समयमै पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्रका लागि केही दिनभित्रैमा विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । सरकारले वैशाख १५ गतेबाट भर्ना अभियान र २१ बाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । शिक्षा नियमावली २०७८ ले नयाँ शैक्षिक सत्र २ वैशाख र पठनपाठन १६ वैशाखबाट सञ्चालन गर्नु भनेको छ । यद्यपि, सरकारको निर्णयअनुसार यसपटक भर्ना अभियान केही ढिला हुँदैछ । भर्ना अभियानको तयारी चलिरहँदा समयमै पाठ्यपुस्तक पु¥याउने तयारी पनि अघि बढेको छ । विगतमा कर्णालीमा शैक्षिक सत्र सुरु भइसकेपछि पनि विद्यार्थीहरूले पाठ्यपुस्तक नपाउने अवस्था थियो । तर पछिल्ला वर्षहरूमा यो समस्या कम हुँदै गएको छ । यो वर्ष भर्नासँगै विद्यार्थीको हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ ।

कर्णालीका सबै जिल्लाहरूमा पाठ्यपुस्तक पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको तालिका बमोजिम चैत ९ गतेदेखि पुस्तक वितरण सुरु गरिएको छ । यो वर्षका लागि आवश्यक पर्ने दश लाख थान पुस्तक ल्याइएको थियो । धेरैजसो पुस्तक जिल्ला–जिल्लामा पुगिसकेको छ । पहिलो चरणमा सबै जिल्लामा पाठ्यपुस्तक पुगेको छ भने छुट भएका जिल्लाहरूमा धमाधम पु¥याउने काम भइरहेको छ । जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गरिरहेको छ । दुर्गम जिल्लाको पहिले पालो तोकिएको छ भने अलिक सुगम जिल्लालाई पछाडि राखिएको छ । चैत ९ गतेदेखि १४ गतेसम्म हुम्ला र डोल्पा, चैत १५ गतेदेखि १६ गतेसम्म मुगु, १७ गतेदेखि १८ गतेसम्म जुम्ला, १९ गतेदेखि २० गतेसम्म कालीकोट, २१ गतेदेखि २२ गतेसम्म जाजरकोट, २३ गतेदेखि २४ गतेसम्म दैलेख र २५, २६, २७ गते तीन दिन सुर्खेतमा पुस्तक वितरण गरिनेछ । तर अहिले तालिका अनुसार नभइ जिल्ला–जिल्लाका पुस्तक बिक्रेताले गरेको मागअनुसार पुस्तक वितरण भइरहेको छ । भर्नासँगै विद्यार्थीलाई पाठ्यपुस्तक हातमै उपलब्ध गराउने सरकारको नीति अनुरूप नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पु¥याइएको हो । गोदाममा अझै सात हजार पाठ्यपुस्तक स्टक राखिएको कार्यालयले जनाएको छ । अहिलेपनि बिक्रेताको मागको आधारमा धमाधम पाठ्यपुस्तक वितरणको काम भइरहेको छ । किताब बिक्री गर्ने क्रम जारी छ ।

कर्णालीका केही जिल्लाहरूमा भने भर्ना अभियान सुरु भइरहेको छ । हिमाली जिल्ला डोल्पा र मुगुमा भर्ना अभियान सुरु भएको हो । हिमाली जिल्लाहरूले धमाधम रूपमा भर्ना अभियान गरिरहेका छन् । संविधानले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई दिएकाले आफ्नो नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने निर्णय गरेको पालिकाहरूले जनाएका छन् । भर्ना अभियान केही दिन ढिलो–चाँडो भएपनि सबै जिल्लाहरूमा समयमै पाठ्यपुस्तक भने पुगिसकेको छ ।

प्रकाशित मितिः   १३ बैशाख २०८३, आईतवार १४:५२