सम्भावनाको ढोका
आइसीसी टि–२० विश्वकपअन्तर्गत नेपालले समूह चरणमा चार खेल्यो । चारमध्ये तीन खेलमा पराजित हुँदा एउटा मात्रै जित हात पा¥यो । अन्तिम खेलमा स्कटल्याण्डलाई पराजित गरेर विश्वकप टुँग्यायो । स्कटल्याण्डसँगको जित नेपालका लागि विश्वकपमा १२ वर्षपछि पाएको सफलता थियो । सन् २०१४ मा अफगानिस्थानलाई हराएयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन । त्यसैले पनि यो जित नेपालका लागि महत्वपूर्ण रह्यो । यद्यपि, नेपालका लागि यो विश्वकपको नतिजा सुखद हुन सकेन । विश्वपकमा सहभागी हुनुअघि नेपाली क्रिकेटप्रेमीहरूले आफ्नो देशको टिमबाट जुन खालको नतिजा अपेक्षा गरेका थिए, त्यो पूरा हुन सकेन ।
नेपालका लागि यो तेस्रो विश्वकप हो । सन् २०१४ मा पहिलो पटक टि–२० विश्वकप खेलेको नेपालले त्यसको दश वर्षपछि दोस्रो विश्वकप खेल्यो भने यसपटक तेस्रो विश्वकप सहभागिता थियो । यसपटक नेपाली टिमसँग अपेक्षा पनि धेरै थिए । पछिल्लो समय नेपालको प्रदर्शन राम्रो हुनुले पनि टिमसँग अपेक्षा बढ्नु स्वभाविक थियो । त्यसमाथि टेस्ट मान्यताप्राप्त वेस्ट इण्डिजसँगको श्रृंखला नै जितेपछि नेपाली खेलाडीहरूको मनोबल पनि उच्च देखिएको छ । त्यही मनोबल नेपालले विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध देखायो । मुम्बइको मैदानमा अघिल्लो टि–२० क्रिकेट विश्वकप विजेता इङ्ल्यान्डविरुद्ध नेपाली टोलीले गरेको प्रदर्शनले विश्व क्रिकेटलाई तरंगित बनायो । भलै नेपाल चार रनले हार्न पुग्यो । तर विश्व क्रिकेटको शक्तिराष्ट्रसँग नेपाली प्रदर्शन उच्चस्तरको थियो । त्यसैले पनि नेपाललाई सुपर–८ मा पुग्न सक्ने टोलीका रूपमा हेरिएको थियो । तर पहिलो खेलमा उच्चस्तरको प्रदर्शन गरेको नेपाल दोस्रो खेलमा आफूभन्दा कमजोर टोलीसँग पराजित हुन पुग्यो । जसले नेपाललाई सुपर–८ मा पुग्ने बाटोमा अवरोध पु¥यायो । वरीयतामा आफूभन्दा नवौं स्थान तल रहेको इटालीसँग अप्रत्याशित १० विकेटको हार नेपालका लागि अपेक्षित नतिजा थिएन । समूहअन्तर्गतको तेस्रो खेलमा पनि नेपाली टोलीले लय समात्न सकेन । पूर्वविश्वविजेता वेस्टइन्डिजसँग नौ विकेटको फराकिलो हार बेहो¥यो । फलस्वरूप, समूहको अंकगणितीय आधारमा नेपालको विश्वकपको यात्रामा पूर्णविराम लाग्यो ।
नेपालले समूहको आफ्नो अन्तिम खेलमा पुनरागमन गर्दै स्कटल्यान्डविरुद्ध सात विकेटको सान्त्वना जित निकालेर विश्वकप यात्रालाई टुंग्यायो । तेस्रो पटक विश्वकपमा सहभागी नेपालको १२ वर्षपछिको पहिलो सफलताले धेरथोर खुसी दिएपनि सुपर–८ पुग्न सक्ने सम्भावना सदुपयोग गर्न नसक्दा समर्थकहरूमा निराशा देखियो । यद्यपि, नेपाली क्रिकेटले सम्भावनाको नयाँ–नयाँ ढोका भने खोल्दै गएको छ । मैदानभित्र खेलाडीहरूको जुझारु प्रदर्शनले होस् या मैदानबाहिर समर्थकहरूको उपस्थितिले विश्वक्रिकेटको ध्यान आफूतिर तानेको छ ।
प्रकाशित मितिः ८ फाल्गुन २०८२, शुक्रबार ११:३१
सम्पादकीय ।