उम्मेदवारका ५ एजेन्डा

नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि झकबहादुर मल्ल ‘सुदिप’लाई उम्मेदवार बनाएको छ । माओवादी जनयुद्धमा सुरुवातदेखि नै होमिएका उनी पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
पश्चिम सुर्खेतको बराहतालमा जन्मिएर वीरेन्द्रनगरमा हुर्किएका उनी वीरेन्द्रनगरलाई आधुनिक नेपालको समृद्ध शहरको रुपमा विकास गर्ने र पश्चिम सुर्खेतका तीनवटै पालिकालाई सन्तुलित विकासद्वारा समुन्नत बनाउने एजेन्डा बोकेर मतदातामाझ पुगिरहेका छन् । ‘उम्मेदवारको पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले मल्ललाई विभिन्न पाँच वटा विषयमा केन्द्रित रहेर उनको योजना र प्राथमिकता के छन् भनी सोधेका छौँ । प्रस्तुत छ, उनको जवाफ जस्ताको त्यस्तैः

 पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?

पूर्वाधार विकास गरेर योजनागत रूपमा पश्चिम सुर्खेतलाई सुविधा सम्पन्न गर्ने योजना छ । पूर्व–पश्चिम सडक निर्माणको काम प्राथमिकतामा राखेको छु । उक्त सडक निर्माण भए पश्चिमका नागरिकलाई सहज हुनेछ । पश्चिम सुर्खेतकै उत्तर–दक्षिण सडक निर्माण पनि प्राथमिकतामा छ । मैले यी सडक निर्माणको काम मात्र सम्पन्न गरेर सञ्चालनमा ल्याए पश्चिमका नागरिकले कुनै सास्ती भोग्नुपर्ने छैन ।

सुर्खेत विमानस्थल विस्तारको कामलाई अघि बढाउने योजना निर्माण गरेको छु । रत्न राजमार्ग स्तरोन्नतिको काम अघि बढाउने छु । मदन भण्डारी राजमार्गको कामलाई गतिमा अघि बढाउन पहल थाल्नेछु । अपर कर्णाली हाइड्रोपावर, बेतन कर्णाली हाइड्रोपावर, कर्णाली चिसापानी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन पहल थाल्नेछु । पश्चिम सुर्खेतमा निर्माण थालिएका चौकुने र लखरपाटा सिमेन्ट उद्योगलाई अघि बढाउनका लागि मेरो पहल रहनेछ । पश्चिम सुर्खेतमा निर्माण थालिएका सहायक सडक निर्माणको कामलाई सञ्चालन तथा निर्माण सम्पन्न गर्ने योजना बनाएको छु । पालिका–पालिकामा खेलमैदान निर्माणको कामलाई अघि बढाउनेछु । निर्माण थालिएका तथा अलपत्र रूपमा रहेका सरकारी भवनहरूको खोजी गरी निर्माण प्रक्रिया अघि बढाउनेछु ।

 

 शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?

शिक्षामा डिजिटल क्रान्ति आवश्यक छ । रोजगारमूलक आइटी प्रविधिमा आधारित शिक्षा विकास गर्ने योजना बनाएको छु । प्रत्येक पालिकामा एउटा आइटी कलेज स्थापना गर्ने, प्राविधिक शिक्षाअन्तर्गतका कलेजका शाखा विस्तार गर्ने योजना रहेको छ । विद्यालयमा रोजगारीमूलक शिक्षा लागू गर्ने योजना बनाएको छु । प्राथमिक तहको शिक्षालाई सीप तथा रोजगारीसँगै जोडेर पाठ्यक्रममै लागू गर्ने, बालबालिकाको पोषणामा सुधार गर्ने, विद्यालय खाजा कार्यक्रमलाई प्रभावकारी बनाउने, शैक्षिक क्षेत्रलाई चलायमान बनाउन सामुदायिक विद्यालय सुधारको योजना कार्यान्वयन गर्ने योजना बनाएको छु । विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रममा जोड दिने, प्रयोगात्मक शिक्षामा जोड दिनेगरी शिक्षा क्षेत्रमा काम गर्नेछु ।

गाउँ–गाउँमा प्रभावकारी रूपमा आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने अपरिहार्य छ । स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि दरबन्दी मिलान तथा आवश्यकताका आधारमा स्वास्थ्य सेवा विस्तारका कार्यक्रम राखिएको छ । सुर्खेत मेडिकल कजेल स्थापना गर्ने, प्रदेश अस्पतालका सेवालाई थप प्रभावकारी बनाइनेछ ।

 

 रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?

कृषिमा प्रविधिको प्रयोगमा जोड दिने खालका कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको छु । साना तथा मझौला उद्योग स्थापना गर्ने, मेगा प्रोजेक्टलाई अघि बढाउन पहल थाल्ने, सिँचाइ तथा खानेपानीको उपलब्धता गराउनेगरी योजना अघि बढाएको छु । पर्यटकीय विकासमार्फत रोजगारी र आर्थिक अवसर सिर्जना गर्न सकिने भएकाले पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिनेछु । लघु उद्योग विकास तथा विस्तार गर्ने त्यसका लागि अनुदानका कार्यक्रममा जोड दिने योजना बनाएको छु । पश्चिम सुर्खेतमा सञ्चालित ठूला उद्योगहरू सम्पन्न गरी स्थानीयलाई घर आगनमा रोजगारी प्रदान गर्नेगरी योजना निर्माण गरेको छु ।

 

 सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?

२०४६ सालयता सरकारी उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन मेरो ठोस भूमिका रहनेछ । सुशासन र व्यवस्थापनलाई सुदृढीकरण गर्ने, कोष तथा पूर्वाधार वृद्धि गर्ने, अनुसन्धानको दायरा फराकिलो पार्ने मेरो योजना रहेको छ । भष्ट्राचार नियन्त्रण गर्ने, जनजीविकाको सवाललाई प्रमुख सवाल बनाउने योजना छ । नागरिकलाई सेवा प्रवाहमा हुने झन्झटिलो प्रक्रियालाई सहज बनाइ नागरिक मैत्री सेवा प्रवाहमा जोड दिने योजना बनाएको छु ।

 

 नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?

शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, विद्युतीकरण र सञ्चारजस्ता क्षेत्रलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्छ । पूर्वाधार निर्माणमा राज्य गम्भीर बन्नुपर्छ । नागरिक सेवा प्रवाहको काम गुणस्तरीय, भरपर्दो, प्रभावकारी तथा सेवामूखि बन्नुपर्दछ । जसले गर्दा सेवा विश्वसनिय बन्छ ।

प्रकाशित मितिः   ७ फाल्गुन २०८२, बिहीबार १६:४०