वन्यजन्तुको बढ्दो आतंक
सुर्खेत: दैलेख जिल्लाको आठबिस नगरपालिका–८ स्थित उकाली मोडमा जंगली बँदेलको आक्रमणबाट स्थानीय ३० वर्षी दिपेन्द्र बडुवाल घाइते भए । घरबाट तिलेपाटा जाने क्रममा मंगलवार बाटोमा एक्कासी जंगली बँदेलले उनीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट बडुवालको हात, खुट्टा र छातीमा चोट लागेको छ ।
त्यसअघि १२ माघमा दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलकै आक्रमणबाट एक वृद्धको मृत्यु भएको थियो । अन्य दुई जना गम्भीर घाइते भएका छन् । महावु गाउँपालिका–५ कुटीमा आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । सोही क्षेत्रसँगै जोडिएको भैरवी गाउँपालिका–६ कुर्माकोटमा पनि बँदेलकै आक्रमणबाट दुई जना घाइते भएका थिए । घाइते हुनेहरूमा दीपक सिंजाली र निकेश सिंजाली रहेका छन् ।
पछिल्लो समय दैलेखमा जंगली बँदेलको बिगबिगी हुँदा स्थानीयले लगाएको खेती मास्नेदेखि भौतिक आक्रमण गर्दा घरबाहिर हिँड्दा डर मान्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ । घरमै आएर बँदेलले आक्रमण गर्न थालेपछि आफूहरू थप त्रसित बनिरहेको दुल्लू नगरपालिका–१० का दिपक थापाले बताए । उनले भने, ‘पहिले–पहिले बालीनाली मात्र खान्थ्यो अहिले बस्तीमै छिरेर आक्रमण गर्न थाल्यो, सरकारले बँदेल नियन्त्रणमा चासो दिनुपर्यो ।’
बँदेलले मात्र होइन पछिल्लो समय बाघको आक्रमणसमेत बढिरहेको छ । आक्रमणबाट मानवीय क्षतिसमेत भइरहेको छ । सुर्खेतका दक्षिणी भेगका थुप्रै बस्ती बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । निकुञ्ज क्षेत्रका बस्तीमा पछिल्ला वर्षहरूमा बाघको आक्रमण बढेको छ । बाघको आक्रमणबाट नागरिकहरू घाइते हुनुका साथसाथै ज्यानै गुमाउने घटनासमेत भइरहेका छन् । जसका कारण बस्तीहरूमा बाघको त्रास बढेको छ । यो क्रम पछिल्लो समय अझ बढेको छ । पुस २२ गते भेरीगंगा नगरपालिका–५ गेरुवानी क्षेत्रमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भयो । वडा नं. ५ गेरुवानीकी ५७ वर्षीय गंगादेवि सारुलाई बाघले आक्रमण गरेको थियो । बाघले महिलाको बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु पूर्णरूपमा खाएको अवस्थामा बाँकी शरीर फेला परेको थियो ।
यस्तै पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालिमाटी गाउँपालिका–७ की धनसरी रावतको पनि बाघकै आक्रमणबाट मृत्यु भयो । सल्यानको कालिमाटी, सुर्खेतको भेरीगंगाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । त्यसको तीन दिनपछि पुस २९ गते मंगलवार कालिमाटीकै ८ नम्बर वडामा घट्टमा पिठो पिस्न गएका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई बाघले आक्रमण ग¥यो । उनी घाइते भए । यसरी एकपछि अर्को गर्दै बाघको आक्रमणबाट मानिसको ज्यान गएपछि निकुञ्ज क्षेत्र वरपरका बासिन्दा त्रसित बनेका छन् । पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको र मानिसहरूलाई आक्रमण गरिरहेको छ । जसका कारण निकुञ्ज क्षेत्रका नागरिकमा बाघको त्रास बढेको स्थानीयहरू बताउँछन् ।
भेरीगंगामा एक महिलाको आक्रमण भइ मृत्यु भयो भने बाघले दुई वटा घर पालुवा गाई–गोरुलाई समेत आक्रमण गरेर मारेको छ । निकुञ्ज आसपासका बस्तीहरूमा हरेक वर्षजस्तो मानिसहरू बाघका आक्रमण पर्ने गर्दछन् । कहिले गाईबस्तु त कहिले मानिस नै बाघबाट आक्रमणमा पर्ने गरेका हुन् । बाघको आक्रमणबाट केहीवर्षअघि भेरीगंगा नगरपालिका–५ गेरवानीमा दुई जनाको ज्यान गएको थियो । यसरी बर्सेनि रूपमा मानिसहरूलाई बाघले आक्रमण गरिरहेको छ ।
जंगली जनावर बस्ती छिर्न थालेका छन् । जंगल डढेलोले उजाड भएपछि कतिपय जंगली वन्यजन्तु गाउँघरका झाँडीतिर लुकेर बसेको अवस्थामा भटिने गरेको स्थानीयको भनाइ छ । निरन्तर लागेको डढेलोले वन्यजन्तुले जंगलमा आफूलाई असुरक्षित ठानी गाउँ पस्ने गरेको मेलपानी सामुदायिक वन समितिका अध्यक्ष धीरेन्द्र सापकोटाले बताए । ‘मानवले वन्यजन्तुको घरमा असर पु¥याएपछि जंगली जनावर बस्तीतिर पस्नु स्वभाविकै हो, वन्यजन्तुले ज्यान जोगाउन बस्ती छिर्ने गरेको पाइयो, आहाराका लागि समेत उनीहरू बस्तीमा आउने गरेका छन् ।’ वनबाट बस्ती छिरेका वन्यजन्तुबाट बालिनाली जोगाउन र सिकारीबाट वन्यजन्तु जोगाउन निकै सकस भइरहेको उनले बताए ।
प्रकाशित मितिः २२ माघ २०८२, बिहीबार ०५:०५

साझा बिसौनी ।