ग्यासका लागि घण्टौं लाइनमा

सुर्खेत: मध्यपूर्वमा डेढ सातादेखि जारी तनावका कारण नेपाली बजारमा ग्यास अभाव देखिएको छ । मागअनुसार खाना पकाउने ग्यास नपाएपछि उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य छन् । अहिले ग्यास बिक्रेताकहाँ उपभोक्ताको दिनहुँ लामो लाइन लाग्ने गरेको छ । बिक्रेताले मागका आधारमा ग्यास दिन सकेका छैनन् । वीरेन्द्रनगरमा ग्यासको स्थानीय डिलर र अन्य ग्यास पाइने पसलहरूमा उपभोक्ताको भीड लागेको देख्न सकिन्छ ।

शुक्रवारदेखि ग्यास पाइने आशमा पसल–पसलमा धाइरहेको वीरेन्द्रनगर–३ की रमा पौडेलले बताइन् । चीनजानको पसलहरूमा ग्यास छैन भन्दै आफूलाई रित्तो हात फर्काइको उनको भनाइ छ । ग्यासको अभाव हुने कुरा सुनेपछि चारवटा खाली सिलिन्डर ग्यास बिहीवार नै भरेको वीरेन्द्रनगर–२ की चेतना विसीले बताइन् । ग्यास अभाव हुने हल्ला सुन्ने बित्तिकै खाली ग्यास भरेको बताउँदै चेतनाले भनिन्, ‘सामाजिक सञ्जालमा समाचारहरू देखेको थिएँ, सानो होटल पनि छ, परिवारमा सल्लाह गरेर भरीहाले, दुईवटा नयाँ ग्यास पनि किनेँ ।’

ग्यास नपाइने हल्ला सुनेपछि वीरेन्द्रनगर–४ का सन्तोश सुनार शनिवार बिहानै पसल–पसलमा डुले तर उनले कहीँ कत्तै पनि ग्यास नपाएको सुनाए । शुक्रवार साँझ नै ग्यास सकिएको सबै व्यापारीले बताएको उनले सुनाए । बजारभरि खोज्दा पनि नपाएको भन्दै उनले वीरेन्द्रनगरको बीच बजार, मंगलगढी, यरिचोक, बाङ्गेसिमल लगायतका स्थानका ग्यास पाइने पसलमा गएको भएपनि कहीँकतै ग्यास नपाइएको जनाए । उनी भन्छन्, ‘बजारभरि डुले सबैले शुक्रवार साँझ नै ग्यास सकिएको बताए, अब के होला भन्ने लागेको छ ।’

सबैले स्टक ग्यास खरिद गर्दा बजारमा ग्यासको हाहाकार फैलिएको बताउँदै व्यापारीहरूले नागरिकलाई रित्तो हात फर्काइदिएका छन् । वीरेन्द्रनगरका पवन शाहीले धेरै ग्यास पसल धाउँदा पनि ग्यास नपाएको गुनासो गरे । भएको पसलमा चुलो लिएपछि मात्र बेच्ने कुरा व्यापारीबाट आएको उनले सुनाए । वीरेन्द्रनगरमा ग्यासको अभाव भएको उनी बताउँछन् ।

यता भेरी ग्यासको सुर्खेत बिक्रेता विनोद दाहालले भने हल्ला चलेजस्तो ग्यास अभाव नभएको बताएका छन् । उनका अनुसार बिहीवारबाटै ग्यास लिनको लागि उपभोक्ताको भीड पसलमा लागिरहेको छ । अनावश्यक हल्लाले गर्दा एकैदिन धेरै किन्न आएको भन्दै उनले आवश्यकता भन्दा पनि स्टक ग्यास राख्ने होडबाजी चलेका कारण ग्यास अभाव जस्तो देखिएको बताए । एकै जनाले दुई वा त्यो भन्दा बढी खाली सिलिन्डरहरू भर्न आएकोले भीडभाड देखिएको भन्दै हल्ला चलेजस्तो ग्यास अभाव नहुने उनले जनाएका छन् । उनले भने, ‘नागरिकमा भ्रमपूर्ण समाचार फैलिएकै कारण यस्तो अवस्था आएको हो, सरकारले यस विषयमा नियमन गर्नुपर्छ, नागरिकले धेरै नै सास्ती पाइरहेका छन् ।’

जिल्ला प्रशासन कार्यालय सुर्खेतले हल्लाको पछि नलाग्न नागरिकलाई सचेत गराएको छ । सरकारले नियमगत तरिकाले ग्यास बिक्री वितरण गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले बताए । ग्यास तथा इन्धनको कृत्रिम अभाव सिर्जना गरे कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको हो । अहिले बजारमा ग्यासको अभाव देखाएर व्यापारीहरूले यही मौकाको फाइदा उठाउन खोजेपछि प्रशासनले कडा चेतावनी दिएको छ । ‘जिल्लाका विभिन्न उपभोक्ताहरूद्वारा बजारमा खाना पकाउने ग्यास (एल्पी ग्यास) तथा इन्धनको सहज प्राप्तिमा कठिनाइ भएको भन्ने गुनासो आएकोले कोही कसैले पनि अनावश्यक रूपमा इन्धन तथा ग्यास सिलिन्डर होल्ड नगरी ग्यास तथा इन्धन आपूर्तिलाई सहज तुल्याउन हुन अनुरोध छ,’ शुक्रवार सूचना जारी गर्दै प्रशासनले भनेको छ । साथै अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्ड गरेको पाइए, बढी मूल्य लिइ ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा र नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनको छ ।

प्रकाशित मितिः   १ चैत्र २०८२, आईतवार ११:१७