विपद्को जोखिम

कमजोर भूवनोट अनि भौगोलिक विकटताका कारण कर्णाली प्रदेश नै विपद्को उच्च जोखिममा छ । वर्षामा बाढी र पहिरोबाट ठूलो क्षति हुन्छ । हिउँदमा आगलागी र हावाहुरीबाट धनजनको नाश भइरहेको छ । प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका पनि प्राकृतिक विपद्को उच्च जोखिममा रहेको पाइएको छ । नगरपालिकाले निर्माण गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अध्ययन प्रतिवेदनमा यहाँका करिब ६१ प्रतिशत घरधुरी जोखिममा रहेको औंल्याइएको हो । नगरमा १६ वटै वडामा रहेका २९ हजार दुई सय १६ घरधुरी मध्ये १७ हजार नौ सय ४२ घरधुरी प्राकृतिक प्रकोपको जोखिममा देखिएका हुन् ।

नगरका सबै वडा कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिमा भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कतिपय वडामा पहिरो र केहीमा बाढी तथा डुवानलगायतको जोखिम उच्च रहेको छ । वडा नं. १२ को खोरिया, १३ को अधिकांश भू–भाग, १४ र १५ को सबै क्षेत्र पहिरोको जोखिममा छ । उक्त वडाहरूमा बसोबास गर्ने एक हजार तीन सय ३५ घरधुरीमध्ये ६ सय ६७ घर पहिरोका कारण पूर्ण क्षति हुन सक्ने प्रतिवेदनले औंल्याएको छ । ती वडाका ६ सय ६८ घरधुरीमा आंशिक क्षति पुग्न सक्ने अध्ययनले देखाएको छ । १ देखि ८ र १२ नम्बर वडा बाढीको जोखिममा छन् । त्यस्तै, वडा नं. ९ र १० डुबानको उच्च जोखिममा रहेका छन् । बाढी र डुुबानबाट आंशिक र पूर्णरूपमा गरी एक हजार दुई सय बढी घरधुरी प्रभावित हुने देखिएको छ । वीरेन्द्रनगरका कतिपय बस्तीमा आगलागीको समेत जोखिम छ । नगरका दुई सय २५ घरधुरी आगलागीको जोखिममा छन् । वीरेन्द्रनगर भुकम्पको समेत जोखिममा रहेको छ । भुकम्प गए यहाँका पाँच हजार आठ सय ४३ घरधुरी पूर्ण र १५ हजार एक सय ९२ घरधुरीमा आंशिक क्षति पुग्ने अनुमान गरिएको छ । जनसंख्यालाई आधार मान्दा ६२ प्रतिशत मानवस्रोत जोखिममा रहेको अनुमान गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको पछिल्लो तथ्यांकअनुसार हाल नगरमा एक लाख १५ हजार बढीको बसोबास छ । बढ्दो अव्यवस्थित बस्तीका कारण पनि वीरेन्द्रनगर विपद्को जोखिममा छ । नगरपालिकाले विभिन्न चरणमा गरेर विपद् प्रतिकार्य योजना पनि बनाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७६ तयार पारिएको छ । यसको प्रभावकारी कार्यान्वयन आवश्यक देखिन्छ । पछिल्लो समय बनेका संरचनाका कारण पनि ठूलो क्षति हुनेगरेको छ । सडक पूर्वाधारका कारण बस्ती नै जोखिममा पर्ने गरेका छन् ।

प्रकाशित मितिः   ५ असार २०८३, शुक्रबार ०९:५९