बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

सुर्खेत: गत फागुन २३ गते सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७ दिनपछि फेला परेको छ । बराहताल गाउँपालिका–२ रानीघाटका खत्रीको सोमवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

प्रहरीका अनुसार बाँके र सुर्खेत प्रहरी तथा बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त खोजी टोलीले मृतक खत्रीको शव फेला पारेको हो । मृतकको शव फेला परेको क्षेत्र बर्दिया जिल्लामा पर्छ । उक्त सिकारी समूहमा ३३ वर्षीय टोपबहादुर खत्रीसहित बराहताल गाउँपालिका–१ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाईं, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली सहभागी थिए । साथै लेकवेसी नगरपालिका ८ का ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरूसँगै थिए ।

उनीहरू भरुवा बन्दुक र आवश्यक घरेलु हातहतियारसँगै बास बस्ने गरी झण्डै १७ किलोमिटर दूरी पार गरेर सिकारका लागि निकुञ्जमा प्रवेश गरेका थिए । सुरक्षाकर्मी प्रतिनिधि सभाको निर्वाचनमा खटिएको मौका पारेर उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज छिरेका थिए । स्थानीय बासिन्दाका अनुसार उनीहरू पहिला पनि सिकार खेल्न जान्थे । यसपटक निकुञ्जमा सिकार खेल्न गएका ६ जनामध्ये ५ जना घर फर्किए । तर, उनीहरूसँगै गएका टोपबहादुर फर्किएनन् ।

बराहाताल गाउँपालिका–१ की वडा सदस्य दिलमाया सम्सेली मगरका अनुसार टोपबहादुरबाहेक पाँच जना फागुन २४ गते घर फर्किएका थिए । उनीहरूले सँगै सिकार गएका टोपबहादुर उतै जंगलमा मरेको सुनाए । तर, मृत्युको कारण भने खुलाएनन् । आफ्ना परिवारका सदस्यसँग केही नभन्नु भन्दै सोही दिन उनीहरू घरबाट निस्किए ।

वडासदस्य दिलमाया सम्सेली मगरले उक्त घटनाबारे तीन दिनअघि मात्रै गाउँमा हल्ला फैलिएपछि थाहा भएको बताइन् । ‘चुनावको मतगणनाका कारण म गाउँमा थिइनँ । त्यतिबेला उनीहरू समूहमा सिकार खेल्न भनेर घरबाट निस्केका रहेछन्’, उनले भनिन्, ‘फागुन २४ गत साँझ ८÷९ बजेतिर पाँच जना सिकार खेलेर पर्किएका रहेछन्, उनीहरूले आफ्नो घरमा घटनाबारे जानकारी गराएर सोही दिन गाउँ छाडेको कुरा जनप्रतिनिधि र प्रहरीसमक्ष उनीहरूका आफन्तले भनेका छन् ।’

‘पिडकहरूले परिवारका सदस्यलाई टोपबहादुरको घटनाको खबर कसैलाई नभन्नु भनेका रहेछन्’, वडा सदस्य मगरले पिडकहरूले आफ्ना आफन्तसँग भएको कुरा उद्धृत गर्दै भनिन्, ‘साँझ घर पुगेपछि उनीहरूले घटनाबारे कसैलाई नभन्नु भनेर झोला बोकेर निस्के ।’ उनका अनुसार सिकार खेल्न गएकाहरूले टोपबहादुर हिँड्दाखेरी लडेर आफैँले बोकेको बन्दुक पट्किएर लागेको बताएका थिए ।

घटना गाउँभरि फैलिएपछि सुनिल सम्सेलीकी आमाले टोपबहादुरका भिनाजु नाता पर्ने आशाराम महतरालाई घटनाबारे सुनाएकी थिइन् । त्यसपछि आशाराम तत्काल प्रहरी चौकी रानिघाट पुगेर घटनाबारे जानकारी गराएका थिए । अनि खत्रीको खोजीकार्य गरिएको थियो । खत्रीसँगै सिकार खेल्न गएका अन्य पाँच जना अझै सम्पर्कमा छैनन् ।

प्रकाशित मितिः   १० चैत्र २०८२, मंगलवार ११:१६