दैलेख दुर्घटनाः कर्णालीमा बेपत्ता गाडी र यात्रुको अवस्था अज्ञात
सुर्खेत: यात्रुसहित कर्णाली नदीमा खसेको गाडी अझै भेटिएको छैन । तीन दिन बितिसक्दासमेत गाडी र गाडीसँगै बेपत्ता भएका यात्रुहरू फेला परेका छैनन् ।
सुर्खेतको वीरेन्द्रनगरबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी बिहीवार कर्णाली नदीमा खसेको थियो । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडाबाट नदीमा खसेको गाडीको लगातार खोजी भइरहेको छ ।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय नागरिकको संयुक्त टोली परिचालन गरी खोजी भइरहेको छ । तर शनिवार साँझसम्म पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ । वर्षाका कारण कर्णाली नदीको बहाव बढेको छ । त्यसमाथि पानी धमिलो छ । भिरालो भुगोलका कारण पनि खोजी कार्यमा कठिनाइ भइरहेको छ ।
कर्णाली प्रदेश प्रहरीका अनुसार गोताखोर, ड्रोन, सोनार क्यामेरा, म्याग्नेटसहितका अत्याधुनिक उपकरण र नेपाली सेनाको हेलिकोप्टरसमेत परिचालन गरेर खोज तथा उद्धार कार्य निरन्तर जारी छ । खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाटसमेत गोतखोर टोली खटिएको छ । सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको कमान्डमा चार जना गोताखोरसहितको टोली शनिवार घटनास्थल पुगेर उपकरणसहित खोजीकार्य सुरु गरेको छ । टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामर सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको छ ।
दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा वेश तथा थप मद्दतको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको टोली खटिएको थियो । प्रतिकूल प्राकृतिक अवस्थाका बाबजुद उपलब्ध सबै स्रोत–साधन परिचालन गरी बेपत्ता व्यक्तिहरूको खोजीलाई उच्च प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।
गाडी र बेपत्ता यात्रु फेला नपरे पनि उक्त गाडीमा सवार पाँच जनाको विवरण पत्ता लागेको छ । दैलेख प्रहरीले कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच यात्रुको विवरण सार्वजनिक गरेको हो । घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालकसहित पाँच जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कालीकोटको पलाँता गाउँपालिका–१ का जबे टिकाको शव फेला परेको छ । आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । त्यसैगरी चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी पनि बेपत्ता छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का उनीहरू सहोदर दाजुभाइ हुन् ।
दुर्घटनामा परेको गाडी भाइ तुलारामले चलाउने गरेको थिए । उनका दाइ रामप्रसाद सहचालक रहको खुलेको छ । उनीहरू दुवैको अवस्था अज्ञात छ । पारिवारिक स्रोतका अनुसार तुलारामले गएको दसैँमा मात्रै त्यो गाडी किनेका थिए । त्यसअघि तुलाराम दिदीको गाडी चलाउँथे । त्यो रूटमा तुलारामले आफ्नै गाडी चलाउन थालेको दुई–तीन महिना मात्रै भएको थियो । गाडी किनेपछि तुलारामले भारतमा रहेका आफ्ना दाइ रामप्रसादलाई पनि बोलाएका थिए ।
त्यसैगरी दुर्घटनामा बेपत्ता हुनेमा रास्कोट नगरपालिका–२, कालिकोटका सिर्जना बुढा तथा कालीकोटकै पलाँता गाउँपालिका–१ का मेखे तिरुवा र जेखे तिरुवा रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २१ असार २०८३, आईतवार ०५:०५

साझा बिसौनी ।