पर्यटन विकास
पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको प्रदेश हो कर्णाली । तर यसको भरपूर उपयोग हुन सकेको छैन । पछिल्लो समय कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । पर्यटन पूर्वाधारका योजनालाई आवश्यकताको आधारमा प्राथमिकतामा राखिएको छ । पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना र आर्थिक समृद्धिको लक्ष्य राखिएको छ । रोजगारीमा आधारित उद्योगलाई प्रवद्र्धन गर्ने, उद्यमशीलता विकास तथा महिला आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । त्यसका लागि पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारलक्षित कार्यक्रम सञ्चालन गरिएको छ । यसले कर्णालीको पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
प्रदेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् पर्यटकीय स्थलको संरक्षण गर्न पर्यटन गुरूयोजना कार्यान्वयनमा जोड दिइएको छ । यो वर्ष भिन्न प्रकारका कार्यक्रम कार्यान्वयन गरिएको छ । सीपसँग सहयोग कार्यक्रम सञ्चालन गरी उद्यमशीलता विकास, रोजगारमूलक तालिम र प्रविधि हस्तान्तरणमार्फत उद्यमीहरूलाई उत्प्रेरित गर्ने कार्यक्रम कार्यान्वयन गरिएको छ । प्रमुख पर्यटकीय स्थलको संरक्षण र सम्वद्र्धन गर्नका लागि पर्यटन गुरुयोजना निर्माण गर्ने कार्य अघि बढाइएको छ । निजी क्षेत्रसमेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा रहेका कटकुवा, लादे, गोठीकाँडा तथा सिद्धपाईला क्षेत्रलाई हिलस्टेशनको रूपमा विकास गर्नेगरी काम अघि बढाइएको जनाइएको छ । पर्यटन प्रवद्र्धन तथा विकासका लागि चालु आर्थिक वर्षमा ४३ करोड बजेट विनियोजन गरिएको छ । मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौघान पार्क र रूकुमपश्चिलमको स्यार्पु तालको संरक्षण र विकास गर्नका पर्यटन पूर्वाधार कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै मन्त्रालयले पर्यटकीय पूर्वाधार विकासको लागि बहुवर्षीय आयोजना स्वीकृत गरेको छ भने जडिबुटी निकासी, बिरुवा उत्पादन गरेर वृक्षारोपण, वन क्षेत्र संरक्षणलगायतका काम भएका छन् ।
कर्णाली प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक छ । त्यसैले प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको छ । पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको लक्ष्य लिइएको छ । पर्यटन पूर्वाधार योजनाअन्तर्गत डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको छ । ताल किनाराको ‘रिंग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ । बस्तीलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गर्न लागिएको हो । यसैगरी हुम्लाको सिमकोट गाउँपालिका र खार्पूनाथ गाउँपालिकाको सिमानामा मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार निर्माण गर्न लागिएको छ । यस्ता योजना कार्यान्वयन हुन सकेमा कर्णालीको पर्यटन विकासमा महङ्खवपूर्ण योगदान पुग्नेछ ।
प्रकाशित मितिः ३० चैत्र २०८२, सोमबार ०५:०३
सम्पादकीय ।