चुनावी अंकगणित २०७९ लाई फर्केर हेर्दा: कर्णालीमा कसको पल्ला भारी ?
सुर्खेत: फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन आउन अब एक महिनाभन्दा पनि कम समय मात्रै बाँकी छ । दश जिल्ला र १२ निर्वाचन क्षेत्र भएको कर्णाली प्रदेशमा यसपटक कसको पल्ला भारी होला ? निर्वाचनको नतिजालाई लिएर आम चासो देखिएको छ । १२ सिटमा एक सय ३१ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।
विगतका चुनावी नतिजालाई हेर्ने हो भने नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) कर्णालीका तीन प्रमुख राजनीतिक शक्ति हुन् । त्यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरू पनि चुनावी प्रतिस्पर्धामा छन् ।
पछिल्लो पटक २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा कांग्रेस र तत्कालिन माओवादीले समान चार÷चार सिटमा जित हात पार्दा तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको थियो । त्यतिबेला यि तीन दलले गठबन्धन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जितेका थियो । एमाले भने नतिजाशून्य हुन पुगेको थियो ।
आगामी निर्वाचनका लागि ठूला दलहरूबीच गठबन्धन छैन । त्यसैले पनि यसपटक कर्णालीमा सक्रिय राजनीतिक दलहरूको शक्ति परीक्षण हुने आँकलन गरिएको छ । नयाँ राजनीतिक दलहरू उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतले पनि कर्णालीमा उम्मेदवारी दिएका छन् । यसले कर्णाली प्रदेशको चुनावी माहोल थप रोचक बनेको छ ।
सल्यान जिल्लामा १४ जनाको उम्मेदवारी परेको छ । अघिल्लो पटकको चुनावमा तत्कालीन नेकपा एसका प्रकाश ज्वाला ३५ हजार सात सय सात मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १९ हजार सात सय ९२ मत पाएका थिए ।
रुकुमपश्चिममा तत्कालीन माओवादीका जनार्दन शर्मा प्रभाकरले ३९ हजार पाँच सय ४९ मत पाएर निर्वाचित भएका थिए । एमालेमा नन्दराम देवकोटा १२ हजार नौ सय ६२ मत पाएका थिए । यसपटक पनि शर्मासहित १२ जनाको उम्मेदवारी परेको छ ।
दैलेखमा दुईवटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नं. १ मा १० जनाको उम्मेदवारी पर्दा क्षेत्र नं. २ मा ११ जनाको उम्मेदवारी परेको छ । अघिल्लो पटकको चुनावमा दैलेख–१ बाट तत्कालीन नेकपा एसका अम्मरबहादुर थापा १८ हजार दुई सय ९७ मतका साथ विजयी हुँदा एमालेका रविन्द्रराज शर्माले १७ हजार चार सय ४५ मत पाएका थिए । क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका दिक्पाल शाही २० हजार एक सय ८३ मतका साथ विजयी भएका थिए भने एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत पाएका थिए ।
सुर्खेतमा पनि दुईवटा निर्वाचन क्षेत्र छन् । सुर्खेत १ बाट १३ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं. २ बाट १७ जनाको उम्मेदवारी परेको छ । २०७९ को चुनावमा सुर्खेत–१ बाट नेपाली कांग्रेसका पुर्णबहादुर खड्काले ४२ हजार ६ सय सात मतका साथ बाजी मार्दा निकटतम् प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार नौ सय ८८ मत पाएका थिए । सुर्खेत–२ मा कांग्रेसकै हृदयराम थानीले ३४ हजार ६ सय २५ मतका साथ जित हात पारेका थिए । एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत पाएका थिए ।
हुम्लामा अघिल्लो पटक माओवादी केन्द्रका छिरिङ डम्डुल लामा विजयी भएका थिए । उनले १४ हजार तीन सय ७१ मतका साथ बाजी मारेका हुन् । एमालेका दल रावलले नौ हजार पाँच सय १६ मत पाएका थिए । फागुन २१ को चुनावका लागि सात जनाको उम्मेदवारी परेको छ ।
एउटा निर्वाचन क्षेत्र रहेको डोल्पामा नौ जनाको उम्मेदवारी परेको छ । गत चुनावमा तत्कालिन नेकपा (एकीकृत समाजवादीका) धनबहादुर बुढाले ११ हजार दुई सय ९२ मत प्राप्त गर्दै बाजी मार्दा एमालेका गणेशबहादुर शाहीले पाँच हजार पाँच सय पाँच मत पाएका थिए ।
२०७९ को चुनावमा मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाहीले १४ हजार सात सय ६ मत पाएर निर्वाचित भए । एमालेका राजबहादुर कार्कीले १० हजार सात सय १० मत प्राप्त गरेका थिए । यसपटक सात जनाको उम्मेदवारी परेको छ ।
जुम्लामा दश जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । अघिल्लो चुनावमा राप्रपाका ज्ञानबहादुर शाहीले बाजी मारेका थिए । शाहीले २२ हजार आठ सय १९ मतका साथ जित हासिल गर्दा तत्कालीन माओवादीका गोमा गौतम कुँवरले ११ हजार नौ सय ५९ मत पाएकी थिइन् ।
कालीकोटबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही चुनाव लड्दैछन् । २०७९ मा पनि शाहीले २३ हजार सात सय २७ मत पाएर निर्वाचित भएका थिए । एमालेमा नगिन्द्र शाहीले १६ हजार सात सय १८ मत पाएका थिए ।
गत चुनावमा जाजरकोटबाट पनि माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका थिए । बस्नेतले ३२ हजार एक सय ५१ मतका साथ बाजी मार्दा प्रतिद्वन्द्वी एमालेका निरजप्रसाद आर्चाय २५ हजार एक सय २० मत पाएका थिए ।
प्रकाशित मितिः २३ माघ २०८२, शुक्रबार १०:०३
साझा बिसौनी ।