ठूलो आयोजनामै विलम्ब
भेरी–बबई आयोजना निर्माणमा विलम्ब भएको छ । पटक–पटक म्याद थप गर्दा पनि आयोजनाको काम अधुरै छ । राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने हो । तर पूर्वनिर्धारित लक्ष्यअनुसार निर्माण सम्पन्न हुन नसकेपछि काम अधुरै बनेको हो । आयोजनाको सिभिल वर्कतर्फको काम गर्न निर्माण कम्पनीलाई २० चैत २०८२ सम्मको समय दिइएको थियो । म्याद सकिँदासम्म ५७ प्रतिशतमात्र काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७१/०७२ बाट आयोजनाको निर्माण कार्य थालिएको थियो । सम्झौताअनुसार आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।
तोकिएको समयमा काम हुन नसकेपछि म्याद थप भयो । म्याद थप भएसँगै आर्थिक वर्ष २०७९/०८० मा हुनुपर्ने कार्यहरूको दायित्व आर्थिक वर्ष २०८२/०८३ सारियो । तर पनि निर्माणको काम सम्पन्न हुन सकेको छैन । आयोजनाले कोरोना महामारीको असर, प्रक्रियागत जटिलता, प्रतिकूल मौसम, सामान ढुवानीमा ढिलाइलगायतका कारण देखाउँदै आउने गरेको छ । आर्थिक वर्ष २०८२/०८३ सम्म भेरी नदीबाट ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने लक्ष्य थियो । आयोजनाको पहिलो चरण अन्तर्गत टनेल निर्माण कार्य २०७५ मा सम्पन्न भइसकेको छ । पहिलो चरणको काम निर्धारित म्यादअगावै सकिएको थियो । अहिले दोस्रो चरण अन्तर्गतको सिभिल संरचनाहरूको निर्माण कार्य भइरहेको छ । २०७६ मंसिरदेखि दोस्रो चरणका कार्य थालिएको थियो । आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको छ । अहिलेसम्म ५७ प्रतिशत मात्र काम सकिएको छ । हालसम्म आयोजनाको ५७ प्रतिशत काम सकिएको छ । अहिले म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ । आयोजना निर्माण गर्नका लागि तेस्रो पटक दिएको समय सकिए पनि निर्माण कम्पनीले अझै साढे तीन वर्ष अर्थात् ४० महिनाको समय माग गरेको छ ।
नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरिएको आयोजनामा सुरुङमार्गको ब्रेक–थ्रु निर्धारित समय अगावै सकिएको थियो । यो आयोजना नेपालका ठूला सिँचाइ परियोजनामध्ये एक हो, जसले भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइसँगै ४६ मेगावाट बिजुली निकाल्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०८७८८ सम्ममा आयोजनाको निर्माण सक्ने योजना छ । काममा भने ढिलाई हुँदा अन्योलता थपिएको हो ।
प्रकाशित मितिः २३ चैत्र २०८२, सोमबार ०५:०३
सम्पादकीय ।