बस्ती जोड्ने झोलुङ्गे पुल
कर्णाली प्रदेशमा बग्ने भेरी र कर्णालीजस्ता ठूला नदीले ठूलो भूभाग छुन्छन् । अन्य साना–ठूला खोला र खहरेहरू पनि निकै ठूलो संख्यामा छन् । छरिएका गाउँबस्तीलाई जोड्न यिनै नदी र खोलाहरू बाधक बन्ने गरेका छन् । यही समस्या समाधानका लागि झोलुङ्गे पुल नै कर्णाली कनेक्टिभिटीको प्रमुख माध्यम बनेका छन् । त्यसैले कर्णाली प्रदेश सरकारले पनि झोलुङ्गे पुल निर्माणलाई प्राथमिकतामा राखेको छ । प्रदेशभर एक सय २२ वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति, कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागेको हो ।
पर्यटकीय महङ्खव भएका स्थान तथा सडक नपुगेका स्थानमा जनजीवन सहज बनाउन झोलुङ्गे पुल निर्माण गरिने भएको हो । पुल निर्माणका लागि ३६ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाइ दुरीभित्र पहुँच सुविधा पु¥याउने लक्ष्य राखिएको छ । अहिलेसम्म कम्तीमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गर्ने गरिएको छ । सरकारले एक घण्टाको फेरो (पैदल यात्रा गर्ने दूरी) मा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा घण्टामा हुने गरी पुल निर्माणको काम गरिरहेको हो । नागरिकले सजिलै र छिटो सेवासुविधा पाउनुपर्ने मान्यताका आधारमा पुल निर्माण गर्ने गरिएको छ । प्रदेश सरकारले खास गरी ग्रामीण क्षेत्रमा नागरिकलाई नदी पार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।
सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । नागरिकलाई आवतजावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समयमा पर्यटन प्रवद्र्धनको माध्यमसमेत बन्दै गएको पाइएको छ । प्रदेश सरकारले प्रत्येक वर्ष पुल निर्माण गरिरहेको छ । प्रदेश सरकार, संघीय सशर्त अनुदानमार्फत् कर्णाली प्रदेशका दश जिल्लामा पुल निर्माण भइरहेका छन् । चालु आर्थिक वर्षमा ४२ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा ५६ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । उक्त वर्ष ९० वटा पुल निर्माण गर्ने लक्ष्य थियो । यसरी हरेक वर्ष नयाँ झोलुङ्गे पुल बन्दैछन् । जसले कर्णालीका गाउँबस्ती जोड्दैछन् ।
प्रकाशित मितिः १८ असार २०८३, बिहीबार ११:३०
सम्पादकीय ।