वनस्पतिको उपयोग

कर्णाली प्रदेशमा प्रशस्त जडिबुटी पाइन्छ । यहाँ बहुमूल्य वनस्पति छन् । तर तिनको उचित उपयोग हुन सकेको छैन । यद्यपि, पछिल्लो समय प्रशोधन गरेर विदेशी बजारमा समेत निर्यात गर्न थालिएको छ । कर्णालीमा पाइने चुत्रो र गुर्जो पनि प्रशोधन गरेर चिन पु¥याउने गरिएको छ । सुर्खेतमै प्रशोधन केन्द्र स्थापना भएपछि यहाँका कृषकले संकलन गरेर आम्दानीको स्रोत बनाएका छन् । महङ्खव नबुझेर अहिलेसम्म जंगलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजंगलमा खेर गइरहेको चुत्रो र गुर्जो संकलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. १० खरायो चौरमा सञ्चालनमा आएको चिनियाँ कम्पनी युव्यान बायोटेक्नोलोजी प्रालिले चुत्रोको जरा, डाँठ र गुर्जो प्रशोधन गर्न थालेको हो । पाँच करोड लगानीमा ५५ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ । यस कम्पनीमा तीन चिनियाँ र ६० नेपाली कार्यरत छन् । कम्पनीले गुर्जो र चुत्रो संकलन गरेर बिक्री गर्न ल्याउने संकलकलाई चुत्रोका डाँठ जरालाई प्रतिकिलो ५५ तथा गुर्जोलाई प्रतिकिलोको २५ रूपैयाँ दिने गरेको छ । खेतबारी तथा वनजंगलमा सदियौँदेखि उपयोगविहीन बनेको चुत्रो र गुर्जो बिक्री हुन थालेपछि अहिले गाउँगाउँका किसानलाई संकलन गर्न भ्याइनभ्याइ छ । कम मेहनत र लगानीमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि दैनिकजसो चुत्रो संकलन गर्नेहरूको संख्या ह्वात्तै बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले चुत्रो र गुर्जोलाई प्रशोधन गरी धुलो बनाएर चीन पठाउने गरेको छ । अहिले कर्णालीका दशवटै जिल्लाहरूबाट संकलन गरेर प्रशोधन भइरहेको छ ।

औषधिजन्य वनस्पति चुत्रो र गुर्जो संकलन तथा बिक्री भए पनि यसको दीर्घकालीन उपयोग र खेती विस्तारमा ध्यान नदिइएको भन्दै सरोकारवालाले विरोध पनि जनाएका छन् । नागरिकको विरोध बढेपछि डिभिजन वन कार्यालय सुर्खेतले यसबारे ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय र सामुदायिक वनभन्दा पनि निजी तथा व्यक्तिगत रूपमा नागरिकहरूले खोजेर बिक्रि गर्ने गरेको पाइएको छ । चुत्रो र गुर्जो प्रतिबन्धित जडिबुटी नभएकाले नियम अनुसार बिक्री वितरण गर्न सकिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । कर्णालीमा यस्ता थुप्रै प्रकारका जडिबुटी र वनस्पति पाइन्छन् । जसको उपयोगले आम नागरिकलाई रोजगारीको सिर्जनाका साथसाथै आर्थिक जीवनस्तरमा सुधारमा समेत सघाउ पु¥याउन सक्दछ । नागरिकको आर्थिक जीवनस्तरमा आउने सुधारले समग्र प्रदेश र मुलुककै समृद्धिमा योगदान हुनेछ ।

प्रकाशित मितिः   १४ जेष्ठ २०८३, बिहीबार १६:०६