वन्यजन्तुको त्रास
कर्णाली प्रदेशका ग्रामीण बस्तीहरू वन्यजन्तुबाट प्रताडित हुँदै आएका छन् । बालीनालीमा क्षति पु¥याउनेदेखि मानिसहरूलाई आक्रमण गर्नेसम्मका घटनाले जंगली क्षेत्र आसपासका बस्तीमा त्रास फैलिएको छ । पछिल्लो समय त एकपछि अर्को गर्दै मानिसहरू वन्यजन्तुको आक्रमणमा पर्न थालेका छन् । हालै मात्र दैलेख जिल्लाको आठबिस नगरपालिका–८ स्थित उकाली मोडमा जंगली बँदेलको आक्रमणबाट स्थानीय ३० वर्षी दिपेन्द्र बडुवाल घाइते भएका छन् । घरबाट तिलेपाटा जाने क्रममा मंगलवार बाटोमा एक्कासी जंगली बँदेलले उनीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट बडुवालको हात, खुट्टा र छातीमा चोट लागेको छ । यो त पछिल्लो एक उदाहरण हो । त्यसअघि पनि कर्णालीका विभिन्न जिल्लाहरूमा स्थानीयबासी यसैगरी आक्रमणमा पर्दै आएका छन् ।
यसअघि १२ माघमा दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलकै आक्रमणबाट एक वृद्धको मृत्यु भएको थियो । अन्य दुई जना गम्भीर घाइते भएका छन् । महावु गाउँपालिका–५ कुटीमा आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । सोही क्षेत्रसँगै जोडिएको भैरवी गाउँपालिका–६ कुर्माकोटमा पनि बँदेलकै आक्रमणबाट दुई जना घाइते भएका थिए । घाइते हुनेहरूमा दीपक सिंजाली र निकेश सिंजाली रहेका छन् । दैलेखमा जंगली बँदेलको बिगबिगी हुँदा स्थानीयले लगाएको खेती मास्नेदेखि भौतिक आक्रमण गर्दा घरबाहिर हिँड्दा डर मान्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ । घरमै आएर बँदेलले आक्रमण गर्न थालेपछि मानिसहरू त्रसित बनेका छन् । बँदेलले मात्र होइन पछिल्लो समय बाघको आक्रमणसमेत बढिरहेको छ । आक्रमणबाट मानवीय क्षतिसमेत भइरहेको छ । सुर्खेतका दक्षिणी भेगका थुप्रै बस्ती बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । निकुञ्ज क्षेत्रका बस्तीमा पछिल्ला वर्षहरूमा बाघको आक्रमण बढेको छ । बाघको आक्रमणबाट नागरिकहरू घाइते हुनुका साथसाथै ज्यानै गुमाउने घटनासमेत भइरहेका छन् । जसका कारण बस्तीहरूमा बाघको त्रास बढेको छ । यो क्रम पछिल्लो समय अझ बढेको छ ।
यसरी एकपछि अर्को गर्दै बाघको आक्रमणबाट मानिसको ज्यान गएपछि निकुञ्ज क्षेत्र वरपरका बासिन्दा त्रसित बनेका छन् । पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको र मानिसहरूलाई आक्रमण गरिरहेको छ । जसका कारण निकुञ्ज क्षेत्रका नागरिकमा बाघको त्रास बढेको स्थानीयहरू बताउँछन् । निकुञ्ज आसपासका बस्तीहरूमा हरेक वर्षजस्तो मानिसहरू बाघका आक्रमण पर्ने गर्दछन् । कहिले गाईबस्तु त कहिले मानिस नै बाघबाट आक्रमणमा पर्ने गरेका हुन् । बाघको आक्रमणबाट केहीवर्षअघि भेरीगंगा नगरपालिका–५ गेरवानीमा दुई जनाको ज्यान गएको थियो । यसरी बर्सेनि रूपमा मानिसहरूलाई बाघले आक्रमण गरिरहेको छ ।
प्रकाशित मितिः २३ माघ २०८२, शुक्रबार ०५:०३
सम्पादकीय ।