एमयूका विद्यार्थी दीक्षित
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले करिब दुई हजार विद्यार्थीलाई दीक्षित गरेको छ । बुधवार चौथो दीक्षान्त समारोहमार्फत एक हजार नौ सय २८ जना विद्यार्थी दीक्षित गरिएको हो ।
एमयूले एकैदिन दीक्षान्त समारोहसहित १८औँ विश्वविद्यालय सभा र १६औँ वार्षिकोत्सव मनाएको छ । विश्वविद्यालयका विभिन्न ग्राजुएट स्कुलअन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीहरूलाई दीक्षित गरिएको हो । जसअनुसार स्नातक तहमा एक हजार दुई सय २२, स्नातकोत्तर तहमा ६ सय ९४ र दर्शनाचार्य तहमा १२ जना दीक्षित भएको विश्वविद्यालयका रजिष्ट्रार सहप्राध्यापक डा. अर्जुनबहादुर अयडीले जानकारी दिए ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । पोखरेलले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताएका हुन् । ‘देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप दिगो विकासका लागि सदुपयोग गर्नुहोस्,’ मन्त्री पोखरेलले भने, ‘देशभित्र भविष्य देख्ने वातावरणका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिनुपर्छ ।’
विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने भन्दै त्यसका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको जानकारी दिएका छन् । विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत, वन, जडिबुटी, पर्यटन र सांस्कृतिक धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । ‘सरकार तथा मेरो मन्त्रालयको तर्फबाट यो विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड, डिजिटल शिक्षा र रोजगार उन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्णतः प्रतिबद्ध छु,’ उनले भने ।
मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेशकै गौरवमा रूपमा रहेको बताउँदै उनले शैक्षिक स्तरोन्नति, अनुसन्धान र प्रविधिमा उदाहरणीय योगदान पु¥याएको बताए । उनले विश्वविद्यालय स्थापना भएको पौने दुई दशकको अवधिमा अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल शैक्षिक प्रविधि र नवीनतम प्रविधिको उपयोग सुनिश्चित गर्न विश्वविद्यालयले देखाएको प्रतिबद्धताको प्रशंसा गरे । दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘तपाईंले प्राप्त गर्नुभएको शिक्षा केवल आफ्नो व्यक्तिगत प्राप्तिको लागि मात्र होइन, समाज र राष्ट्रको विकासको लागि सशक्त माध्यम पनि हो ।’ नेपालको सन्दर्भमा हामी विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको उनले बताए ।
प्रकाशित मितिः ४ असार २०८३, बिहीबार १०:४१

साझा बिसौनी ।