कर्णाली उत्सवमा निरन्तर विमर्श

सुर्खेत: कर्णाली उत्सवको सातौं संस्करणअन्तर्गत दोस्रो दिन पनि विभिन्न विषयमा विमर्श गरिएको छ । आइतवार पाँच वटा सत्रमा वत्ताहरूसँग बहस गरिएको छ ।

पहिलो सत्र ‘कनेक्टिङ कर्नालीमा’ वक्ताहरूले कर्णाली प्रदेशको समग्र विकासका लागि भौतिक र डिजिटल पूर्वाधारको एकीकृत विकास हुनुपर्नेमा जोड दिएका थिए । पूर्वसचिव केशवकुमार शर्माले सडक पूर्वाधारमा सुधार हुँदै गएको बताए । उनले सडक सुरक्षामा पनि ध्यान दिन जरुरी रहेको बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) की कार्यकारी सदस्य सुमन जोशीले १८ हजार मेगावाट विद्युत उत्पादन क्षमता भएको कर्णालीमा १० मेगावाट मात्र विद्युत उत्पादन हुनु दुर्भाग्यपूर्ण रहेको बताइन् ।

अर्को सत्र ‘शिक्षाको उकाली–ओराली’मा बोल्ने वक्ताहरूले कर्णालीको शैक्षिक अवस्था, चुनौती र आगामी बाटोबारे मन्थन गरेका छन् । नीति निर्मातादेखि कार्यान्वयन तहका प्रतिनिधिहरूले शिक्षालाई प्रविधि र स्थानीय उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले संघीय शिक्षा ऐन नआउँदासम्म प्रदेश र स्थानीय तहको प्रयासले मात्र शैक्षिक गुणस्तर सुधार्न नसक्ने गुनासो गरे । चौकुने गाउँपालिका अध्यक्ष खड्क विकले शिक्षा, सीप र विकासलाई एकआपसमा जोड्न जरुरी रहेको बताए ।

‘उद्यमको उडानः स्थानीय उद्यमीका सुख–दुख’ शीर्षकको सत्रमा कर्णालीका सफल उद्यमीहरूले कर्णालीमा अथाह सम्भावना भए पनि झन्झटिलो सरकारी प्रक्रिया, गुणस्तरीय कच्चा पदार्थको अभाव र राज्यको उदासीनताले उद्यमीहरूलाई निरुत्साहित गरिरहेको बताएका छन् ।

यसबाहेक ‘विकासको गोरेटो, प्रकृतिको ओत’ र ‘डटपेनदेखि डटकमसम्म’ शीर्षकमा पनि छलफल गरिएको छ । त्यसअघि ‘प्रतिरोधी पाइला’ शीर्षकमा उमादेवी वादीले विद्वत् प्रवचन दिएकी थिइन् । उनले आफ्नो समुदाय वर्षौंदेखि जातीय विभेद झेल्दै अझै पनि आफ्नो आत्मसम्मानका लागि लडिरहेको गुनासो गरिन् । ‘आज पनि वादी समुदाय ओडारमा, खोलामा र नदीको किनारको झुप्रोमा बस्न बाध्य छन्, उनीहरूका लागि गाँस, बास र कपासकै ग्यारेन्टी छैन, अरू सेवा–सुविधा त टाढाको कुरा,’ उनले भनिन्, ‘वादी समुदायसँग शैक्षिक प्रमाणपत्रको डिग्री त छैन, तर अरूभन्दा बढी जीवनको भोगाइ र पीडाको डिग्री भने अवश्य छ ।’

प्रकाशित मितिः   ३० चैत्र २०८२, सोमबार ११:५३