सुर्खेतकी एक्ली महिला उम्मेदवार
सुर्खेत: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुर्खेतको दुईवटा निर्वाचन क्षेत्रबाट ३० जना उम्मेदवार छन् । तर एक दर्जन राजनीतिक दलका दुइ दर्जन बढी उम्मेदवारहरूको बीचमा तुल्छी खड्का एक्ली महिला उम्मेदवार हुन् ।
खड्का नेपाल मजदुर किसान पार्टीबाट निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार बनेकी छिन् । यो क्षेत्रबाट मात्रै १७ जनाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । जसमा १६ जना पुरुष छन् भने एक मात्र महिला उम्मेदवारको रूपमा तुल्छीले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
तुल्छी यसअघि २०७९ सालको निर्वाचनमा पनि प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवार बनेकी थिइन् । त्यतिबेला पराजित भइन् । तथापी उनी पुनः उम्मेदवार बनेकी छिन् । चुनावी नतिजाजस्तो आएपनि अन्य सबै दलहरूले महिलालाई उपेक्षा गरेको बेलामा आफ्नो उम्मेदवारीले मात्रै पनि ठूलो अर्थ र सन्देश दिने उनको बुझाइ छ ।
विगत दुई दशकभन्दा लामो समयदेखि तुल्छी राजनीतिमा सक्रिय छिन् । २०६२÷०६३ बाट नै उनी राजनीतिमा होमिएकी हुन् । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी उनले नेपाल क्रान्तिकारी महिला संघको जिल्ला अध्यक्ष तथा नेपाल मजदुर किसान पार्टीको सुर्खेत जिल्ला कोषाध्यक्षको जिम्मेवारीसमेत निभाएकी छिन् ।
पार्टीका विभिन्न जिम्मेवारी निर्वाह गर्दै दुई पटक प्रतिनिधि सभाको निर्वाचनमा भाग लिइसकेकी छिन् । अघिल्लो पटक पराजय भोगेकी तुल्छी यसपटक पुनः संसद् पुग्ने प्रयासमा छिन् ।
जनताका लागि नै राजनीतिमा लागेको बताउने उनी जनताको अपेक्षा अनुरूप काम गर्न सक्ने उम्मेदवार आफू नै भएको दावी गरिरहेकी छिन् । ‘मैले महिला, दलित र बालबालिकाका क्षेत्रमा गर्दै आएको कामका आधारमा नै मलाई यो पटक भोट दिनुहुन्छ,’ खड्काले भनिन् ‘मैले महिलाको सवालमा अझ धेरै काम गर्न सक्ने योजना निर्माण गरेको छु योजनाहरूलाई पूर्णता दिनका लागि पनि मेरो उम्मेदवारी हो ।’
विगतमा सधैँ पुरुषहरूले जित्दै आएको भएपनि अब महिलालाई अवसर दिनुपर्ने मत उनको छ । त्यसका लागि आफू सक्षम रहेको जिकिर पनि गरिन् । ‘महिला तथा बालबालिकालाई अनुकुल नीति निर्माण गर्नेदेखि गृहणी महिलाहरूलाई कृषि उत्पादनलाई जोड दिएर स्वरोजगार बनाउन योजना बनाएको छु’ उनले आफ्ना योजना सुनाइन् ।
शिक्षा, स्वास्थ्य, नागरिकको जीवनस्तरमा सुधार, रोजगारी सिर्जनालगायतका एजेण्डालाई पनि खड्कालाई प्राथमिकताका साथ उठाएकी छिन् । ‘महिला, दलित, अशक्त अपाङ्गता भएका नागरिकहरूका लागि गर्नुपर्ने कामहरू धेरै बाँकी छन्,’ उनले भनिन् ‘त्यही कामहरू गरिसकेपछि हिंसामुक्त समाज निर्माण हुनेछ । मेरो उद्देश्यी पनि त्यही हो ।’ जनतालाई साक्षी राखेर गरेका प्रतिवद्धताहरू पूरा गर्नु लागिपर्ने र अहिले जनताको समस्यालाई सुझावको रूपमा टिर्पोट गर्ने गरिरहेको समेत बताइन् । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई बढाउने योजना रहेको भन्दै उनले शैक्षिक गुणस्तर वृद्धि गर्ने खालका योजना निर्माण गरिएको बताएकी छिन् ।
स्वतन्त्रदेखि अन्य सबै राजनीतिक दलहरूले पुरुष उम्मेदवार बनाएको बेला तुल्छीको उम्मेदवारीलाई लिएर चर्चा भइरहेको छ । अन्य कुनै पनि दलले सुर्खेत जिल्लामा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिलालाई अगाडि सारेका छैनन् । अझ अधिकांश दलका जिल्लास्थित कार्यसमितिले गरेको सिफारिसमा समेत महिलाहरूको नाम थिएन । राजनीतिमा सक्रिय महिलाहरूको संख्या ठूलो भएपनि प्रत्यक्षतर्फ उम्मेदवार बनाउने बेलामा भने सबैजसो दलले उनीहरूलाई उपेक्षा गरेका छन् ।
तुल्छीले भने आफूलाई पार्टीले सहज रूपमा उम्मेदवार बनाएको सुनाइन् । ‘मैले कमसेकम म पछाडिको पुस्तालाई महिला र युवाले पनि गर्न सक्छन् भन्ने सोचको विकास गराउन प्रत्यक्षतर्फको टिकट लिएरै छाडेँ’ उनी भन्छिन्, ‘म महिला हुँ तर महिलाहरू थिचिएर बस्नु हुँदैन, अगाडि आउनुपर्छ भनेर उम्मेदवार बन्न अघि सरेकी हुँ ।’
संविधानले प्रतिनिधिसभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ । तर दलहरूले भने यो प्रतिनिधित्व समानुपातिकबाट मिलाउने गरी प्रत्यक्षमा पुरुष उम्मेदवार नै अघि सार्ने गरेका छन् ।
प्रकाशित मितिः १२ माघ २०८२, सोमबार १२:३१

रजनी याेगी ।