जनशक्ति व्यवस्थापन
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दो छ । दैनिक दुई हजारभन्दा धेरै बिरामीले ओपीडी सेवा लिने गरेका छन् । तर पर्याप्त जनशक्ति नहुँदा अस्पतालको सेवा भने अपेक्षाकृतरूपमा सुधार हुन सकेको छैन । जनगुनासो पनि बढ्दो छ । अस्पतालले वर्षौंदेखि जनशक्ति अभाव झेल्दै आएको छ । पर्याप्त जनशक्ति नहुँदा थुप्रै करार जनशक्तिकै भरमा सेवा दिनुपर्ने बाध्यता छ । अस्पतालमा हाल करिब ५० जना चिकित्सकसहित विशेषज्ञ, नर्सिङ र प्राविधिक जनशक्तिको अभाव छ । एक सय ५० शै®याका लागि तीन सय २५ जनाको स्वीकृत दरबन्दी रहको छ । हाल दुई सय एक जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । १४ जना विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये स्थायी रूपमा एक जना मात्रै कार्यरत छन् । हाल अधिकांश विशेषज्ञ सेवा संघबाट काजमा आएका चिकित्सक र करार जनशक्तिको भरमा सञ्चालन भइरहेको छ ।
पाँच सय शै®या सञ्चालन गर्न सक्ने भवन निर्माण भएपनि आवश्यक कर्मचारी अभावका कारण हाल तीन सय शै®या मात्रै सञ्चालनमा छन् । करोडौं रूपैयाँका आधुनिक उपकरण अस्पतालमा उपलब्ध भएपनि सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा केही उपकरण पूर्णरूपमा प्रयोग हुन समेत सकेको छैन । जनशक्ति व्यवस्थापन नहुँदा सेवा विस्तार मात्र होइन, हाल सञ्चालनमा रहेका सेवालाई निरन्तरता दिनसमेत चुनौती थपिएको छ, अस्पतालमा चाप बढ्दो छ । रिक्त दरबन्दी पूर्ति, विशेषज्ञ चिकित्सक व्यवस्थापन तथा आवश्यक बजेट सुनिश्चित गर्न प्रदेश र संघीय सरकारको सहयोग आवश्यक देखिन्छ । बढ्दो बिरामी चाप, न्यून जनशक्ति र आर्थिक चुनौतीका बीच प्रदेश अस्पतालले सेवा सञ्चालन गरिरहेकाले आवश्यक जनशक्ति र स्रोतसाधन व्यवस्थापनमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ । अर्कोतर्फ कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्यमन्त्री यामलाल कँडेलले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने बताएका हुन् । तर अहिलेसम्म प्रतिष्ठान निर्माणका लागि ऐन बनाउन सरकार नै अग्रसर भएको छैन । यद्यपि, नीति तथा कार्यक्रममा भने समावेश हुने गरेको छ ।
प्रदेश सरकारले अस्पताललाई विशिष्टीकृत स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने घोषणा पटक–पटक गर्दै आएको छ । अस्पताललाई भविष्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने लक्ष्यसमेत प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा समेट्दै आएको छ । त्यसका लागि प्रदेश सरकार, संघीय स्वास्थ्य मन्त्रालय तथा विकास साझेदार संस्थाबाट पूर्वाधार र उपकरणमा ठूलो लगानी भइरहेको छ । तर आवश्यक जनशक्ति व्यवस्थापन नगरी पूर्वाधार विस्तार मात्रै पर्याप्त हुँदैन । यसतर्फ पनि ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः २ असार २०८३, मंगलवार १०:३५
सम्पादकीय ।