झोलुङ्गे पुलले जोड्दै कर्णालीका गाउँबस्ती

आगामी वर्षभित्र एक सय २२ वटा पुल निर्माण गरिने

सुर्खेत: कर्णाली प्रदेशभर एक सय २२ वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागेको हो ।

पर्यटकीय महत्त्व भएका स्थान तथा सडक नपुगेका स्थानमा जनजीवन सहज बनाउन झोलुङ्गे पुल निर्माण गरिने आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बताए । पुल निर्माणका लागि ३६ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाई दुरीभित्र पहुँच सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।

अहिलेसम्म कम्तीमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । सरकारले एक घण्टाको फेरो (पैदल यात्रा गर्ने दूरी) मा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा घण्टामा हुने गरी पुल निर्माणको काम गरिरहेको उनले जानकारी दिए । नागरिकले सजिलै र छिटो सेवासुविधा पाउनुपर्ने मान्यताका आधारमा पुल निर्माण गर्ने गरिएको उनको भनाइ छ । प्रदेश सरकारले खास गरी ग्रामीण क्षेत्रमा नागरिकलाई नदी पार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको छ । सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । नागरिकलाई आवतजावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समयमा पर्यटन प्रवद्र्धनको माध्यमसमेत बन्दै गएको पाइएको छ ।

प्रत्येक वर्ष निरन्तरता

प्रदेश सरकारले प्रत्येक वर्ष पुल निर्माण गरिरहेको छ । प्रदेश सरकार, संघीय सशर्त अनुदानमार्फत् कर्णाली प्रदेशका दश जिल्लामा पुल निर्माण भइरहेका छन् । चालु आर्थिक वर्षमा ४२ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ५६ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । उक्त वर्ष ९० वटा पुल निर्माण गर्ने लक्ष्य थियो । २०८०/०८१ मा २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका थिए । उक्त वर्ष ९४ वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य थियो । त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ७७ वटा पुल निर्माण भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा एक सय सात वटा पुल निर्माण गरिएको भौतिक मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले अहिलेसम्म एक सय ५१ वटा झुलुङ्गे पुल निर्माण गरेको छ । नागरिकलाई सहज रूपमा कम जोखिमपूर्ण यात्रा होस् भनेर प्रदेश सरकार स्थापना भएपछि नै निरन्तर पुल निर्माणमा लागिरहेको हो ।

पूर्वाधारमा प्रगति

कर्णाली प्रदेशमा बर्सेनि पूर्वाधार विकासमा प्रगति भएको छ । विशेष गरेर सडक पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको छ । नयाँ सडक निर्माण, पुरानोको मर्मत र स्तरोन्नतिका काम हरेक वर्ष भइरहेका छन् । प्रदेश सरकारले हालसम्म तीन सय किलोकिलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म तीन सय दुई दशमलव ८४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । चालु आर्थिक वर्षमा मात्र ५३.२६ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यो वर्ष एक सय ६१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो । सरकारले हालसम्म सात सय ७४.७ किलोमिटर सडक ग्रावेल गरेको छ । चैत मसान्तसम्मको वितरणमा उल्लेख गरिएअनुसार यो वर्ष मात्र ६१.०६ किलोमिटर सडक ग्रावेल गरिएको हो । यो प्रगति लक्ष्यभन्दा कम हो । सरकारले यो वर्ष एक सय ३९.७० किलोमिटर सडक ग्रावेल गर्ने लक्ष्य राखेको थियो ।

तथ्यांकअनुसार तीन हजार दुई सय ७६ किलोमिटर माटे सडक निर्माण गरिएको छ । यो वर्ष एक सय ८४ किलोमिटर माटे सडक निर्माण गर्ने लक्ष्य राखिएको भएपनि एक सय १३.९८ किलोमिटर मात्र माटे सडक निर्माण गरिएको छ । अहिलेसम्म नालालगायतका अन्य पूर्वाधार सात सय ४५.५९ वटा निर्माण भएका छन् । यो वर्ष ९६.८० वटा निर्माण गर्ने लक्ष्य राखिएकोमा १००.८४ वटा निर्माण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले अहिलेसम्म एक सय ५१ वटा झुलुङ्गे पुल निर्माण गरेको छ । यो वर्ष मात्र ६३ वटा झुलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा २६ वटा मात्र निर्माण भएका छन् । सरकारले हालसम्म ६२ वटा सडक पुल निर्माण गरेको छ । यो वर्ष मात्र ४४ वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएको प्रदेश सरकारले नौ वटा सडक पुल मात्र निर्माण गरेको हो ।

अहिलेसम्म प्रदेश सरकारले २६ वटा सार्वजनिक भवन निर्माण गरेको छ । यो वर्ष ५१ वटा निर्माण गर्ने लक्ष्य लिएकोमा सात वटा मात्र निर्माण गरिएको छ । संघीय सरकारको जनता आवास कार्यक्रमअन्तर्गत तीन हजार पाँच सय ६८ वटा घर निर्माण भएका छन् । यो वर्ष एक सय ५३ वटा घर निर्माण गर्ने लक्ष्य राखिएकोमा ३८ वटा मात्र निर्माण भएका छन् । सोही कार्यक्रमअन्तर्गत प्रदेश सरकारले छुट्टै घर निर्माणको काम गरिरहेको छ । यसरी पूर्वाधार विकासका कामले गति लिन थालेको छ । यद्यपि, अझै पनि लक्ष्य अनुरूप काम हुन सकेको छैन ।

प्रकाशित मितिः   १७ असार २०८३, बुधबार ०५:०५