जेन–जीको चुनावी परीक्षण

जेन–जी निश्चित उमेर समूह हो । यो पुस्ताका युवाहरूमा केही समान सोच विकास भएको मानिन्छ । संसारभरकै जेन–जीहरूमा देखिने यो समानता सामुहिक बन्दै जाँदा त्यसले विभिन्न मुलुकको राजनीतिक परिवर्तनमा समेत हस्तक्षेप गरेका उदाहरण छन्, त्यसमध्ये एक नेपाल पनि हो । गत भदौ २३ र २४ गते नेपालमा जेन–जी आन्दोलन भयो । दुई दिने आन्दोलनले नेपालको राजनीतिको तत्कालीन परिस्थितिलाई मात्रै बदलेन, अबको राजनीतिक भविष्यलाई समेत नयाँ कोणबाट हेर्न बाध्य बनायो । नागरिकहरूमा वर्षौंदेखि जमेर बसेको राज्यप्रतिको असन्तुष्टि र आक्रोश जेन–जी पुस्तामार्फत सडकमा पोखियो । यद्यपि, यसको स्वरूप भने अलिक अनपेक्षित थियो । जसले विध्वंश पनि ल्यायो । तथापी राजनीतिक र सामाजिक रूपमा यो आन्दोलनले नयाँ हलचल पैदा गरेको छ । जसको असर अहिले राजनीतिक दलहरू र फागुन २१ मा हुने चुनावमा देखिएको छ ।

त्यसो त यो चुनाव नै जेन–जी आन्दोलनकै कारण हुँदैछ । यो आन्दोलन नभएको भए प्रतिनिधिसभाको निर्वाचन २०८४ मा हुने थियो । तर आन्दोलनपछिको परिस्थिति जे बन्यो त्यसले दुई वर्षअघि नै निर्वाचन गर्नुपर्ने बनायो । सोहीअनुसार चुनावको तयारी धमाधम भइरहेको छ । उम्मेदवारी दर्तासमेत भइसकेको छ । जसलाई चुनाव हुने सुनिश्चितता भन्न सकिने अवस्था छ । अनेक संशयलाई चिर्दैै मुलुक चुनावयम भइरहँदा चुनावी मैदानमा पनि जेन–जी प्रतिनिधित्व बढेको छ । कतिपय राजनीतिक दलहरूले जेन–जी पुस्ताका युवालाई प्राथमिकताका साथ उम्मेदवार बनाएका छन् । कतिपयले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् । अब राज्यका निकायहरूमा यो पुस्ताको उपस्थिति र सहभागिताको सवाल पेचिलो बनेको छ । कर्णाली प्रदेशमा पनि केही जेन–जीहरू उम्मेदवार बनेर चुनावमा जाँदैछन् ।

यसपटक कर्णाली प्रदेशबाट ११ जना जेन–जी पुस्ताका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कर्णालीका दश जिल्लामा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र छन् । जहाँबाट १३ जना जेन–जी पुस्ताका उम्मेदवार छन् । यद्यपि, कर्णालीमा स्थापित ठूला राजनीतिक दलहरूले भने पाका–पुराना नेतालाई नै प्राथमिकता दिएका छन् । १३ जना जेन–जी उम्मेदवारमध्ये केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवार हुन् । ठुला भनिएका दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भने कर्णालीमा जेन–जी उमेर समूहका कसैलाई पनि उम्मेदवार बनाएका छैनन् । तथापी जेन–जी विद्रोहको जगमा हुन लागेको यो चुनाव सडकमा आक्रोश पोखिरहेका
जेन–जीहरूको राजनीतिक परीक्षा पनि हो ।

प्रकाशित मितिः   १४ माघ २०८२, बुधबार १४:११