बलियो बहुमततिर रास्वपा

 

सुर्खेत: प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले बहुमत पाउने देखिएको छ । देशभर भइरहेको मतगणनाको नतिजाले रास्वपा सहज बहुमततिर अघि बढेको देखिएको हो ।

शुक्रवार राति अबेरसम्मको मतगणनाको नतिजाअनुसार रास्वपाले केही निर्वाचन क्षेत्रमा जित निकालीसकेको छ भने एक सयभन्दा बढी क्षेत्रमा बलियो अग्रता कायम गरेको छ ।

यो चुनावी परिणामले पुराना राजनीतिक शक्तिहरूलाई निकै निरिह अवस्थामा पु¥याउँदैछ । अब बन्ने संसद्मा रास्वपाको एकछत्र राज हुने देखिएको छ । जेन–जी आन्दोलनपछिको परिस्थितिमा नवयुवा मतदातादेखि बयस्क र वृद्धसम्मको मत रास्वपातिर खनिएको छ । यसले नेपाली राजनीतिमा ठूलो उलटफेरको संकेत दिएको छ ।

रास्वपाका सबैजसो प्रमुख नेताहरूले अग्रता बनाइरहेका छन् । सभापति रवि लामिछाने चितवन २ मा फराकिलो अग्रता लिएर अघि बढिरहेका छन् । वरिष्ठ नेता बालेन शाह पनि झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्दै मतान्तर बढाइरहेका छन् ।

उपसभापति डिपी अर्याल काठमाडौंको क्षेत्र नं. ९ बाट अग्रतासहित जिततर्फ उन्मुख भइरहँदा अर्का उपसभापति स्वर्णिम वाग्ले पनि तनहुँ–१ बाट दोस्रो जित निकाल्न अग्रसत छन् । काठमाडौंका केही क्षेत्रमा रास्वपाले जितिसकेको छ । अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरू अगाडि छन् । सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्वी नेपालको झापासम्मका अधिकांश क्षेत्रमा रास्वपाको वर्चस्व देखिएको छ ।

मधेश प्रदेशमा पनि मतगणना भएका क्षेत्रहरूमा रास्वपा उम्मेदवारहरूले एकलौटी वर्चस्व बनाएका छन् । कर्णाली प्रदेशको एउटा क्षेत्रमा मात्रै रास्वपा अग्रतामा छ । त्यसबाहेक बाँकी ६ वटै प्रदेशका धेरैजसो क्षेत्रमा रास्वपाकै उम्मेदवारहरू अगाडि देखिएका छन् ।

यसबीचमा परम्परागत दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रारम्भिक चरणमा एकदमै कमजोर देखिएका छन् । कांग्रेसले दुईवटा क्षेत्रमा जित निकालेको छ भने अन्य एक दर्जन क्षेत्रमा अग्रता बनाएको छ । जुन रास्वपाको तुलनामा निकै न्यून हो । २०७९ मा कांग्रेसले ५७ क्षेत्र जितेको थियो ।

कांग्रेस यसपटक कति कमजोर अवस्थामा पुगेको छ भने विशेष महाधिवेशन गरेर सभापति बनेका गगनकुमार थापा नै सर्लाही–४ मा पछि परेका छन् । उनलाई रास्वपाका अमरेशकुमार सिंहले ठूलो अग्रतासहित पछि पारेका हुन् । महामन्त्रीद्वय प्रदिप पौडेल र गुरुराज घिमिरेसहित वरिष्ठ नेताहरू विमलेन्द्र निधि, शेखर कोइराला समेत अहिलेसम्मको मतगणनामा निकै पछि छुटेका छन् ।

नेकपा एमालेलाई मतगणनाको प्रारम्भिक नतिजामा अग्रताले दोहोरो अंक छुन समेत मुश्किल भइरहेको छ । उसले यो समाचार तयार पार्दासम्म नौ वटा क्षेत्रमा अग्रता बनाएको छ । यद्यपि, ति क्षेत्रहरूमा पनि ठूलो मतान्तर छैन । एमालेका पनि सबैजसो शीर्ष नेता पछि परेका छन् । अध्यक्ष केपी शर्मा ओली आफै झापा–५ मा रास्वपाका बालेन शाहभन्दा निकै पछि छुटिसकेका छन् ।

उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेतसहितका शीर्ष नेताहरू नै पराजित हुन सक्ने नतिजा देखिएको छ । गत चुनावमा पाँच दलीय गठबन्धनविरुद्ध एक्लै चुनाव लड्दा पनि एमालेले देशभरबाट प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो । समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएर पहिलो नै भएको थियो । तर यसपटक एमालेले ठूलो क्षति बेहोरेको छ ।

एक दर्जन बढी दल एकीकरण गरेर बनेको नेपाली कम्युनिष्ट पार्टीको नतिजा पनि एमालेको जस्तै छ । अहिलेसम्मको गणनामा नौ स्थानमा अग्रता बनाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट विजयी भइसकेका छन् । सहसंयोजक माधवकुमार नेपाल भने रौतहटमा निकै कमजोर देखिएका छन् । रोल्पामा वर्षमान पुन, अछाममा भीमबहादुर रावललगायत केही शीर्ष नेताले भने अहिलेसम्म अग्रता कायम राखेका छन् ।

 

कर्णालीमा कसको अग्रता ?

कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । मतगणना भइरहेकामध्ये तीन वटा क्षेत्रमा कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । शुक्रवार राति यो समाचार तयार पार्दासम्म सुर्खेतको क्षेत्र नंं. १ मा विष्णुबहादुर खड्का, दैलेख–१ बासना थापा र जाजरकोटमा खडकबहादुर बुढा अग्रतामा छन् । उनीहरू तीनैजना कांग्रेसका उम्मेदवार हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाहीले कालीकोट र रमेशकुमार मल्लले सल्यानमा सुरुवातदेखि नै अग्रस्थान कायम राखेका छन् ।

दैलेखको क्षेत्र नं. २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल अगाडि छन् । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले पनि मतगणनाको सुरुवातदेखि नै अग्रता बनाइरहेका छन् । सुर्खेतको क्षेत्र नं. २ मा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेशकुमार सापकोटा अगाडि छन् । रूकुम–पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले अग्रता बनाइरहेका छन् ।

हुम्लामा शुक्रवार राति ढिला गरेर मतदान सुरु गरिएको छ । डोल्पामा पनि रातिबाटै गणना थालिएको हो । मुगुमा भने मतपत्र संकलनमै ढिलाइ हुँदा गणना भइसकेको छैन । शनिवार बिहानदेखि गणना गर्ने तयारी भइरहेको छ ।

 

समानुपातिकको नतिजा कहिले?

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशका अधिकांश क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना भइरहेको छ । केही क्षेत्रमा भने प्रत्यक्षतर्फको गणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका क्षेत्रमा समानुपातिकतर्फको गणना पनि सुरु गरिएको छ ।

प्रत्यक्ष प्रणालीबाट एक सय ६५ सदस्य निर्वाचित हुन्छन् भने सिँगो देशलाई एक निर्वाचन क्षेत्र मानिएको समानुपातिक प्रणालीबाट एक सय १० जना प्रतिनिधिसभाका लागि चुनिन्छन् । निर्वाचन आयोगले पहिले प्रत्यक्षतर्फको मत गणना अघि बढाएको छ । प्रत्यक्षतर्फ गनिसकेपछि समानुपातिकतर्फको गणना सम्बन्धित क्षेत्रमै गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘हरेक जिल्लामा प्रत्यक्षतर्फको गणना सकेपछि समानुपातिकको गनिनेछ । अन्तिम विवरण एकैपटकमा आउँछ’ उनले भने ।

बिहीवार भएको मतदानमा देशभर ५८.७ प्रतिशत मत खसेको छ । समानुपातिकमा पनि प्रत्यक्षमा जति नै मत खसेको आयोगका प्रवक्ता भट्टराईले बताए । ‘प्रत्यक्ष र समानुपातिक दुवैतर्फ बराबर संख्यामा मत खसेको हाम्रो अनुमान छ ।’ उनले भने । उनका अनुसार समानुपातिकको परिणाम आउन करिब एक साता लाग्ने अनुमान छ । ‘प्रत्यक्षतर्फको सबै परिणाम तीन दिनभित्रमा आइसक्छ’ भट्टराईले भने, ‘समानुपातिकको परिणाम आउन एक साता लाग्न सक्छ ।’

समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ वटा चुनाव चिन्हमा ६३ वटा राजनीतिक दलले तीन हजार एक सय ३५ जना उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका छन् । तीमध्ये खसेको सदर मतको कम्तीमा तीन प्रतिशत थ्रेसहोल्ड मत पार गर्ने दलका उम्मेदवार समानुपातिक समावेशी विधिबाट विजयी हुनेछन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ ले छुट्याएको ६ वटा समावेशी समूहबाट उम्मेदवारहरू चुनिनेछन् ।

प्रकाशित मितिः   २३ फाल्गुन २०८२, शनिबार ०५:०५