नौ महिनामा २४ प्रतिशत खर्च
सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत मसान्तसम्म कुल बजेटको २४.२१ प्रतिशत मात्रै खर्च गरेको छ । चैत महिनामा मात्रै एक अर्ब ५५ करोड ४६ लाख रूपैयाँ खर्च भएपनि समग्र बजेट कार्यान्वयन सन्तोषजनक हुन सकेको छैन ।
चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रूपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चैत मसान्तसम्म आठ अर्ब तीन करोड ६२ लाख रूपैयाँ मात्रै खर्च भएको छ । फागुन मसान्तसम्म ६ अर्ब ४८ करोड १६ लाख रूपैयाँ खर्च भएकोमा चैत लागेसँगै खर्चको गति केही बढेको देखिए पनि अघिल्ला वर्षहरूको तुलनामा यो अवस्था अझै कमजोर रहेको देखिन्छ ।
गत आर्थिक वर्षको सोही अवधिमा २५ प्रतिशतभन्दा बढी बजेट खर्च भइसकेको थियो । मन्त्रालयगत खर्चतर्फ भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सबैभन्दा ठूलो बजेट भएको मन्त्रालय भएपनि खर्च कमजोर देखिएको छ । ११ अर्ब एक करोड २१ लाख रूपैयाँ बजेटमध्य दुई अर्ब ११ करोड ७५ लाख रूपैयाँ मात्रै खर्च भएको छ, जुन कुल बजेटको १९.२३ प्रतिशत हो ।
सामाजिक विकास मन्त्रालयले पाँच अर्ब ७७ करोड ५६ लाखमध्ये एक अर्ब ८४ करोड ६८ लाख खर्च गर्दै ३०.९२ प्रतिशत प्रगति हासिल गरेको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय ले तीन अर्ब ८३ करोड तीन लाख बजेटमध्ये ९४ करोड २४ लाख खर्च गर्दै २४.६० प्रतिशत कार्यान्वयन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ले दुई अर्ब ५७ करोड ११ लाखमध्य ४३ करोड १६ लाख रूपैयाँ खर्च गर्दै १६.७९ प्रतिशत मात्रै प्रगति गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ले दुई अर्ब ४२ करोड ७९ लाखमध्य ६१ करोड ७८ लाख खर्च गर्दै २५.४५ प्रतिशत खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४४ करोड २४ लाखमध्ये १४ करोड ४६ लाख अर्थात् २६.२५ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले २० करोड १३ लाखमध्य आठ करोड ८६ लाख अर्थात् ४३.९४ प्रतिशत खर्च गरेको छ ।
प्रकाशित मितिः ८ बैशाख २०८३, मंगलवार ०५:०१
साझा बिसौनी ।