपलब्ध नहुनु, गुणस्तरीय बिउको सीमित पहुँच, खेतीयोग्य जमिन घट्दै जानु र जलवायु परिवर्तनका कारण आवश्यक उत्पादन हुन नसकेको जनाइएको छ ।

 

 

प्रकाशित मितिः   ६ श्रावण २०८३, बुधबार ०५:०५