अब भरी सिलिन्डर ग्यास पाइने
सुर्खेत: अबदेखि परिएको सिलिण्डरमा ग्यास पाइने भएको छ । पेट्रोलियम पदार्थको अभावका कारण आधा सिलिन्डर बिक्री हुँदै आएकोमा बुधवारदेखि भरी सिलिन्डर पाइने भएको छ ।
नेपाल आयल निगम लिमिटेडले मंगलवार प्रेस विज्ञप्ति जारी गरी असार ३१ गतेदेखि पूरा सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था गरिएको जनाएको छ । बुधवारदेखि साविककै १४.२ केजीको सिलिन्डर बिक्री हुने भएको छ । यसअघि ७.१ केजीको ग्यास बिक्री हुँदै आएको थियो ।
आयल निगमले भरी सिलिन्डरको दुई हजार ६० रूपैयाँ तोकिएको छ । उपभोक्ताको माग बमोजिम भरी सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ । केही समयका लागि आधा सिलिन्डर पनि बिक्री हुने जनाएको छ । अहिले बजारमा रहेको आधा ग्यासको सिलिन्डर पूर्णरूपमा प्रतिस्थापन नहुँदासम्म ७.१ केजी र १४.२ केजीको सिसिन्डर बिक्री हुने जनाएको छ । दुवै किसिमका सिलिन्डरको तौल र मूल्य यकीन गरेर खरिद गर्न निमगले उपभोक्तालाई आग्रह गरेको छ ।
पछिल्लो समय बजारमा ग्यासको पनि अभाव देखिएको छ । आधा सिलिण्डर ग्यासका लागि पनि उपभोक्ताहरू घण्टौ लाइन बस्नुपर्ने बाध्यता थियो । अबभने यस्तो समस्या नहुने जनाइएको छ ।
प्रकाशित मितिः ३१ असार २०८३, बुधबार ११:२७
साझा बिसौनी ।