निर्वाचनको सुनिश्चितता

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । २०८४ मा हुनुपर्ने निर्वाचन जेनजी आन्दोलनपछि विकसित परिस्थितिका कारण दुई वर्षअघि नै हुन लागेको छ । अनेक शंका र शंसयकाबीच पनि देश चुनावमय भएको छ । मंगलवार देशैभर उम्मेदवारहरूको मनोनयन भएको छ । कर्णाली प्रदेश पनि चुनावमय भइसकेको छ । दशवटा जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका साथसाथै स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयनपत्र दर्ता गरेका छन् । कतिपय दलका बागी उम्मेदवार पनि देखिएका छन् । राजनीतिमा सक्रियदेखि विभिन्न पेसा र क्षेत्रमा नाम कमाएकाहरू उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । जसले कर्णालीको चुनावी माहोलमा रौनक थपेको छ ।

चुनाव हुने कुरा अब निश्चितप्रायः छ । सरकारले सोही अनुसारको तयारी गरिरहेको छ । निर्वाचन आयोग पनि तम्तयार छ । सुरक्षा निकायले सुरक्षित र भयसहित वातावरण तयार पार्न रणनीतिक रूपमा काम गरिरहेको छ । सबैजसो दलहरू चुनावमा होमिएका छन् । यसले पनि फागुन २१ को चुनाव सुनिश्चित गरेको छ । कर्णाली प्रदेशमा मुख्यतया नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति पनि बलियो देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । उत्तिकै संख्यामा स्वतन्त्र उम्मेदवार पनि छन् । चुनावलाई भव्य र भयरहित बनाउने दायित्व राजनीतिक दल र स्वयम् उम्मेदवारहरूको पनि हो । सबैले आ–आफ्ना चुनावी गतिविधिलाई स्वस्थ र सौहार्दपूर्ण बनाउन आवश्यक छ । जसले कुनै पनि किसिमको भाँडभैलो नहोस् । निर्वाचन आयोगले उम्मेदवारसहित सबै क्षेत्रले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिसकेको छ । त्यसको कार्यान्वयनमा पनि सम्बन्धित सबैले ध्यान पु¥याउन जरुरी छ ।

भदौ अन्तिम साता भएको जेनजी आन्दोलनले मुलुकको राजनीतिलाई मात्रै होइन समग्र समाजलाई नै तरंगित बनाएको छ । सडकमा पोखिएको जनआक्रोश राजनीतिक नेतृत्वप्रति मात्रै नभएर सबैखाले बेथितिको विरुद्ध थियो । तथापी मुलुकको नेतृत्व गर्ने राजनीतिले नै त्यसलाई सही रूपमा सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि राजनीतिक नेतृत्व सही हुनु अपरिहार्य छ । सही नेतृत्वले मात्रै मुलुकको नेतृत्व गर्न र सही मार्गमा हिँडाउन सक्दछ । सुशासनयुक्त शासन र प्रशासन नागरिक अपेक्षा हो । त्यसका लागि भ्रष्टाचारको अन्त्य अपरिहार्य छ । बेरोजगारी समस्याको समाधान नभइ युवाहरूमा विकसित वितृष्णाको आगो निभ्ने अवस्था हुँदैन । त्यसैले मुलुकलाई सही रूपमा नेतृत्व गर्ने जनप्रतिनिधिको छनोटले मात्रै निर्वाचनको सफलता र सार्थकता निर्धारण गर्न सक्दछ ।

प्रकाशित मितिः   ८ माघ २०८२, बिहीबार १५:३४