आजदेखि कर्णाली उत्सव

सुर्खेत: सार्वजनिक विमर्श श्रृंखला कर्णाली उत्सवको सातौँ संस्करण आज (शनिवार) देखि सुरु हुँदैछ । आयोजक संस्था ऋति फाउन्डेसनले शुक्रवार पत्रकार सम्मेलनमार्फत उत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
वीरेन्द्रनगरको सिटी हल प्राङ्गणमा हुने उत्सवमा सिने क्षेत्रका महानायक राजेश हमालदेखि जेन–जी आन्दोलनकी चर्चित अगुवा रक्षा बमसम्म वक्ताका रूपमा आउने भएका छन् । उत्सवका संयोजक कमलराज लम्सालका अनुसार उत्सव शनिवार, आइतवार र सोमवार गरी तीन दिनसम्म चल्ने छ ।

‘कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारी हो उत्सव,’ उनले भने, ‘हरेक वर्ष फागुन ५, ६ र ७ गते हुँदै आएको यो उत्सव यो पटक आम निर्वाचनका कारण सरेर चैत मसान्तमा आइपुगेको हो ।’ उत्सवले सकरात्मकताको प्रवद्र्धनका साथसाथै विचारबाट नै विकास सम्भव हुन्छ भन्ने मान्यता स्थापित गर्न र नागरिकमा आशाको सञ्चार गर्न अधिकतम् प्रयासहरू गरिरहेको लम्सालले जानकारी दिए ।

विचारको विमर्शमार्फत समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने उद्देश्य राखिएको उत्सवमा यो पटक विभिन्न क्षेत्रका विज्ञ, नीति, निर्माता र नागरिक समाजको सहभागिता रहने छ । संयोजक लम्सालका अनुसार यो वर्ष तीन दिनमा १५ वटा विविधतापूर्ण मूल सत्रहरू समावेश गरिएका छन् अन्य १० सानाछोटा सत्रहरू पनि हुनेछन् । जसअन्तर्गत कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरिरहेका तीन जना पैकेलोहरूले आफ्ना संघर्ष र सफलताका कथाहरू सुनाउने छन् ।

‘हामी मोक्षभूमि, कर्णालीको आंगनबाट हामी ‘नारी नेतृत्व’देखि ‘सिमान्त मान्ठ’का स्वरहरू सुन्ने छौँ,’ लम्सालले भने, ‘यसका साथै प्रतिरोधका पाइला’ को पदचापदेखि ‘कर्नालीका सुईना’हरूमा बहस हुने छ ।’ बहसमा ६ वटै राष्ट्रिय दलका सांसदहरूसँगको संवाद, जेन–जी पुस्ताको सडकदेखि संसद्सम्मको प्रभाव र पहुँच, ‘कनेक्टिङ कर्नाली’ अन्तर्गत ऊर्जा एवम् प्रविधिको विकासमाथि सघन विमर्श हुने संयोजक लम्सालले बताए ।

महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’ कुराकानी, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति ‘रोवा रिग्पा’को चर्चा पनि हुने छ । फाउण्डेसनले विगत सात वर्षदेखि हरेक वर्ष कर्णाली उत्सव आयोजना गर्दै आएको छ ।

प्रकाशित मितिः   २८ चैत्र २०८२, शनिबार ०५:०१