गाडी भाडा बढ्दा उपभोक्तालाई भार
सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट संघीय राजधानी काठमाडौं जाने एयर बसको नियमित भाडा दुई हजार पाँच सय ९४ रूपैयाँ हो । तर अहिले तीन हजार रूपैयाँभन्दा कममा एयर बस चढ्न पाइँदैन । शुक्रवार दिउँसो काठमाडौं जान लागेकी गिता थापाले सुर्खेत बसपार्कमा टिकट काउन्टरवालासँग झगडा नै गरिन् । पाँचदिन अघि मात्र दुई हजार पाँच सयमा सुर्खेत आएको बताउँदै उनले बढी भाडा लिने भन्दै झगडा गरेपछि एकछिन अन्य यात्रु पनि अलमलमा परे । इन्धनको मूल्यवृद्धिको कारण भाडा बढेको भन्दै यातायात व्यवासायी प्रतिनिधिहरूले उनलाई सम्झाइ–बुझाइ गरेपछि उनले टिकट काट्ने निर्णय गरिन् ।
इन्धनको मूल्यवृद्धिको कारण भएको भन्दै उनले बढेको मूल्य अनुसारको पैसा तिरिन् । सरकारले भाडा बढाएकोबारे आफूलाई जानकारी नभएको थापाले बताइन् । आउँदा दुई हजार पाँच सयमा आएको भएपनि फर्कदा चार सय ५४ रूपैयाँ बढी तिर्नुपरेको उनको गुनासो छ । उनले मध्यपश्चिम यातायात बस व्यवसायी संघबाट टिकट लिएकी हुन् । उक्त यातायात बस व्यवसायी संघले भाडादर बढेसँगै एयर बसको काठमाडौंसम्मको तीन हजार ४८ भाडादर कायम गरेको छ । शुक्रवारदेखि उक्त भाडादर कायम गरिएको यातायात संघले जनाएको छ ।
यस्तै, काठमाडौंका लागि टिकट काट्न बसपार्क पुगेका रविन शाहीले सरकारले सहुलियत दिने ठाउँमा भाडा वृद्धि गरेर झनै समस्या बनाएको बताए । उनी शुक्रवार बिहान छोरीलाई काठमाडौंै पठाउन भन्दै सुर्खेत बसपार्कमा टिकट काट्न पुगेका थिए । उनले काँक्रेविहार बस व्यवसायी संघबाट टिकट लिएका हुन् । अन्य समयमा एयर बसको दुई हजार ६ सय भाडादर रहेपनि बढाएको मूल्यमा उनले तीन हजार एक सयमा टिकट काटेका छन् । बिहीवारदेखि काँक्रेविहार बस व्यवसायी संघले रात्रीकालीन बसको भाडा वृद्धि गरेको काँक्रेविहार बस व्यवसायी संघका इन्चार्ज ईश्वर थापाले बताए । उनका अनुसार अन्तरप्रदेशमा जाने रात्रीकालीन सार्वजनिक बसहरूको भाडा वृद्धि गरिएको छ ।
सरकारले एक्कासी सार्वजनिक यातायातको भाडा बढाएपछि नागरिक भने अलमलमा परेका छन् । मूल्यवृद्धिको कारण देखाउँदै यातायातको भाडादर बडाइएको छ । अहिले अन्तरप्रदेशको रात्रीकालीन यातायात सेवाको मात्र भाडादर बढाइएको मध्यपश्चिम यातायात बस व्यवसायी संघका इन्चार्ज पवन श्रेष्ठले बताए । काठमाण्डौं, पोखरा, चितवन, विराटनगरलगायतका ठाउँमा जाने रात्रीकालीन बसहरूको मात्र भाडा बढाइएको उनले जानकारी दिए । प्रदेशभित्रै दश जिल्लामा छुट्ने सार्वजनिक यातायातको भाडादर भने वृद्धि नभएको दुई वटै समितिले जनाएका छन् ।
सरकारले यात्रु तथा मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको छ । इन्धनको मूल्यवृद्धिको कारण देखाउँदै लामो दूरीमा चल्ने यात्रु र मालवाहक सवारीसाधनको भाडादर बढाइएको हो । यातायात व्यवस्था विभागले जारी गरेको नयाँ भाडादरअनुसार, सार्वजनिक यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत, पहाडमा चल्ने मालवाहक सवारी साधनका लागि २१.६८ प्रतिशत, मालवाहक सवारीसाधन तराईका लागि १५.७५ प्रतिशत भाडावृद्धि भएको छ ।
यो नयाँ मूल्य चैत २५ देखि नै लागू गरिएको छ । बढाइएको भारा लामो दूरीको सवारीसाधनका लागि मात्रै हो । विभिन्न प्रदेशअन्तर्गत रहेका सडकहरूमा प्रदेशले नै नयाँ भाडादर लागू गर्नेछ । विभागले बढाएको प्रतिशतलाई नबढाउने गरी प्रदेश सरकारले नयाँ भारा लागू गर्न सक्छ । सरकारले बढाएको भाडादर अन्तर प्रदेश सडकका लागि मात्र हो । यसकै आधारमा प्रदेशहरूले पनि भाडा समायोजन गर्ने जनाइएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण विश्वभर पेट्रोलियम पद्धार्थको अभाव र आपूर्ति प्रभावित भएको छ । भारतबाट निर्यात हुने पेट्रोलियम पदार्थ मूल्य बढेर आएका कारण सवारीभाडासमेत समायोजन हुनुपर्ने यातायात व्यवसायीहरूले माग गर्दै आएका थिए । नेपाल सरकारले हालै इन्धनको मूल्यमा भएको उतारचढाव र अन्य प्राविधिक पक्षलाई आधार मानी सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा प्रणाली लागू गर्दै लामो दूरीका सवारीसाधनका साथै मालवाहक सवारीको भाडादरमा परिमार्जन गरेको हो ।
विभागले तय गरेको ‘वैज्ञानिक भाडा दर’ अनुसार इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा मात्रै भाडा समायोजन गर्ने प्रावधान छ । इन्धनको भारी मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीले भाडा बढाउन सरकारसँग माग गरेका थिए । उनीहरूले सरकारले भाडा समायोजन नगरेमा आफैं बढाउने चेतावनी पनि दिएका छ । यातायात व्यवसायीको चेतावनीपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको सहमतिमा भाडा बढाइएको हो ।
प्रकाशित मितिः २८ चैत्र २०८२, शनिबार ०५:०५

साझा बिसौनी ।