दशौँ राष्ट्रिय खेलकुदको तयार गर्न निर्देशन

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधिन प्रदेश रंगशालाको काम छिटो टुंग्याएर दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लाग्न निर्देशन दिएका छन् । प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री कँडेलले रंगशालाको काम टँुग्याउन बजेटसमेत विनियोजन भइसकेको बताउँदै बाँकी काममा ढिला गर्न नहुने बताए ।

रंगशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह गरे । ‘अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन, सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,’ उनले भने ।

निर्माण व्यवसायीलाई कार्यतालिका अनुसार काम अघि बढाउन र बाँकी रहेका कामहरू निश्चित समयसीमाभित्र पूरा गर्ने काममा लगाउन निर्देशन दिए । निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले जिम्मेवार निकायहरूलाई आफ्नो भूमिकामा गम्भीर हुन आग्रह गरे । रंगशाला सम्पन्न भएसँगै कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास पनि उनले व्यक्त गरे ।

मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनले खेलाडीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षणको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण तथा प्रतियोगिताहरूको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा जोड दिए । कर्णालीमा खेलकुद क्षेत्रको सम्भावना प्रशस्त रहेको भन्दै त्यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी, उनले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्षहरू समयमै सुनिश्चित गर्नुपर्ने उनले बताए । कर्णालीका विभिन्न जिल्लामा आवश्यक खेल पूर्वाधार निर्माण गर्न स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेस गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए । मुख्यमन्त्री कँडेलले हाल बजेट तयारीको चरणमा रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रका योजनाहरू योजना बैंकमा समावेश गर्न आग्रह गरे । चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँदै उनले उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

त्यसका साथै, उनले कुनै पनि कार्यक्रम परिषद् बैठकबाट अनुमोदन गरेर मात्र कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पारे । कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय यसै वर्ष र आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो । बैठकमा परिषद्का पदाधिकारीहरूले निर्माणाधिन रंगशालाको वर्तमान प्रगति, देखिएका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरूले समन्वय, स्रोत व्यवस्थापन र प्रभावकारी अनुगमनमार्फत निर्माण कार्यलाई गति दिन सकिने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मितिः   ३० चैत्र २०८२, सोमबार ११:५२