‘इनिसा प्रकरण’ थप पेचिलो बन्दै
सुर्खेत: इनिसा विकको घटना थप पेचिलो बन्दै गएको छ । सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार मुद्दा चलाउने निर्णय गरेपछि इनिसा विक हत्या प्रकरणमा मुछिएका तीन युवकका घरपरिवारले प्रदर्शन गरेका छन् ।
चैत ११ गते प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय सुर्खेतमा पेस गरेको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा इनिसाको मृत्यु सामूहिक बलात्कारबाट नभइ मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको रक्तश्रावका कारण भएको निष्कर्ष निकालेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले प्रहरी अनुसन्धानको रायका आधारमा आइतवार अदालतमा अभियोग पत्र दायर ग¥यो । जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतका अनुसार घटनामा संलग्न भनिएका चारै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अभियोगपत्रमा उनीहरूले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सामूहिक जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको ठहर गरिएको उल्लेख छ । सरकारी वकिल कार्यालयले अभियुक्तहरूलाई सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा आजीवन कैद सजायको माग गरेको छ । साथै, जरिवाना र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ ।
यसले आरोपित युवकका परिवार आक्रोशित भएका छन् । इनिसा घटना प्रकरणमा गरिएको हरेक अनुसन्धानमा सामूहिक बलात्कार नभएको रिपोर्ट आउँदा पनि सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार भन्दै मुद्दा अभियोजन गरी निर्दाेषलाई फसाउन खोजिएको भन्दै यूवकका घरपरिवारले सोमवार आन्दोलन गरेका छन् । उनीहरूले निर्दोषलाई सजाय नभइ न्याय चाहिने दाबी गरिरहेका छन् ।
साथै उनीहरूले न्यायालयलाई प्रभावित गर्नेहरूलाई कारबाहीको माग गरेका छन् । आन्दोलनमा सहभागी एक युवकको अभिभावक रेशम ढकालले भने, ‘आन्दोलन गर्न हामी बाध्य भयौँ, हामी न्यायालयप्रति विश्वास गरेर बसेका थियौँ, तर घटनामा उद्धारका लागि गएका अन्य नाबालकहरूलाई फसाउन खोजियो, यो कुनै पनि हालतमा मान्न सकिदैन ।’ आफ्ना छोराहरू मानवताका नाताले उद्धारका लागि त्यहाँ गएको भएपनि निर्दोषलाई फसाउने गरी गरिएको फैसला आफूहरूलाई मान्य नहुने ढकालको भनाइ छ । ‘साथीलाई समस्या प¥यो भनेर उनीहरू मानवताको नाताले बचाउन त्यहाँ गएका थिए, घटनामा मुछिए,’ अर्का अभिभावक याम ढकालले भने, ‘अनुसन्धानका लागि प्रहरीदेखि सीआईबीले निकै गहिरो तरिकाले अनुसन्धान गरे, निष्कर्ष निकालेर सामूहिक बलात्कार नभएको भनेर सरकारी वकिलकहाँ पठायो, जालझेलपूर्ण तरीकाले अदालतले अभियोग दर्ता गरेको छ, यो सरासर अन्याय हो ।’ उनले झुटलाई प्रमुख आधार बनाएर सरकारी वकिल कार्यालयले निर्दोषलाई सजाय दिन खोजीरहेको आरोप लगाएका छन् । उनले भने, ‘इनिसाकी आमाले बोलेका सबै कुरा झुट छन्, उनकी आमाले घटना घटेको दिन सबै जना नाबालकहरू बिहान मेरो घरमा आएर छोरी लिएको भनेर भनेकी थिइन्, तर पछि होइन भनिन्, तर सरकारी वकिल कार्यालयले यही कुरालाई आधार बनाएर सामूहिक बलात्कार भन्दै अदालतमा मुद्दा अघि बढायो ।’ उनीहरूका आफन्तले सोमवार निर्दोषलाई सजाय होइन, न्याय चाहिन्छ, न्यायालयलाई प्रभावित गर्नेलाई कारबाही गर जस्ता नारा लगाएर विरोध जनाएका छन् ।
अर्कोतर्फ इनिसाका आफन्त पनि निरन्तर आन्दोलन गरिरहेका छन् । हत्यामा संलग्नहरूलाई कारबाही गरेर न्याय दिनुपर्ने माग उनीहरूको छ । न्यायको माग गर्दै आन्दोलित आफन्तले इनिसाको शव बुझ्न मानेका छैनन् । उनको शव तीन सातादेखि कर्णाली प्रदेश अस्पतालमा छ ।
मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त तथा स्थानीयले सोमवार जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । धर्नामा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । उनीहरूले अनुसन्धानप्रति अविश्वास जनाउँदै निष्पक्ष र पारदर्शी प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।
गत फागुन २३ मा भएको इनिसाको मृत्यु प्रकरणमा परिवारले सुरुदेखिनै शंका व्यक्त गर्दै आएको छ । पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै घरपरिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन् । इनिसाको शव अझै प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।
प्रकाशित मितिः १७ चैत्र २०८२, मंगलवार ०५:०५

साझा बिसौनी ।