हिउँले दिएको राहत

जलवायु परिवर्तनको प्रभावले मौसममा पनि बदलाव देखिन थालेको छ । पानी पर्ने र हिमाली भेगमा हिमपातको क्रम बदलिएको छ । केही वर्षअघि असोज÷कार्तिकदेखि नै हिउँ पर्ने कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा पछिल्ला वर्षहरूमा भने निकै ढिला गरेर हिउँ पर्ने गरेको छ । कर्णालीका हिमाली क्षेत्रमा यस वर्षको पहिलो हिउँदे हिमपात भएको छ । शुक्रवार राति हल्का पानीसहित हिमाली जिल्लाहरूमा हिमपात भएको हो । हुम्ला, जुम्ला, मुगु र डोल्पा कर्णालीका हिमाली जिल्ला हुन् । यी जिल्लाहरूमा हिमपात हुनु भनेको कृषकहरूले लगाएको हिउँदे बालीका लागि सिँचाइ हुनु पनि हो । त्यसैले हिउँदे समयमा हिमपात अनिवार्य हुन्छ ।

जुम्लामा त तीन वर्षपछि मात्रै हिमपात भएको छ । पछिल्ला वर्षहरूमा जुम्लामा हिउँ पर्न सकेको थिएन । माथिल्ला लेकाली क्षेत्रमा सामान्य हिमपात भएपनि तल्लो क्षेत्रमा सामान्य वर्षा मात्रै हुने गरेको थियो । यसवर्ष ढिला गरेर माघको दोस्रो साता हिउँ परेपछि किसान उत्साहित भएका छन् । शनिवार जिल्लाभर नै हिउँ परेपछि हिउँदे बाली सप्रने आशामा कृषकहरू खुसी भएका छन् । हिउँसँगै चिसो बढेकाले जनजीवन केही प्रभावित बनेको छ । तर हिउँदेबालीको रूपमा रहेको जौं, गहुँलगायत खेती सप्रने किसानहरूको भनाइ छ । सामान्यतया मंसिर वा पुसमै हिउँ पर्नुपर्ने हो । तर माघ महिनामा हिउँ परे पनि किसानलाई फाइदा नै हुन्छ । भर्खर व्यवस्थापन गरिएको बगैँचामा चिस्यान थपेको छ । सिँचाइ व्यवस्थापन भएको छ । जसका कारण बाली सप्रने आश उनीहरूको छ । यही मौकामा किसानले मलखादको उचित व्यवस्थापन गर्नसकेमा यो पटक जुम्ली किसानहरूले चिन्ता मान्नुपर्ने देखिँदैन । हिमपात भएपछि स्याउमा कालो तुसारो नलाग्नेदेखि रोगकिराको संक्रमण अत्यन्तै कम हुने कृषि विज्ञहरूले बताएका छन् ।

कर्णालीको अर्को हिमाली जिल्ला मुगुमा पनि हिउँ परेको छ । लामो समयदेखि पानी नपरेर चिन्तित बनेका मुगुका कृषकहरू हिमपातले केही राहत महसुस गरेका छन् । असोजदेखि खडेरीको मार खेप्दै आएका किसानहरू आफ्नो खेतबारीमा रोपेको हिउँदे बाली सुकेर उब्जनी नहुने चिन्तामा रहेका बेला शुक्रवार राति परेको हिमपातले राहत महसुस गराएको छ । बाक्लो हिमपातले माटोमा चिस्यान बढाएको छ । यसले गहुँ, जौं, आलु र उवाजस्ता हिउँदे बालीमा सकारात्मक प्रभाव पर्ने कृषकहरूको विश्वास छ । विगत ५–६ वर्षयता समयमै हिमपात हुन छोडेको छ । जसले गर्दा हिउँदे बाली बिग्रने गरेका छन् । यद्यपि, ढिलै भएपनि यस वर्ष हिउँ परेकाले अब उत्पादन राम्रो हुने अपेक्षा कृषकहरूको छ ।

प्रकाशित मितिः   १२ माघ २०८२, सोमबार ०५:०३