दम्भको दलदल
सिद्धान्त आदर्श र विचारले विपरीत ध्रुवका दुई पार्टी कांग्रेस र एमालेको गठबन्धनबाट खड्ग प्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदा जनतामा आक्रोश चुलिरहेको थियो । विपक्ष विरोधी र अन्य आलोचकप्रति असहिष्णु बन्दै गएका ओलीले तोप हाने पनि १७ महिना आफ्नो सरकार ढल्दैन भनी दुईतिहाई संसदीय गणितको अहंकार गरिरहेका थिए । ओली सरकारको शैली र रवैयाले आजित जेन–जी पुस्ताले सामाजिक सञ्जाल बन्दको विरुद्ध आन्दोलन छेड्यो । सरकारले १९ जना युवाको रगत बगाएको भोलिपल्ट कतै थामी नसक्नुको आन्दोलनबाट तोडफोड कतै कुटपिट र आगजनी मात्रै भएन खड्ग ओलीको ठूलो अहंकार पनि भत्कियो । कुनै दिन संसद्मा राप्रपाका अध्यक्षले हेलिकप्टर चढेर भाग्ने दिन आउलानी भन्दै कटाक्ष गर्दा बुढो भएँ कतै भाग्दैन भनी व्यंग्यात्मक जवाफ दिएका ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै ज्यान जोगाउन हेलिकप्टर नै चढेर भाग्नुपर्ने अवस्था आयो । यदिपाँच मिनेट मात्रै ढिलो गरेको भए मलाई मार्ने रहेछन् भनी सार्वजनिक रूपमा ओलीले स्वीकारी सकेका छन् ।
संविधानमा टेकेर हो कि संविधानलाई छेकेर हो पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा जेन–जी सरकारको निर्माण भयो । भ्रष्टाचारका बन्द फाइलहरू एक–एक खोलेर कारबाही गरिने छ भन्ने ढंगबाट गृहमन्त्री ओम प्रकाश अर्यालले धमास दिए तर केही उपती परेन । भ्रष्टाचारको मामिलामा आफ्नै स्वर्गीय बाबुलाई पनि छोड्दैन भन्दै गृहमन्त्रीको भन्दा ठूलो गर्जन आयो प्रधानमन्त्रीको तर अहँ दाल गल्न सकेन ।
त्यस्तो किन भयो ? किनभने पूर्णरूपेण सत्ता यो सरकारको हातमा आइरहेको थिएन । भागबण्डामा क–कसले सरकारी निकायहरूमा कसलाई पु¥याएका थिए र तिनले आन्दोलनबाट निर्मित कार्की सरकारलाई कसरी असहयोग गरे भन्ने प्रसंगमा व्याख्या गर्दा यो लेख लामो हुन जान्छ । त्यसर्थ एउटा उदाहरणमा छोटो चर्चा गर्न वाञ्छनीय हुन्छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भयो । आयोगले तत्कालीन प्रहरी प्रमुखसँग कसरी गोली चलेर त्यति मान्छेको ज्यान गएको हो भन्ने सम्बन्धमा पत्राचार गर्दा प्रतिउत्तरको शैली र मिजास कस्तो प्रकारको थियो भन्ने कुरा सबैलाई अवगत छ । कसैको भित्री संकेतमा आयोगलाई त्यसरी अन्टसन्ट जवाफ दिइएको होला भन्ने कुरामा जनतालाई अवश्य शंकाको सुविधा हुन्छ ।
हेलिकप्टरबाट अन्तध्र्यान भएका खड्ग ओली हप्तादश दिनपछि भक्तपुरको गुण्डुमा प्रकट भए । गुण्डुबाट ओलीले दिनप्रतिदिन कार्की चुनौती मात्रै दिएका थिएनन् आफूलाई कारबाही गरेर देखाउन पनि सरकारलाई बारम्बार लल्कारी रहेका थिए । एमालेको महाधिवेशनमा यो सरकारले अब प्रहरीलाई पनि एमाले देख्न थाल्यो भनी खिसिट्युरी गर्दा ओली मखलेल भएका थिए । आफ्नै निकायबाट सहयोग नपाएका कारण सरकार लाचार जस्तै भैरहेको थियो । तब सरकारले जनताको आशा र आकांक्षालाई नै थाती राखेर निर्वाचन सफल पार्ने एक मात्रै उद्देश्यमा अगाडि बढ्यो । कसले दियो तपाईंलाई चुनाव गराउने अधिकार ? चुनाव गर्ने को हो तपाईं ? सरकारबाट तपाईं हट्नु पर्छ, नभए हटाइने छ भन्ने ढंगबाट हुंकार हालेका थिए ओलीले । उनकै प्रपञ्चबाट संसद् पुनर्गठनका लागि सर्वोच्च अदालतमा मुद्दा परिसकेको थियो । सायद न्यायाधीशहरूमाथि भरोसा पनि थियो कि तब त अदालतले फैसला गर्न किन ढिलो गरेको भन्ने प्रश्न मात्रै उठाइएन न्यायाधीशले बिरामीको बहाना गर्दै मोबाइल फोनसमेत स्वीचअफ गरे भन्ने आसयबाट पनि आरोपित गरियो ।
सरकार अविचलित भइ निर्वाचन सम्पन्न गर्ने कार्यमा मात्रै अग्रसर हुन थाल्यो । रास्वपा सभापति रवि लामिछानेलाई अदालतले धरौटी जमानीमा रिहा गरेपछि हतारमा ओलीले दोस्रोपटक तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेट गरे । त्यसपछि ओलीको बोली निर्वाचनका सवालमा मत्थर हुँदै गयो । देउवा ओलीका बीच गोप्य भेटको भेद जानेका तत्कालीन महामन्त्री गगन थापाले निर्वाचन अघि कसैसँग कांग्रेसले गठबन्धन गर्दैन भन्न थाले । कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएपछि देउवाभन्दा ओली मुर्मुरिन थाले, किन कि गठबन्धनका नाममा स्वार्थसिद्ध हुन नसक्ने अवस्था सिर्जना भयो । गठबन्धनका लागि ओलीले नेपाली कम्युनिष्टका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल र देउवासँग ललितपुरको हात्तीवनमा भेट गरेको खबर मिडियामा आयो । त्यो भेटबाट पनि ओलीलाई निराशा नै हात लाग्यो । चुनाव वैशाखसम्म सार्नका लागि प्रधानमन्त्री कार्कीसँग ओलीले बालुवाटारमा दुई घण्टा वार्ता गरेको कुरा तात्तातै सार्वजनिक भयो । चुनाव सार्न सरकारले अस्वीकार गरेपछि ओलीसँग फागुन २१ गतेको चुनावलाई स्वीकार्नुको विकल्प नै रहेन । हिजो निरंकुशताका विरुद्ध आन्दोलन गर्ने र दबाउने दुर्गा प्रसाईं र ओलीबीच वैरभाव थियो र त्यही वैरभावले पानी बाराबार सम्मको अवस्था सिर्जना भएको थियो । भक्तपुरमा मध्यराति ओली र प्रसाइँको भेटभएको खबर पनि मिडियामा आयो । त्यो भेटलाई के सामान्य रूपमा लिन सकिन्छ ? त्यो रहस्य उजागर नहुँदासम्म प्रश्न गम्भीर भैरहेको छ ।
निर्वाचनमा जानैपर्ने बाध्यकारी अवस्था आएपछि चुनावी वातावरण तयार पार्नका लागि ओलीले देशभर आफ्ना सबै कार्यकर्तालाई सम्बोधन गर्दै सक्रिय हुनका लागि सामाजिक सञ्जालमार्फत पत्राचार गरे । भदौ २३ गते गोली चलाउन आफूले आदेश नदिएको भनी ओलीले सार्वजनिक गरेको खबरमा पाठकका अनेकन टिप्पणी आए । करिब पाँच महिनापछि आएको दाबीलाई ओलीले पुष्टि गर्दै भन्छन् ‘म ढुक्क थिएँ किन कि जाँचबुझ आयोगले छानबिन गरेको प्रतिवेदन सार्वजनिक भएपछि म विरुद्ध लगाइएका सबै आरोप झुठा सावित हुनेछन् ।’ त्यही जाँचबुझ आयोगलाई होइन ओलीले म बयान दिन्न टेर्दैन सक्छौँ भने गोली हान भनी दिनदिनै अपमान गरेको ? जनतालाई झुक्याउनका लागि कतिसम्म विरोधाभास कुरा गर्न सकेको । तर जनतालाई थाहा छँदैछ चुनाव नजिक आएकोले जाँचबुझ आयोगलाई सिरानी हाली भोट समेट्नका लागि भ्रम फैलाउँने नयाँ उपाय निकालिएको हो ।
झापाबाट काठमाडौं फर्कंदा विमानस्थलमा प्रहरीले ओलीलाई सुन तस्करको तहमा चेकजाँच गरेर दुःख दिएको भन्ने कुराले सहानुभूति बटुल्न खोजेका हुन कि सरकारलाई थप खुइल्याउन चाहेका हुन थाहा भएन । तर यति एअरलाइन्स र विमानस्थलले विज्ञप्ति जारी गर्दै ओलीमाथि कुनै चेकजाँच नभएको कुरा सार्वजनिक ग¥यो । शिवरात्री तथा सेना दिवसका दिन अमेरिकी सेना आएर टुँडिखेलमा परेड खेल्यो भनी सामाजिक सञ्जालमा मात्र खैलाबैला भएन ओलीले पनि कडा विरोध गरेको कुरा सतहमा आयो । त्यसपछि सेना बोल्न बाध्य भयो । नेपालमा सेना दिवसका बेला नियमित रूपमा आयोजना गरिने समारोहमा अरु देशका सेनाको ब्यान्ड टिमले मैत्री सहभागिता जनाउने गरेको छ । भर्खरै भारतको सेना दिवसमा नेपाली ब्यान्ड पनि यसैगरी गएको थियो । यसो भन्दै नेपाली सेनाले भ्रम नपर्न आग्रह गरेको छ । विगतमा ओलीले सरकारको नेतृत्व लिँदै गर्दा पनि त्यसरी नै अमेरिकी सेनाले परेड खेलेको तथ्य भेटिन पुग्यो । किन ओलीले भ्रममा खेल्न खोजेका छन् भन्ने कौतुहलता बढ्दै गएको छ ।
झापा क्षेत्र नं. ५ बाट कुनै पार्टीसँग गठबन्धन गरेर वा नगरेर ओलीले पटकपटक भारी मतले जित निकाली रहेका थिए । त्यहाँ उम्मेदवारी दर्ता गराएपछि चुनावी सभाको आयोजना हुन्थ्यो । सभालाई सम्बोधन गर्दै ओली हेलिकप्टर चढेर देश दौडाहामा जान्थे एमालेका अन्य उमेदवारहरूले जित्ने माहोल बनाउन । यस पटक बालेनले ओलीलाई झापामै अल्झाएर आफू देश दौडाहामा निस्किरहेका छन् । जेन–जी आन्दोलन पछि धरातल भत्किएको हुँदा त्यसलाई मजबुत पार्न ओली घरदैलो गरिरहेका छन् । घरदैलोमा उनले जनताको तिखा र धारिला प्रश्नको सामना गर्न हम्मेहम्मे परिरहेको छ । एउटा सार्वजनिक छलफलमा दमकको भ्यूटावरलाई बिजनेस टावर भनी उनले व्याख्या गरे पनि हालसम्म त्यसको कुनै उपादेयता नभएको हुँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले भ्यूटावरको सट्टा सबै ठाउँमा फोन लाग्ने र टिप्ने टेलिफोन टावरको आवश्यकता थियो भन्ने भनाइ राखे । दर्शक श्रोताले त्यसको सट्टा कन्काइ नदीको पुल निर्माणमा प्राथमिकता दिएको भए जनतालाई सुविधा हुने थियो भन्दै स्पष्ट शब्दमा विरोध जनाए ।
दाङमा गत शुक्रवार एमाले पार्टीको झण्डा जलाइएपछि रास्वपा विरुद्ध एमाले जंगिएको छ । कसैको झण्डा कोही कसैले जलाउन पाइँदैन, जलाउनेलाई पहिचान गरि कानुन कारबाही गर्नुपर्छ भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन ।
यसमा निर्वाचन आयोगको पनि ध्यानाकर्षण भएर सम्बन्धित पार्टीलाई स्पष्टीकरण सोधिएको खबर मिडियामा आएको छ ।
कानुनी प्रक्रियाबाटनै टुँगो लाग्न सक्ने विषयलाई जिम्मेवार पार्टीले उचालेर देशव्यापी बनाइहाल्नु पनि वाञ्छनीय हुँदैन भन्ने लाग्छ । किन कि यसले गर्दा चुनाव बिथोल्न खोजिएको भन्ने गम्भीर आरोपको सामना गर्नुपर्ने पनि हुनसक्छ । त्यसो भएर प्रतिस्पर्धाका लागि आवेगको बदला आक्रोशमा होइन पार्टीहरूले संयमता अपनाउनु पर्छ ।
ओलीले सार्वजनिक गरेको घोषणापत्रमा गत २३ र २४ गते भदौमा भएको जेन–जी आन्दोलनपछि आलोचित हुँदै आएको एमालेले जेन–जी युवालाई लक्षित गर्दै १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने कुरा उल्लेख गरेको छ । हिजो विरोध खेप्न नसकेर सामाजिक सञ्जालमा बन्देज लगाउँदै जेन–जीलाई आन्दोलनमा धकेलिदिएका ओलीले फेरि आज जेने–जीलाई लक्षित गरी निःशुल्क डाटा दिने भन्ने विवादास्पद कुरामा जनताले के कसरी विश्वास गर्ने ? मलाई भोट दिनुस सामाजिक सञ्जाल बन्द गरिदिन्छु र १० जीबी डाटा सित्तैमा दिन्छु भनी सामाजिक सञ्जालमा नै ओलीलाई व्यङ्गय र कटाक्ष गरिएको छ । ओली निरन्तर एकपछि अर्को विवादमा पर्दै गइरहेका छन् र आफ्नो दम्भको दलदलमा आफै फसिरहेका छन् । उनी त्यो दललदमा सबै चुर्लुम्म डुब्छन् कि सजिलै उम्कन्छन् भन्ने कुराको सर्वत्र चासो छ । यसको फैसला नजिक आइरहेको फागुन २१ ले गर्ने नै छ ।
-उमालाल आचार्य
प्रकाशित मितिः १० फाल्गुन २०८२, आईतवार १५:००

उमालाल आचार्य ।