वीरेन्द्रनगरको ‘उपमहानगर योजना’

बढ्यो बजेट, महानगरको भन्दा ठूलो

सुर्खेत: उपमहानगरपालिका बन्ने योजना बुनिरहेको वीरेन्द्रनगर नगरपालिकाको वार्षिक बजेट भने महानगरपालिकाको भन्दा पनि ठूलो छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि वीरेन्द्रनगरले ल्याएको बजेट देशका ६ वटामध्ये दुईवटा महानगरको भन्दा ठूलो आकारको छ ।

बुधवार १९औँ नगरसभामा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्षका लागि चार अर्ब ७१ करोड दुई लाख ७२ हजार बराबरको बजेट पेस गरेका छन् । जबकी आर्थिक केन्द्र मानिने विराटनगर महानगरपालिकाले आगामी वर्षका लागि तीन अर्ब ५६ करोडको बजेट ल्याएको छ । अर्को ठूलो आर्थिक केन्द्र रहेको वीरजंग महानगरको बजेट पनि वीरेन्द्रनगरको भन्दा सानो छ । वीरजंगले चार अर्ब ४२ करोड बराबरको बजेट पेश गरेको छ ।

 

आगामी आर्थिक वर्षका लागि वीरेन्द्रनगरले ल्याएको बजेट दुईवटा महानगरको भन्दा ठूलो आकारको छ । महानगरकैभन्दा ठूलो आकारको बजेट बनाएको वीरेन्द्रनगर भने नगरपालिकाबाट उपमहानगरमा स्तरोन्नति हुने प्रयासमा छ ।

 

महानगरकैभन्दा ठूलो आकारको बजेट बनाएको वीरेन्द्रनगर भने उपमहानगरमा स्तरोन्नति हुने प्रयासमा छ । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन पहल गरिने बताएकी छिन् । सबै हिसाबले वीरेन्द्रनगर उपमहानगर बन्न योग्य रहेको भन्दै उनले नीतिगत रूपमै निर्णय गरेर त्यसका लागि पहल थालिएको बताइन् । विगतदेखि नै उपमहानगर बनाउने योजना अघि सारिएपनि त्यसले पूर्णता पाउन सकेको छैन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर प्रदेशकै प्रमुख आर्थिक केन्द्र पनि हो । पूर्वाधार विकासदेखि जनसंख्याको हिसाबले पनि उपमहानगर बन्न योग्य रहेको जनाइएको छ ।

वीरेन्द्रनगरको वार्षिक बजेट पनि बढ्दै गएको छ । आगमी वर्षका लागि प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ७५ लाखले बढी हो । चालु वर्षका लागि नगरपालिकाले चार अर्ब ३८ करोडको बजेट ल्याइएको थियो ।
आगामी वर्षका लागि खनालले प्रस्तुत गरेको कुल बजेटमध्ये ६४ प्रतिशत हिस्सा अर्थात् तीन अर्ब दुई करोड ७० लाख रूपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ भने चालुतर्फ एक अर्ब ६८ करोड ३१ लाख विनियोजन गरिएको छ । खर्च बेहोर्ने स्रोतमा संघीय वित्तीय समानीकरण अनुदानबाट २४ करोड ६० लाख, संघीय सशर्त अनुदानबाट दुई अर्ब ६७ करोड ९६ लाख, संघीय राजश्व बाँडफाँट २१ करोड ३६ लाख ४७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट तीन करोड ५३ लाख ३५ हजार, प्रदेश सशर्त अनुदानबाट ५० करोड ३५ लाख ७२ हजार र प्रदेश राजश्व बाँडफाँट ४४ लाख ११ हजार राखिएको छ ।

यस्तै, संघीय तथा प्रदेशको समपूरक विशेष अनुदान चार करोड ५९ लाख, स्थानीय राजश्व बाँडफाँट १८ करोड तथा नगरपालिकाको आन्तरिक आयबाट ३३ करोड ६ लाख ६५ हजार रूपैयाँ खर्च बेहोर्ने स्रोतमा राखिएको छ ।

चालु आर्थिक वर्षको बचत रकमबाट तीन करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदानबाट ३४ करोड खर्च बेहोरिने उपप्रमुख खनालले बताए । आगामी बजेट शीर्षकगत कार्यक्रम अन्तर्गत तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि ३४ करोड, खानेपानी सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रम म्याचिङ फण्ड भेरी पम्पिङ आयोजना सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि १८ करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि १६ करोड ६७ लाख र विभिन्न शाखा नगरस्तरीय आयोजना कार्यक्रम सञ्चालनका लागि १४ करोड ५० लाख विनियोजन गरिएको खनालले जानकारी दिए ।

यसैबीच वीरेन्द्रनगर नगरपालिकाले ‘स्वस्थ नगरवासी’का लागि ‘१० हजार पाइला’ कार्यक्रम ल्याएको छ । नगर प्रमुख ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो कार्यक्रम घोषणा गरिन् । उनले छोरी बचत खातामा राख्ने रकम दोब्बर बनाउने घोषणा पनि गरिन् । यसअघि नगरभित्र छोरी जन्मिदा उनको बचत खातामा राखिदिने एक हजार रूपैयाँलाई दोब्बर बनाएर दुई हजार पु¥याएको घोषणा ढकालले गरेकी छिन् ।

प्रकाशित मितिः   ११ असार २०८३, बिहीबार ०५:०५