भरतपुर १९ मा पुन: मतदान गर्ने आयोगको निर्णय

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान हुने भएको छ। निर्वाचन आयोगको शनिबारको वैठकले निर्वाचनको मिति तोक्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई दिदैं सो निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो। कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिएको थियो। तर, गत जेठ १४ गते आइतबार मध्यरातमा १९ नम्बर वडाको मतगणना गर्दैगर्दा मतपत्र च्यातेको खबर सार्वजनिक भएपछि मतगणना स्थगित भएको थियो।  १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातिएको थियो। त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो। यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो।

१९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो। आइतबार राति १२ बजेसम्ममा उक्त वडाको थप ४०० मत गनिइसकेको थियो, परिणाम भने सार्वजनिक भएको थिएन।

प्रकाशित मितिः   २० जेष्ठ २०७४, शनिबार १५:३८