छोरी जन्मिए नगरपालिकाले बैंकमा खाता खोलिदिने

सुर्खेत, २८ जेठ ।
अब वीरेन्द्रनगरमा छोरीको जन्म हुने बित्तिकै बैंकमा बचत खाता खोलिने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र जन्मिने छोरीको स्थानीय बैंकमा बचत खाता खोलिदिने भएको हो । नगर कार्यपालिकाको पहिलो बैठकले अब नगरभित्र जन्मिने छोरीको बैंकमा एक हजार रूपैयाँको बचत खाता खोलिदिने निर्णय गरेको छ ।
छोरा र छोरीबीचको विभेद न्यूनीकरण गर्न प्रोत्साहन स्वरूप यस्तो निर्णय गरिएको मेयर देवकुमार सुवेदीले जानकारी दिए । उनका अनुसार अब वीरेन्द्रनगरमा जन्मिने हरेक छोरीको बैंकमा बचत खाता नगरपालिकाले नै खोलिदिनेछ । नगरकार्यपालिकाले गरेका निर्णय शनिवार सार्वजनिक गर्दै मेयर सुवेदीले भने, ‘अब नगरभित्र जन्मिने छोरीको जन्म बचत खाता खोलिदिनेछौं, जन्मदर्ताको प्रमाणपत्रको आधारमा स्थानीय बैंकमा एक हजार रूपैयाँको खाता नगरपालिकाले नै खोलिदिनेछ ।’
यो निर्णयले छोरी भएकै आधारमा हुने विभेदहरू न्यूनीकरण हुने नगरपालिकाले अपेक्षा गरेको छ । यस्तै बैंकमा बचत खाता खोल्ने निर्णयले हरेक छोरीले बैंकमा बचत गर्ने र त्यसबाट उनीहरू आर्थिक रूपमा सवल हुने अपेक्षा नगरपालिकाका पदाधिकारीहरूले गरेका छन् । यस्तै नगरपालिकाले अबको एक सय दिनभित्र सम्पन्न गर्ने कार्यक्रम तथा योजनाहरू पनि सार्वजनिक गरेको
छ । बैठकले सुरक्षित आमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो कार्यक्रम अन्तर्गत अब नगरभित्रका गर्भवती तथा जोखिमयुक्त आमाहरूको उपचारमा नगरपालिकाले सहयोग गर्नेछ । यस्तै नगरपालिकाले गर्भवती महिलाको एक पटक भिडियो एक्सरेका लागि आर्थिक सहयोग गर्ने भएको हो ।
नगरकार्यपालिकाले अबदेखि बाबु र आमाका गुनासा र समस्या सुन्नका लागि बाबुआमा चौतारी कार्यक्रम सञ्चालन गर्नेछ । यसमा नगरभित्रका जेष्ठ नागरिकका समस्या समाधानका लागि नगर प्रमुख र उपप्रमुख हरेक वडामा पुग्नेछन् । नगरभित्रका दलित र विपन्न महिलाहरूको आय–आर्जनका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
उपप्रमुख मोहनमाया ढकालले भनिन्, ‘हामीले अबको एक सय दिनमा गर्न सक्ने कामको खाका बनाएका छौं, सोही अनुसारका निर्णय पनि भएका छन् । अब वीरेन्द्रनगर सामाजिक रूपमा एकताबद्ध हुनेछ, आर्थिक रूपमा सवलीकरणका लागि हामी सहयोग गर्नेछौं ।’ बैठकले नगरका १६ वटा वडामा एक÷एक वटा वाईफाई फ्रीजोन निर्माण गर्ने निर्णय गरेको छ ।
अब नगरभित्रका हरेक घरले कम्तीमा दुई वटा बिरुवा रोप्नुपर्ने
छ । त्यसैगरी वीरेन्द्रनगरमा एउटा पर्यावरणीय बालपार्क स्थापना गरिनेछ । त्यसका लागि गुरुयोजना निर्माण गर्ने, नगर विकासको पाँच वर्षीय परिकल्पनासहितको त्रिवर्षीय नगर योजना निर्माण गर्ने, नगरभित्रको फोहोर व्यवस्थापन गर्ने, प्लाष्टिक नियन्त्रित वडा घोषणा गर्ने र अपाङ्गता भएकाहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको कार्यपालिकाका सदस्य निलकण्ठ खनालले जानकारी दिए । यस्तै महŒवपूर्ण निर्णयका रूपमा हिंसापीडित महिलाहरूका लागि नगरपालिका कार्यालयमा हेल्प डेस्क स्थापना गरिनेछ । यसका लागि नगरपालिकाले सहजीकरण गर्नेछ । सञ्चारकर्मी सहयोग कोष स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
वीरेन्द्रनगरलाई प्रदेश नम्बर ६ को राजधानी घोषणा गर्नका लागि नेपाल सरकारसँग माग गर्ने निर्णयसमेत बैठकले गरेको छ । यस्तै बैठकले सुर्खेत उपत्यका नगर विकास समिति खारेजका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ । पछिल्लो समय नगरभित्र बढ्दै गएको जमिन खण्डीकरण र प्लटिङ्ग रोक्नका लागि आवश्यक पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसका लागि तोकिएको मापदण्ड पूरा गरेर बाटोको लगत कट्टा भएपछि मात्र स्वीकृति प्रदान गरिनेछ । यस्तै बैठकले नगरपालिकामा पछि समायोजन भएका क्षेत्रहरूलाई समावेश गरेर नयाँ गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ । निर्वाचनअघि मतदाता समक्ष गरेका प्रतिबद्धता र नगरको समृद्धिका लागि काम गर्न तयार रहेको कार्यपालिकाले अठोट गरेको छ ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७४, आईतवार १६:१७