व्यवस्थित घण्टाघर
वीरेन्द्रनगरको घण्टाघर क्षेत्रलाई व्यवस्थित र विकसित बनाउने योजनासहित ‘ग्रेटर घण्टाघर’ योजना कार्यान्वयनमा छ । वीरेन्द्रनगर नगरपालिकाले विभिन्न संरचनासहितको ग्रेटर घण्टाघर योजना अघि सारेको हो । जसअन्तर्गत अहिले धमाधम संरचना निर्माणको काम भइरहेका छन् । घण्टाघर पार्क र पार्कभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर व्यवस्थित गरिनेछ । कर्णालीका दश जिल्लाको सांस्कृतिक तथा पर्यटकीयस्थलको झल्को दिने गरी वीरेन्द्रनगर नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ योजना अघि सारेको हो । त्यसका लागि घण्टाघर क्षेत्र आसपासदेखि नगर कार्यपालिका कार्यालय क्षेत्रसम्म विभिन्न संरचना निर्माण गर्ने जनाएको छ ।
ग्रेटर घण्टाघर बनाउन व्यवस्थित पार्क, फोरलेन सडक, पार्टी र अन्य कार्यका लागि सभाहल, पारिवारिक रूपमा बस्न पार्कलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ देखि नै काम आरम्भ गरेको हो । घण्टाघर पार्कभित्र आकर्षक संरचना बनाइने छ । पश्चिमतर्फको खाली भागमा खुल्ला पार्क बनाइएको छ । त्यसबाहेकका अन्य काम पनि धमाधम भइरहेको छ । नेकपा (एमाले) सुर्खेतको पार्टी कार्यालयदेखि उत्तर–पूर्वमा यसअघि नगरपालिकाले खाली गराएको क्षेत्रमा मण्डलासहितको पार्क निर्माण गर्न लागिएको छ । घण्टाघर पार्कलाई नगरपालिकाले संरक्षण र पर्यटकीयस्थल बनाउने उद्देश्यले प्राथमिकतामा राखेर अघि बढाएको छ । आर्थिक वर्ष २०७९÷०८० मा घण्टाघरको पुरानो पर्खाल हटाएर नयाँ पर्खाल निर्माण गरिएको थियो । दुई चरणमा ठेक्का व्यवस्थापन गरेर निर्माण थालिएको घण्टाघरको उत्तर, पश्चिम र दक्षिणतर्फको काम ४० लाख ४७ हजार आठ सय १९ रूपैयाँ लागतमा अघिल्लो वर्ष सकिएको थियो । नगरपालिकाले विभिन्न आर्थिक वर्षमा ‘ग्रेटर घण्टाघर’ बनाउन बजेट विनियोजन गर्ने गरेको छ ।
घण्टाघर पार्कभित्र पब्लिक प्लाजा, विमोचनस्थल, योगा क्षेत्र, बाल उद्यानलगायतका संरचना निर्माण गर्न लागिएको छ । घण्टाघरदेखि पश्चिममा रहेकोस्थानमा हाल नगरपालिकाले खुला पार्क बनाइसकेको छ । सबै नागरिक सहज रूपमा प्रवेश गरेर बस्न मिल्ने बेञ्च र खुला रूपमा सार्वजनिक कार्यक्रम गर्न मिल्नेगरी संरचना निर्माण गरेको छ । खुला पार्कमा एउटै थलोमा देउडा, मनोरञ्जन कार्यक्रम, सम्मेलन, बहस र पैरवी गर्न सहज भएको छ । पार्कभित्र व्यापार क्षेत्र, घुमघाम क्षेत्र, मल्टिपल हल निर्माण गर्ने लक्ष्य राखिएको छ । खुला पार्कमा आकर्षक बत्ती र सीसीटिभी क्यामरा जडान गरेर सुरक्षित स्थल बनाइने लक्ष्य नगरपालिकाको छ । घण्टाघर वीरेन्द्रनगरको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको छ । यद्यपि पछिल्लो समय घण्टाघर पार्क अव्यवस्थित अवस्थामा छ । मर्मत र सुधारको योजना बनाइएपनि पूर्णता पाइसकेको छैन । ग्रेटर घण्टाघर योजनाअनुसारका संरचना निर्माण भएमा भने यसको स्वरूप बदलिनेछ । आन्तरिक पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न सक्दछ । जसले नगरपालिकाको आन्तरिक आयमा समेत योगदान पु¥याउनेछ ।
प्रकाशित मितिः २९ फाल्गुन २०८२, शुक्रबार १२:३०
सम्पादकीय ।