दुर्गममा प्रहरीको अस्पताल सेवा

सुर्खेत: कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले दुर्गम जिल्लाहरूमा स्वास्थ्य सेवा प्रदान गरेको छ । प्रदेश प्रहरी अस्पतालको आयोजनामा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत साविक कर्णालीका जिल्लाहरूमा सेवा प्रदान गरिएको हो ।
अस्पतालले विशेषज्ञसहितको निःशुल्क सेवा दिएको अस्पतालका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक डा. सन्जिव खड्काले बताए । उनका अनुसार अति दुर्गम मानिने हुम्ला, डोल्पा, मुगु, कालीकोटलगायतका जिल्लाहरूमा ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम’ सेवा दिइएको हो । स्वास्थ्य शिविरमा मानसिक तथा दिर्घ रोग, मादक पदार्थ सेवनका असर, लेक लाग्नु र हिउँले खानुसम्बन्धी समस्याको प्राथमिक उपचारहरूको बारेमा जानकारीसमेत दिइएको छ ।
कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतको आयोजनामा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत हुम्ला जिल्लाका विभिन्न स्थानहरूमा सर्वसाधारण नागरिकलाई लक्षित गरि प्रदेश प्रहरी अस्पतालका प्रमुख हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा. श्याम कृष्ण लौडारीसहितको टोलीले सेवा दिएको थियो । सात जना प्रहरी स्वास्थ्यकर्मीको टोलीले जिल्ला–जिल्लामा पुगेर सेवा दिएका हुन् ।
हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ६ लिमी उपत्यका स्थित हल्जी र जाङ गाँउका ६७ जनाले स्वास्थ्य सेवा लिएका थिए । जसमा महिला ५१ जना र पुरुष १६ जना जनालाई निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको छ । त्यसैगरी ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम’ हालसम्म कर्णाली प्रदेशका दैलेख र जाजरकोट बाहेकका आठ जिल्लामा सम्पन्न भइसकेको र अबको केही महिनामा बाँकी दुई जिल्लामा समेत सेवा दिनेगरी योजना निर्माण गरिएको अस्पतालले जनाएको छ ।
प्रकाशित मितिः २२ जेष्ठ २०८३, शुक्रबार १५:५३
साझा बिसौनी ।