‘इनिसा प्रकरण’मा अनुसन्धान तीव्र

सुर्खेत: १६ वर्षीया इनिसा विकको हत्या प्रकरणमा अनुसन्धानलाई थप तीव्र पारिएको छ । सुर्खेत प्रहरीले प्रारम्भिक अध्ययन गरिसकेको छ भने विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली पनि सुर्खेत आइसकेको छ । पोलिग्राफ परीक्षणका लागि अर्को विज्ञ टोली पनि अनुसन्धानमा सक्रिय भएको छ ।
नेपालगञ्जबाट आएको पोलिग्राफ गर्ने विज्ञ टोलीले अभियुक्तहरूको बयानलाई परीक्षण गर्छ र झुटो बोलेको भए पत्ता लगाउँछ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधिर राज शाहीले घटनाका विभिन्न पाटोहरूलाई विज्ञहरूको टोलीद्वारा नै अनुसन्धान भइरहेको बताए ।
मृतकको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । फरेन्सिक ल्याबहरूमा मोबाइललगायत पठाइसकिएको छ । त्यस्तै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजीकल रिपोर्टको लागि र बायो–सेरोलोजिकल परीक्षणका लागि पठाइएको छ । सबै रिपोर्ट आएपछि र रिपोर्टको विश्लेषण गरेपछि प्रहरी निष्कर्षमा पुग्नेछ ।
भेरी अस्पताल बांकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हुन सक्ने उल्लेख छ । मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जाहेरी दिएका छन् । बलात्कार वा सामूहिक बलात्कार भए÷नभएको भिसेरा परीक्षणपछि यकिन गर्न सक्ने बताइएको छ ।
गुर्भाकोट घर भएकी १६ वर्षीया इनिसा हाल वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । गत शनिवार बिहान ट्युसन पढ्न भन्दै उनी घरबाट निस्किएकी थिइन् । तर बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक हत्या भएको भन्दै न्यायको माग गरेका छन् । प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः ३० फाल्गुन २०८२, शनिबार १०:१७
साझा बिसौनी ।