आजदेखि एसईईः कर्णालीमा ३८ हजार परीक्षार्थी

सुर्खेत: आज(बिहीवार) देखि माध्यमिक शिक्षा परीक्षा(एसईई) सुरु हुँदैछ । एसईईमा कर्णाली प्रदेशबाट ३८ हजार तीन सय ७९ विद्यार्थी सहभागी हुँदैछन् ।

जसमा नियमितको साधारणतर्फ ३० हजार आठ सय ९४, प्राविधिकधारतर्फ एक हजार चार सय एक र ग्रेडवृृद्धितर्फ ६ हजार एक सय २४ विद्यार्थी छन् । परीक्षाका लागि प्रदेशभर एक सय ६१ परीक्षा केन्द्र तोकिएको कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयले जानकारी दिएको छ ।

परीक्षाको तयारी पूरा भएको छ । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने उत्तरपुस्तिका, परीक्षा केन्द्र, परीक्षामा खटिने जनशक्ति व्यवस्थापनलगायतका काम सम्पन्न भएका छन् । परीक्षाका लागि आवश्यक पर्ने सामग्री सम्बन्धित जिल्लामा पठाइएको छ । परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले बताइन् ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर नै परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई सुरु हुने छ । परीक्षा चैत २९ गतेसम्म चल्ने छ । यसवर्ष देशभरबाट पाँच लाख १२ हजार चार सय २१ जना विद्यार्थी सहभागी हुँदै छन् । जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार पाँच सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार आठ सय ५५ जनाले परीक्षा दिँदै छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी छ । छात्राको संख्या दुई लाख ५७ हजार ६ सय १३ छ भने दुई लाख ५४ हजार आठ सय एकजना छात्र र अन्य सात जना रहेका छन् ।

पहिलो पटक उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्रमा नै परीक्षण गरिने भएको छ । परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था भएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा लगेर परीक्षण गरिने छ । उत्तरपुस्तिका परीक्षा सेन्टरमै परीक्षण गराउने कि इकाईमा ल्याएर परीक्षण गर्ने विषयमा सम्बन्धित इकाईलाई नै निर्णय गर्ने अधिकार दिइएको छ ।

परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने योजनाअनुसार परीक्षा जहाँ भएको हो त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । शिक्षामन्त्री सस्मित पोखरेलले एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेका छन् । विगतका वर्षहरूमा एसईईको नतिजा असार दोस्रो सातासम्ममा सार्वजनिक हुने गरेको थियो ।

प्रकाशित मितिः   १९ चैत्र २०८२, बिहीबार ०५:०१