न्यायिक प्रक्रियामा विश्वास
इनिसा विकको घटना थप पेचिलो बन्दै गएको छ । सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार मुद्दा चलाउने निर्णय गरेपछि इनिसा विक हत्या प्रकरणमा मुछिएका तीन युवकका घरपरिवार विरोध प्रदर्शनमा उत्रिएका छन् । इनिसाका आफन्त पनि न्यायको माग गर्दै निरन्तर आन्दोलित छन् । न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको विषयमा अहिले निरन्तर प्रदर्शन भइरहेको छ ।
चैत ११ गते प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय सुर्खेतमा पेस गरेको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा इनिसाको मृत्यु सामूहिक बलात्कारबाट नभइ मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको रक्तस्रावका कारण भएको निष्कर्ष लिकालेको थियो । जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले प्रहरी अनुसन्धानको रायका आधारमा आइतवार अदालतमा अभियोग पत्र दायर ग¥यो । जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतका अनुसार घटनामा संलग्न भनिएका चारै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अभियोगपत्रमा उनीहरूले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सामूहिक जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको ठहर गरिएको उल्लेख छ । सरकारी वकिल कार्यालयले अभियुक्तहरूलाई सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा आजीवन कैद सजायको माग गरेको छ । साथै, जरिवाना र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ । यसले आरोपित युवकका परिवार आक्रोशित भएका छन् । इनिसा घटना प्रकरणमा गरिएको हरेक अनुसन्धानमा सामूहिक बलात्कार नभएको रिपोर्ट आउँदा पनि सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार भन्दै मुद्दा अभियोजन गरी निर्दाेषलाई फसाउन खोजिएको भन्दै यूवकका घरपरिवारले आन्दोलन थालेका छन् । उनीहरूले निर्दोषलाई सजाय नभइ न्याय चाहिने दाबी गरिरहेका छन् ।
अर्कोतर्फ इनिसाका आफन्त पनि निरन्तर आन्दोलन गरिरहेका छन् । हत्यामा संलग्नहरूलाई कारबाही गरेर न्याय दिनुपर्ने माग उनीहरूको छ । न्यायको माग गर्दै आन्दोलित आफन्तले इनिसाको शव बुझ्न मानेका छैनन् । उनको शव तीन सातादेखि कर्णाली प्रदेश अस्पतालमा छ । गत फागुन २३ मा भएको इनिसाको मृत्यु प्रकरणमा परिवारले सुरुदेखिनै शंका व्यक्त गर्दै आएको छ । पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै घरपरिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन् । त्यसैले इनिसाको शव बुझ्न मानिरहेका छैनन् । उनीहरूले अनुसन्धानप्रति अविश्वास जनाउँदै निष्पक्ष र पारदर्शी प्रक्रिया अघि बढाउन दबाब दिएका छन् । यसरी दुवैपक्ष अहिले सडकमा निस्किएका छन् । न्यायिक प्रक्रियामा विश्वासको वातावरण बन्न सकिरहेको छैन । कुनै पनि आपराधिक कार्यमा दोषि वा निर्दोषको फैसला न्यायिक प्रक्रियाबाटै टुँगोमा पुग्दछ । यो घटनाको निक्र्योल पनि न्यायालयबाटै हुनेछ ।
प्रकाशित मितिः १८ चैत्र २०८२, बुधबार ०५:०३
सम्पादकीय ।